मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २१ शनिबार
  • Monday, 16 December, 2024
दिपेश शाही काठमाडाैं
२o७८ फाल्गुण २१ शनिबार o६:१७:oo
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

प्रचण्डको ब्रिफिङ : एमसिसी हचुवाको भरमा पास भएको होइन, सबै अन्तर्राष्ट्रिय कानुन बुझेरै निर्णय लिएका हौँ

नेता नारायणकाजी श्रेष्ठको लिखित असहमति

Read Time : > 4 मिनेट
दिपेश शाही, काठमाडाैं
नयाँ पत्रिका
२o७८ फाल्गुण २१ शनिबार o६:१७:oo

माओवादी केन्द्रीय समिति बैठक

पार्टीभित्र असन्तुष्टि चुलिँदै गएपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रणनीतिक हिसाबले नै प्रतिनिधिसभाबाट १२ बुँदे व्याख्यात्मक टिप्पणीसहित एमसिसी अनुमोदन गरिएको प्रस्टीकरण दिएका छन् । शुक्रबार बसेको पार्टी केन्द्रीय समिति बैठकमा प्रचण्डले एमसिसी पास गराउने विषयमा आफूले बुझेरै निर्णय लिएको र सो कदम पार्टीका लागि फाइदाजनक रहेकोसमेत सुनाए । एमसिसी अनुमोदन नहुँदा आउन सक्ने राजनीतिक जटिलता र माओवादीमाथिको प्रहार कम गर्न सुझबुझपूर्ण तरिकाले निर्णय लिइएको प्रचण्डको ब्रिफिङ थियो । 

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड

एमसिसी हचुवाको भरमा पास भएको होइन । सबै अन्तर्राष्ट्रिय कानुन बुझेरै निर्णय लिएका हौँ । नेपाललाई असर नगर्ने बुझेर नै निर्णय लिइएको हो । तर, यही मुद्दामा पार्टीमा केही असन्तुष्टि छन् । नारायणकाजीजीहरूले एकथरी मत राख्नुभएको छ । कृष्णबहादुर महरा, देव गुरुङ, लीलामणि पोखरेलहरूका अर्काथरी धारणा छन् । हामी पास गर्ने भइहाल्यौँ । अब यो विषयमा विवाद गर्ने होइन, सबै एक भएर अगाडि जानुपर्छ, सुदृढ पार्टी बनाउनुपर्छ । असन्तुष्टि रहे पनि मिलेर जानुको विकल्प छैन ।

‘एमसिसी हचुवाको भरमा पास भएको होइन । सबै अन्तर्राष्ट्रिय कानुन बुझेरै निर्णय लिएका हौँ । नेपाललाई असर नगर्ने बुझेर नै निर्णय लिइएको हो,’ प्रचण्डले भने, ‘तर, यही मुद्दामा पार्टीमा केही असन्तुष्टि छन् । नारायणकाजीजीहरूले एकथरी मत राख्नुभएको छ । कृष्णबहादुर महरा, देव गुरुङ, लीलामणि पोखरेलहरूका अर्काथरी धारणा छन् । हामी पास गर्ने भइहाल्यौँ । अब यो विषयमा विवाद गर्ने होइन, सबै एक भएर अगाडि जानुपर्छ, सुदृढ पार्टी बनाउनुपर्छ । असन्तुष्टि रहे पनि मिलेर जानुको विकल्प छैन ।’

एमसिसी सम्झौता संसदबाट पारित गर्न सहमति नजुटेर गठबन्धन भत्किने खतरा बढेपछि गठबन्धनमा दलहरूले १२ बुँदे व्याख्यात्मक घोषणामार्फत मध्यमार्गी बाटो रोजेका थिए । उक्त निर्णयपछि माओवादीमा श्रेष्ठ, महरा, गुरुङ, पोखरेललगायत नेता असन्तुष्ट छन् र उनीहरूले पार्टी निर्णय र नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाएका छन् । जारी केन्द्रीय समिति बैठकमा नेता श्रेष्ठले त एमसिसी अनुमोदनमा लिखित असहमति राखेका छन् । 

श्रेष्ठलगायत नेताले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रचण्डले भने व्याख्यात्मक घोषणामार्फत षड्यन्त्र चिर्न सफल भएको भन्दै एमसिसी अनुमोदनको औचित्य पुष्टि गर्ने प्रयास गरेका थिए । ‘गठबन्धन बनाउँदासम्म एमसिसी साझा कार्यक्रममा पनि थिएन । तर, समयक्रममा एमसिसीकै कारण गठबन्धन भत्किने अवस्था आयो,’ प्रचण्डले भने, ‘परिस्थिति निकै जटिल बनेको थियो । १४ सांसदको पद जाने, सभामुखलाई महाभियोग लगाउन र जेल पठाउनेसम्मको तयारी थियो । यी सबै षड्यन्त्र भत्काउन सफल भइयो ।’

