मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २१ शनिबार
  • Monday, 16 December, 2024
किरण दहाल काठमाडाैं
२o७८ फाल्गुण २१ शनिबार o६:१४:oo
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यको शपथ आज : संसद् प्रवेश गर्दै गरेका १९ सांसदका थरिथरि योजना

Read Time : > 3 मिनेट
किरण दहाल, काठमाडाैं
नयाँ पत्रिका
२o७८ फाल्गुण २१ शनिबार o६:१४:oo

२८ मंसिरदेखि संसद् अधिवेशन जारी छ, तर ५ पुसयता राष्ट्रिय सभाको बैठकसमेत बस्न सकेको छैन । एमालेले हरेक बैठकमा अवरोध पुर्‍याइरहेको छ । कानुन निर्माणलगायत समसामयिक विषयमा नवनिर्वाचित सांसदले कहिले आफ्नो मत राख्ने अवसर पाउँछन्, अनिश्चत नै छ ।

नवनिर्वाचित १९ सांसद    

  • प्रदेश १ : जयन्तीदेवी राई, सोनामगेल्जेन शेर्पा, गोपाल बस्नेत 
  • मधेस : उर्मिला अर्याल, मोहम्मद खालिद 
  • बागमती : गोमादेवी तिमल्सिना, कृष्णप्रसाद पौडेल 
  • गण्डकी : कमला पन्त, भुवनबहादुर सुनार, सुरेशकुमार आलेमगर 
  • लुम्बिनी : राजेन्द्रलक्ष्मी गैरे, तुलप्रसाद विश्वकर्मा, युवराज शर्मा 
  • कर्णाली : दुर्गा गुरुङ, नरबहादुर विष्ट, उदयबहादुर बोहरा 
  • सुदूरपश्चिम : मदनकुमारी शाह, जगतबहादुर पार्की, नारायणदत्त मिश्र 

सिराहाका मोहम्मद खालिद पहिलोपटक संसद् प्रवेश गर्दै छन् । गत १२ माघमा भएको राष्ट्रिय सभा निर्वाचनमा उनी जनता समाजवादी पार्टीको तर्फबाट मधेस प्रदेशबाट विजयी भएका थिए । पहिलोपटक संसद् प्रवेश गर्न लागेकामा उनी खुसी त छन् नै, सँगै संसदीय कामकारबाहीबारे पनि बुझ्दै छन् । 

६ वर्षे कार्यकालमा इमानदारी र दृढतासहित काम गर्ने उनको योजना छ । ‘सभामा उत्पीडित वर्ग र समुदायको पक्षमा सधैँ बोल्नेछु । बहिष्करणमा परेका समुदायले संविधानअनुसार न्याय पाएका छैनन् । शून्य र विशेष समयमा सकेसम्म तिनका मुद्दा उठाउनेछु,’ उनले भने । 

खालिदजस्तै १९ नवनिर्वाचित सदस्यले २१ फागुनमा राष्ट्रिय सभाको शपथ लिँदै छन् । नवनिर्वाचित सांसद फरक–फरक योजना र मुद्दा बोकेर संसद् प्रवेश गर्न आतुर छन् । चारवर्षे कार्यकाल सकेर २० सांसद बिदा हुँदै छन् । उनीहरूको ठाउँमा १२ माघमा निर्वाचित १९ सांसद आउँदै छन् । एक मनोनीत सांसदको नाम टुंगिन बाँकी छ । 

२८ मंसिरदेखि संसद् अधिवेशन जारी छ, तर ५ पुसयता राष्ट्रिय सभाको बैठक बस्न सकेको छैन । नयाँ सांसद आउँदै गर्दा राष्ट्रिय सभा भने लामो समयदेखि तनावमा छ । गत २३ भदौदेखि सभाका कामकारबाही प्रभावित छन् । एमालेले हरेक बैठकमा अवरोध पुर्‍याइरहेको छ ।

राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित छ । बिदा हुँदै गरेका मात्र होइन, आउँदै गरेका सांसद पनि राष्ट्रिय सभाको अवरोधमा चिन्तित छन् । राष्ट्रिय सभाका लागि नवनिर्वाचित सदस्य उर्मिला अर्याल एमालेले बालहठ देखाएको बताउँछिन् । राष्ट्रिय सभा परिपक्वहरूको थलो मानिए पनि त्यस्तो नदेखिएको उनको भनाइ छ ।

‘कहिलेकाहीँ विरोध हुन्छ । तर, अहिले त ढिपीजस्तो भयो । एमालेले बच्चाजस्तो जिद्धी गरेको छ । उसका कारण अरूले पनि बोल्न पाएका छैनन् । राष्ट्रिय सभाको गरिमालाई आघात परिरहेको छ । यसलाई व्यवस्थित बनाउनैपर्छ,’ मधेस प्रदेशबाट राष्ट्रिय सभामा निर्वाचित अर्यालले भनिन् । 

राष्ट्रिय सभा अनुभवप्राप्त र विषयविज्ञहरूको थलोको रूपमा बुझेकी उनले धेरैभन्दा धेरै छलफलमा सहभागी हुने सोच बनाएकी छिन् । ‘देशको समसामयिक विषय र उपलब्धिहरूलाई कसरी जोगाएर लैजाने भन्ने विषयमा अलि बढी कुरा उठाउँछु भन्ने सोच छ । कानुन निर्माणलगायत समसामयिक विषयमा त बोल्नुपरिहाल्यो,’ उनले भनिन्, ‘अवसर पाइसकेपछि हामी विगत बिर्सन्छौँ । त्यो नहोस् भन्नेमा ध्यान दिन्छु । विचारको आधारमा जनमत तयार गर्ने ठाउँ हो, त्यसकारण सभामा पर्याप्त बोल्छु ।’

