मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण १६ सोमबार
  • Thursday, 19 December, 2024
२o७८ फाल्गुण १६ सोमबार १७:३५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जुम्लाकी उत्कृष्ट उद्यमी कुन्जाङ सम्मानित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ फाल्गुण १६ सोमबार १७:३५:oo

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाले उत्कृष्ट उद्यमीका रूपमा चन्दननाथ नगरपालिका–३ खोलीकोटकी कुन्जाङ पुटिक तामाङलाई सम्मान गरेको छ। कर्णाली प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले उत्कृष्ट उद्यमीलाई सम्मान गर्ने वार्षिक कार्यक्रमअनुसार कुन्जाङलाई सम्मान गरिएको हो।

सोमबार जुम्लामा एक औपचारिक कार्यक्रमका बीच जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्कीले उत्कृष्ट उद्यमी कुन्जाङलाई एक लाख नगद र प्रशंसा-पत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका हुन्। उद्यमीलाई प्रोत्साहन गर्न, उद्यमशीलताको विकास गर्न तथा प्रदेशस्तरका नमुना उद्यमीका रूपमा छनोट गरी पठाउने उद्देश्यले उत्कृष्ट उद्यमी सम्मान कार्यक्रम गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रमुख श्रीकृष्ण देवकोटाले बताए।

पुरस्कारका लागि दरखास्त आह्वान गर्दा जिल्लाका ६ नमुना उद्यमीको आवेदन परेको थियो। स्थलगत अनुगमन गर्दा कुन्जाङको झोला तथा राडीपाखी उद्योगले सबै मापदण्ड पूरा गरेको पाइएपछि उत्कृष्ट उद्यमीका रूपमा छनोट गरी सम्मान गरिएको कार्यालय प्रमुख देवकोटाको भनाइ छ ।

कुन्जाङ ०६४ सालबाट उद्योग दर्ता गरी उद्यमशीलतामा अग्रसर हुँदै आएकी छिन्। झन्डै डेढ दशकपछि पहिलोपटक सरकारबाट उत्कृष्ट उद्यमीको सम्मान पाउँदा खुसी लागेको उनले बताइन् । उनले भनिन्, ‘सहुलियत कर्जादेखि सम्मान कहिल्यै वास्तविक उद्यमी किसानले पाउने परिपाटी छैन। पहिलोपटक सम्मान पाउँदा खुसी छु। उद्यमशीलता बढाउन, रोजगारी बढाउन उद्यमी तथा किसानलाई सरकारले थप प्रोत्साहनको व्यवस्था गर्नुपर्छ,’ उनले भनिन्। कुन्जाङले आफ्नो राडीपाखी उद्योगमा १२ महिलालाई रोजगारी दिएकी छिन्।