
कानुन व्यवसायीहरूको राष्ट्रिय सम्मेलनको अवसरमा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई ‘कानुन वाङमय शताब्दी पुरुष’को रूपमा सम्मान गरिएको छ। १५औँ अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको अवसरमा यस्तो सम्मान गरिएको हो।
बारले पूर्वअध्यक्षसमेत रहेका वरिष्ठ अधिवक्ता भण्डारीको सम्मानमा कलात्मक बग्गीमा राखी प्रज्ञा प्रतिष्ठान कमलादीबाट रत्नपार्क, भद्रकाली हुँदै रामशाह पथस्थित बारको प्रांगणसम्म रथारोहणसमेत गरिएको थियो।
वि.स. १९८४ जेठ २६ मा रौतहटमा जन्मिएका भण्डारीले २००७ सालको क्रान्तिबाट राजनीतिक स्वतन्त्रता र आर्थिक शोषणविरुद्ध संघर्ष सुरु गरेका थिए। पछिल्ला समय दुईपटकसम्म भएको संसद् विघटनको विपक्षमा रहेका भण्डारी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बहिर्गमन माग्दै बारले गरेको सय दिन लामो आन्दोलनमा अग्रमोर्चामा सक्रिय रहँदै आएका थिए। भण्डारी ६४ वर्षदेखि सक्रिय रूपमा न्यायको पैरवी गर्दै आएका छन् ।
बारको सम्मेलन नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा भइरहेको छ। सम्मेलनको आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले पानसमा बत्ती बालेर उद्घाटन गरेकी हुन्। ‘कानुनी शासन र संवैधानिक सर्वोच्चताः व्यावसायिक र मर्यादित बार हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ सुरु भएकाे सम्मेलन फागुन १७ गतेसम्म चल्नेछ।