आफूमाथि लागेको व्यक्तिवादको आरोपलाई प्रचण्डले विगतका निर्णयसँग जोडेर खण्डन गरे । उनले आफू व्यक्तिवादी नभएर अरूले दिएको सल्लाहले सही ठाउँमा नपुर्‍याएको निष्कर्षसहित सुझबुझपूर्ण ढंगले निर्णय गरेको जिकिरसमेत गरे । ‘विगतमा मलाई दायाँ–बायाँ (मोहन वैद्य र बाबुराम भट्टराई) बस्नेले रुक्मांगत कटवाललाई कारबाही गर भने, मैले कारबाही गरेँ । अब म यस्तो आत्महत्या र मूर्ख हुने बाटो रोज्दिनँ,’ उनले भने, ‘मैले जे गरेँ ठीक गरेँ । राजनीतिमा खराब र झन् खराबमा कम खराब रोज्दा फाइदा हुन्छ । अहिले अपनाएको बाटो त्यही हो ।’ 

शुक्रबार बैठकमा लिखित असहमति राख्दै नेता श्रेष्ठले पार्टीमा व्यक्तिवाद हाबी भएको, वैचारिक संस्कृतिमा गम्भीर विचलन आएको र नेताहरूको साँठगाँठ दलाल तथा नोकरशाही पुँजीवादीसँग बढेको आरोप लगाए । ‘हाम्रो पार्टीको मुख्य समस्या वैचारिक संस्कृतिमा भयो । नोकरशाही, पुँजीपति र दलालसँग साँठगाँठ गर्ने प्रवृत्ति बढेको छ । नेतृत्व चरम व्यक्तिवादी छ,’ श्रेष्ठले भने, ‘नेपालको विकास हाम्रै बलबुताले गर्नुपर्छ । अमेरिका भनेको साम्राज्यवादी शक्ति हो, यसमा माओवादी भ्रमित हुन जरुरी छैन ।’ 

श्रेष्ठले एमसिसी अनुमोदनप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै प्रचण्डसँगको ३५ वर्ष लामो सम्बन्धमा सबैभन्दा कठिन क्षण आएको पनि सुनाए । ‘अध्यक्ष कमरेड प्रचण्डसँग मेरो ३५ वर्षभन्दा लामो सम्बन्ध हो, तर उहाँले पत्रकार सम्मेलन गरेर मलाई पार्टी छोड्न भन्नुभएको छ,’ श्रेष्ठले बैठकमा भने । 

नारायणकाजी श्रेष्ठ

हाम्रो पार्टीको मुख्य समस्या वैचारिक संस्कृतिमा भयो । नोकरशाही, पुँजीपति र दलालसँग साँठगाँठ गर्ने प्रवृत्ति बढेको छ । नेतृत्व चरम व्यक्तिवादी छ । नेपालको विकास हाम्रै बलबुताले गर्नुपर्छ । अमेरिका भनेको साम्राज्यवादी शक्ति हो, यसमा माओवादी भ्रमित हुन जरुरी छैन ।

एमसिसी पारितमा समर्थन गरेको विषयलाई लिएर श्रेष्ठले सार्वजनिक रूपमा असन्तुष्टि पोखेपछि र आन्तरिक भेलाहरू गरेपछि अध्यक्ष प्रचण्डले पत्रकार सम्मेलनमा पार्टी छाडेर जान चाहनेलाई नरोक्ने बताएका थिए । सोही विषयलाई श्रेष्ठले केन्द्रीय समिति बैठकमा समेत प्रवेश गराए । माओवादीको गत पुसमा सम्पन्न आठौँ महाधिवेशनले एमसिसी संशोधन गरेर मात्र पास गर्न सकिने निर्णय गरेको थियो । श्रेष्ठले पार्टी नेतृत्वले व्याख्यात्मक घोषणाका नाममा जस्ताको तस्तै पास गरेर आठौँ महाधिवेशनको मर्मविपरीत निर्णय गरेको टिप्पणी गरे ।

‘संसद् विघटन गरेर चुनावमा जान सकिने’ 
प्रचण्डले बैठकमा अब संसद् विघटन गरेर चुनावमा जानुपर्ने अवस्था आउन सक्ने बताएका छन् । प्रमुख प्रतिपक्ष एमालेले लगातार संसद् अवरोध गरिरहेको भन्दै उनले अवरोध नहटे चुनावमा जानुपर्ने अवस्था आउन सक्ने बताए । ‘प्रमुख प्रतिपक्षी दल एमालेले लामो समयदेखि संसद् अवरोध कायमै राखेको छ । यस्तो अवस्थामा संसद्ले कामै गर्न नसक्ने अवस्था आइरहेमा विघटन गरेर चुनावमा जानुपर्ने हुन सक्छ,’ बैठकमा प्रचण्डले भने, ‘संसद्ले कामै नगर्ने अवस्था रहने हो भने अहिलेकै जसरी संसद् चलाएर जान सकिने अवस्था रहँदैन । अर्ली इलेक्सनको दिशातर्फ पनि जान सकिन्छ ।’ 

