१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण १८ बुधबार
  • Wednesday, 03 July, 2024
२o७८ फाल्गुण १८ बुधबार o९:५९:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार

कांग्रेस बाँकेमा संस्थापनबाट सभापतिका दुई उम्मेदवार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ फाल्गुण १८ बुधबार o९:५९:oo

आफू नै आधिकारिक भएको दुवैको दाबी

कांग्रेसको १४औँ अधिवेशनअन्तर्गत बाँकेमा हुन लागेको निर्वाचनमा सभापतिका दुई उम्मेदवारले आफू नै संस्थापन (शेरबहादुर देउवा) पक्षको आधिकारिक उम्मेदवार भएको दाबी गरेका छन् । लुम्बिनी प्रदेशका वन, वातावरण तथा भू–संरक्षणमन्त्री सुरेन्द्रबहादुर हमाल र संविधानसभा सदस्य बादशाह कुर्मी संस्थापन पक्षको आधिकारिक उम्मेदवार भएको दाबी गरी चुनावी मैदानमा उत्रिएका छन् । 

कुर्मीलाई कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरको साथ रहेको स्रोतले जनाएको छ । सभापतिका अर्का उम्मेदवार हमाललाई केन्द्रीय सदस्य मैकुलाल बाल्मीकिले समर्थन गरेका छन् । पार्टीका केन्द्रीय सभापति तथा प्रधानमन्त्री देउवाको भनाइ उद्धृत गर्दै पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले बोलेको कुरालाई आधार दिएर केन्द्रीय सदस्य बाल्मीकिले हमालको नाम घोषणा गरे ।

आफूलाई कांग्रेसका केन्द्रीय पार्टी प्रवक्ता एवं देउवा प्यानलका नेता डा. महतले फोन गरेर हमाल नै देउवा प्यानलको आधिकारिक उम्मेदवार रहेको कुरा बताएको केन्द्रीय सदस्य बाल्मीकिले बताए । ‘मलाई पार्टी प्रवक्ताजीको फोन आयो, उहाँले सुरेन्द्र नै आधिकारिक उम्मेदवार हुनुहुन्छ भन्नुभयो । बादशाहजीलाई संसदीय निर्वाचनमा हेरौँला भनेर आश्वासन दिनुभएको छ,’ बाल्मीकिले भने । पार्टी सभापतिको धारणा प्रवक्ताबाट आधिकारिक रूपमा आइसकेपछि अब देउवा प्यानलको उम्मेदवार हमाल नै भएको उनले ठोकुवा गरे । संविधानसभा सदस्यसमेत रहेका बाल्मीकिले संस्थापन पक्षको आधिकारिक उम्मेदवार हमाल भएको भन्दै केन्द्रबाट सहयोग गर्न आफूलाई निर्देशन आएको बताए । 

हमालले पनि आफू नै देउवा पक्षको आधिकारिक उम्मेदवार भएको दाबी गर्दै आएका छन् । उनले सभापति देउवाले नै ग्रिन सिग्नल दिएपछि सभापतिमा उम्मेदवारी दिएको बताए । ‘केन्द्रीय सभापतिज्यूले ग्रिन सिग्नल दिएपछि मात्र मैले सभापतिमा उम्मेदवारी दिने मनस्थिति बनाएको हुँ,’ उनले भने, ‘अरूले दाबी गरे पनि संस्थापन पक्षको आधिकारिक उमेदवार मबाहेक अरू कोही हुनुहुन्न ।’

‘धेरै अघि बढिसकेँ, अब पछि हट्ने सम्भावना छैन’
सभापति पदमा उम्मेदवारी दर्ता गराएका नेता बादशाह कुर्मीले पनि आफू संस्थापन पक्षकै आधिकारिक उम्मेदवार भएको दाबी गर्दै आएका छन् । उनले पार्टी सभापति देउवाबाट आश्वासन पाएपछि मात्र उम्मेदवारी दिएको बताए । उनले चुनावी मैदानमा धेरै अगाडि बढिसकेकाले पछाडि हट्ने कुनै सम्भावना नभएको बताए । ‘म चार महिनादेखि तयारी गरिरहेको छु, धेरै अगाडि बढिसकेँ, पछाडि हट्ने कुनै सम्भावना छैन,’ कुर्मीले भने । 

ad
ad
ad
ad