गत १२ माघमा भएको निर्वाचनमा जनमोर्चाको तर्फबाट तुलप्रसाद विश्वकर्मा लुम्बिनीबाट विजयी भएका थिए । यसअघि संसदीय क्रियाकलाप टिभीबाट हेरे पनि उनी प्रत्यक्ष सहभागी हुन पाएका थिएनन् । अब केही दिनमै उनी सांसदको रूपमा राष्ट्रिय सभा प्रवेश गर्नेछन् । संसद्मा उनको पहिलो प्रवेश हो । उनको दल जनमोर्चा पनि राष्ट्रिय सभामा पहिलोपटक जाँदै छ । विश्वकर्माले नै पहिलोपटक पार्टीको प्रतिनिधित्व गर्दै छन् ।

आफू यसअघि सभामा नगएकाले संसदीय प्रक्रियाको अनुभव पनि नभएको विश्वकर्मा बताउँछन् । ‘पहिलोपटक जाँदै छु । मुख्यतः समसामयिक विषयमा आफ्नो र पार्टीको कुरा राख्छु । पार्टीले दिएको जिम्मेवारीअनुसार काम गर्नुपर्छ । संघीयता खारेजी हाम्रो प्राथमिकतामै पर्छ । गणतन्त्रको र धर्मनिरपेक्षताको रक्षामा बोल्नुपर्छ,’ उनले भने । 

दलितका मुद्दाहरूलाई प्राथमिकताका साथ राष्ट्रिय सभामा उठाउनुपर्ने उनको मत छ । ‘दलितका मुद्दाहरू उठाउँछु । दलित समुदायले संविधानले दिएको हक–अधिकारसमेत उपभोग गर्न पाएको छैन,’ उनले नयाँ पत्रिकासँग भने ।

नारायणदत्त मिश्र सुदूरपश्चिमबाट विजयी भएका अर्का उम्मेदवार थिए । उनी कांग्रेसका तर्फबाट विजयी भएका हुन् । राष्ट्रिय सभाले विशेषगरी संघीयता सबल बनाउन भूमिका खेल्नुपर्ने उनको बुझाइ छ । उनले आफू मतदाताका समस्याप्रति सधैँ संवेदनशील रहने बताए । राष्ट्रिय सभाका मतदाताहरू प्रदेश सभा सदस्य र पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षहरू हुुन् ।

‘सुदूरपश्चिमका मतदाताहरूसँग सधैँ सम्पर्कमा बसेको हुन्छु । उहाँहरूले भोग्नुपरेको समस्याबारे सभामा कुरा उठाउँछु । स्थानीय र प्रदेशमा संघीय कानुनले के–कस्ता सहयोग पुर्‍याएका छन् भन्ने मेरो मुख्य चासो छ । कहिलेकाहीँ संघका ऐन–नियमले स्थानीय तहमा जटिलता थपिरहेका हुन्छन् । त्यस्ता विषयमा सधैँ बोल्नेछु,’ उनले भने । 

दुर्गा गुरुङ कांग्रेसको तर्फबाट विजयी भएकी अर्की उम्मेदवार हुन् । उनी कर्णाली प्रदेशबाट विजयी भइन् । उनी पहिलोपटक संसद् प्रवेश गर्दै छिन् । सभाको कामकारबाहीबारे आफू अन्योलमै रहेको र परामर्श पनि जारी राखेको उनले बताइन् । ‘म कहिल्यै संसद्मा गएको छैन । प्रक्रिया बुझ्नै समय लाग्ने होला !’ उनले भनिन्, ‘सभाकोे कामकारबाहीबारे छलफलमै छु । अनुभवी साथीभाइसँग सल्लाह गर्दै छु । संसद्मा के–के हुन्छ भनेर बुझ्दै छु ।’

निर्वाचनमा एमालेका तर्फबाट विजयी भएका एक मात्र उम्मेदवार हुन्– सोनाम ग्याल्जेन शेर्पा । उनलाई एमालेले प्रदेश १ बाट अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट उठाएको थियो । उनी पनि पहिलोपटक संसद् प्रवेश गर्दै छन् । हिमाली र वातावरणीय क्षेत्रमा आफ्नो विशेष चासो रहेको र ती विषय सदनमा उठाउने शेर्पाको भनाइ छ ।

‘हिमालसम्बन्धी विषय सभामा उठाउँछु । हिमाल, वातावरण, जलवायु परिवर्तनका विषयमाथि नेपालले सोच्नैपर्ने भएको छ । त्यससम्बन्धी कानुनहरू बनाउनुपर्नेछ । सांसदको रूपमा यी विषयमाथि जे–जे गर्न सकिन्छ, सबैमा प्रयास गर्छु,’ उनले भने । ऐेन–कानुन निर्माणमा आफ्नो सक्रिय भूमिका रहने शेर्पाको भनाइ छ । उनले थपे, ‘कानुन निर्माणमा हिमालका विषय समावेश हुनुपर्छ । कानुन निर्माणमा सक्रिय भूमिका खेल्छु ।’