केन्द्रीय सदस्य युवराज चौलागाईंका अनुसार प्रचण्डले यस विषयमा सत्तागठबन्धन दलको बैठकमा कुराकानी भइसके पनि अन्तिम निर्णय हुन बाँकी रहेको जानकारी गराएका थिए । यद्यपि, प्रचण्डले बैठकमा गठबन्धन दलका तर्फबाट प्रमुख प्रतिपक्षी दललाई संसद् अवरोध हटाएर सहज वातावरण बनाउन आग्रह गरिएकाले अझै केही प्रयास जारी राखिने बताए ।
प्रचण्डले एमसिसीका नाममा गठबन्धन र सरकारलाई भत्काउने षड्यन्त्र भएको भन्दै अब यो तीनै तहको निर्वाचनसम्म निरन्तर कायम रहने बताए । ‘एमसिसीलाई देखाएर गठबन्धन भत्काउने षड्यन्त्र भइरहेको थियो । त्यो असफल भएको छ । यसलाई संसद्बाट हामीले ट्याक्टफुल्ली पास गरेसँगै अब गठबन्धन चुनावसम्म जाने निश्चित भएको छ,’ उनले भने । प्रचण्डले तीनै तहका चुनावमा पनि गठबन्धन कायम राख्ने प्रयास गर्ने बताए ।

चुनावमा एक नम्बर हुने
केन्द्रीय समिति बैठकमा प्रचण्डले आगामी चुनावमा कांग्रेस पहिलो र दोस्रो माओवादी बन्ने विश्लेषण प्रस्तुत गरेका छन् । उनले पार्टीको प्रयास एक नम्बर नै हुने भन्ने भए पनि अहिलेको स्थितिमा त्यो मनोगत मात्रै हुने र दोस्रो हुने सम्भावना प्रबल रहेको बताए । ‘अहिलेको स्थितिमा पहिलो भन्नेचाहिँ मनोगत नै हो । तर, भूमिकाचाहिँ पहिलो नै हो । उम्मेदवार चयनदेखि भौतिक तयारी सबै राम्रोसँग गर्ने हो भने हामी दोस्रो हुन्छौँ,’ उनले भने । उनले एमाले र कांग्रेसले चुनावको तयारी सुरु गरिसकेको भन्दै आफूहरूले पनि तयारीलाई तीव्र बनाउनुपर्ने धारणा राखे । 

प्रचण्डले गठबन्धन र शक्तिलाई ठीक ढंगले परिचालन गर्न सके ‘लेफ्ट’को पहिलो हुने सम्भावना रहेको दाबी गरे । मुलुकको समग्र राजनीतिमा अहिले पनि आफूहरू नै निर्णायक रहेको उनको भनाइ छ ।

अर्को बैठक २२ गते
शुक्रबार केही समय बसेको केन्द्रीय समिति बैठक एजेन्डामा गृहकार्य गर्नुपर्ने भन्दै आइतबारसम्मका लागि स्थगित भएको छ । केन्द्रीय सदस्य चौलागाईंले आगामी चुनाव, पार्टीको पदाधिकारीलगायत धेरै विषयमा छलफल गर्नुपर्ने भए पनि नेताहरू अन्य काममा व्यस्त भएका कारण तयारी नपुगेको भन्दै बैठक स्थगित भएको बताए । 

गत ११ पुसदेखि सुरु भएर झन्डै एक हप्तापछि सम्पन्न माओवादीको आठौँ महाधिवेशनमा पदाधिकारी चयन गर्न नसकेपछि केन्द्रीय समिति मात्रै घोषणा गरेर सकिएको थिए । त्यसपछि लगत्तै १९ पुसमा बसेको केन्द्रीय समितिले प्रचण्डलाई अध्यक्षमा दोहोर्‍याउने निर्णय गरेको थियो । तर, त्यसबाहेक अन्य पदाधिकारीमा सहमति नजुटेपछि पटक–पटक तय भएका बैठक स्थगित हुँदै आएका छन् । माओवादीले यसै बैठकलाई निरन्तरता दिन ८ र ९ माघमा मिति तय गरे पनि पछि स्थगित गरेर २८ माघका लागि तय भएको थियो । त्यसवेला पनि कोरोनाको कारण देखाउँदै स्थगित बैठक शुक्रबार बसेर स्थगित भएको हो ।

माओवादीमा एकजना अध्यक्ष, एकजना वरिष्ठ उपाध्यक्ष, सातजना उपाध्यक्ष, एकजना महासचिव, दुईजना उपमहासचिव, तीनजना सचिव र एकजना कोषाध्यक्ष रहने प्रावधान छ । पार्टीमा शक्तिशाली मानिने महासचिव को बन्ने भन्नेमा नेताहरूको दौडधुप चलिरहेको छ । अहिले एमसिसीलगायत विषयमा पार्टीभित्र अन्तर्विरोध देखिएपछि अध्यक्ष प्रचण्डलगायत नेताहरू यसैको समाधान खोज्ने कोसिस गरिरहेका छन् ।