१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २० शुक्रबार
  • Friday, 05 July, 2024
ललितपुर नगर प्रहरी
२o७८ फाल्गुण २० शुक्रबार १५:o७:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

म्यादी प्रहरीको भूमिकामा खटिन तयार महानगर प्रहरी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ फाल्गुण २० शुक्रबार १५:o७:oo

आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा महानगरपालिकाका प्रहरीले म्यादी प्रहरीको भूमिकामा काम गर्न तयार रहेको बताएका छन्। ललितपुर महानगरपालिकाको नगर प्रहरी प्रमुख सीताराम हाछेंथुले नगर प्रहरी परिपक्व र जिम्मेवार भएकाले नेपाल प्रहरीले जसरी नै निर्वाचनको सुरक्षामा केन्द्रित भएर खटिन सक्ने बताएका छन्।

हाछेंथुले आगामी निर्वाचनमा सात मतदान केन्द्रमा नगर प्रहरीले सुरक्षा दिन सक्ने बताए। ‘आगामी निर्वाचनमा म्यादी प्रहरीको साटो नगर प्रहरीले पनि काम गर्न सक्छ, नगर प्रहरी तालिमप्राप्त प्रहरी हो,’ उनले भने, ‘यसो गर्दा राज्यकै खर्च कम हुन जान्छ।’ उनले हरेक स्थानीय तहको नगर प्रहरीलाई चुनाव अवधिभरि खटाउन सके त्यसको फाइदा निर्वाचन आयोगलाई हुने बताए। ललितपुर महानगरभित्र ७८ नगर प्रहरी छन्।

त्यस्तै, काठमाडौं महानगरपालिकाअन्तर्गतको नगर प्रहरीले पनि निर्वाचनको वेला म्यादी प्रहरीकै भूमिकामा सुरक्षा दिन सक्ने बताएको छ। महानगरमा हाल एक सय ८० जना नगर प्रहरी छन्। करिब १५ वटा मतदान केन्द्रमा नगर प्रहरीले सुरक्षा दिन सक्ने नगर प्रहरी प्रमुख धनपति सापकोटा बताउँछन्। उनका अनुसार यसअघि ०७४ मा भएको चुनावमा नगर प्रहरीलाई निर्वाचन आयोगले अनुगमनको जिम्मेवारी दिएको थियो। ‘चुनावको वेला हामीलाई कुनै न कुनै जिम्मेवारी सुम्पिँदै आएको छ, यसपटक म्यादी प्रहरीको भूमिकामा काम गर्नुपर्ने भनेर सुनिएको छ,’ उनले भने, ‘त्यसका लागि निर्वाचन आयोगले हामीसँग नाम र संख्या माग गरेको छ।’

स्थानीय तहको निर्वाचनमा म्यादी प्रहरी भर्ना गर्ने र सुरक्षा प्रबन्ध मिलाउने जिम्मा गृह मन्त्रालयको हो। गृह मन्त्रालयले नेपाल प्रहरी र नगर प्रहरी मात्रै खटाएर सुरक्षा नपुग्ने बताएको छ। त्यसका लागि म्यादी प्रहरी पनि भर्ना गर्नुपर्ने गृहका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिए। उनले भने, ‘स्थानीय तहको चुनावमा सुरक्षा दिन सक्ने गरी हामीसँग पर्याप्त नेपाल प्रहरी छैन, त्यसकारण अस्थायी सुरक्षाका लागि म्यादी प्रहरी भर्ना गर्नुपर्ने हुन्छ।’

ad
ad
ad
ad