१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नवीन अर्याल काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o८:३४:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

आठ करोड लगानीको डाबर नेपालले एकैपटक नौ अर्ब ६८ करोड लगानी थप्दै

Read Time : > 2 मिनेट
नवीन अर्याल, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:३४:oo

नेपालबाट निरन्तर ठूलो निर्यात गरिरहेको डाबर नेपालले उत्पादन क्षमता बढाउँदै मात्रै छैन, २० नयाँ वस्तु उत्पादनको योजनासमेत बनाएको छ, डाबर नेपालले आफ्नो कुल उत्पादनको करिब ६० प्रतिशत निर्यात गर्दै आएको छ

नेपालबाट भारतमा सबैभन्दा बढी निर्यात गर्ने बहुराष्ट्रिय कम्पनी डाबर नेपाल क्षमता विस्तारमा आक्रामक भएको छ । ३३ वर्षअघि सात करोड ९८ लाख रुपैयाँ लगानीमा स्थापना भएको डाबर नेपालले एकैपटक आठ अर्ब ९८ करोड लगानी थप गर्न लागेको हो । कम्पनीले लामो समयदेखि नाफाबाट वितरण नगरी बचाएर सञ्चितिका रूपमा राखेको रकमबाट थप लगानी गर्न लागेको हो । 

कम्पनीले ०७७ असारमै कुल आठ अर्ब रुपैयाँ सञ्चिति पुग्ने अनुमान गरेको थियो । त्यो रकमबाटै सात अर्ब ९४ करोड ९० लाख रुपैयाँ स्वपुँजीका रूपमा र एक अर्ब ९३ करोड ७२ लाख ऋणका रूपमा लगानी हुन लागेको हो । डाबर नेपालमा डाबर इन्डिया लिमिटेडको ९७ दशमलव ५ प्रतिशत र नेपाल स्व. रुक्मशमशेर राणा परिवारको २ दशमलव ५ प्रतिशत लगानी छ । लगानी बोर्डको ४९औँ बैठकले डाबरले प्रस्ताव गरेको लगानी बढाउन स्वीकृति दिइसकेको छ ।

तीन दशकअघि व्यावसायिक उत्पादन थालेको डाबर नेपाललाई स्व. रुक्मशमशेर राणाले नेपालमा भित्र्याएका हुन् । डाबर सन् १९८४ मा स्थापित भारतीय बहुराष्ट्रिय कम्पनी हो । भारतमा व्यावसायिक उत्पादन सुरु गरेको पाँच वर्षमै नेपाल भित्रिएको डाबरले सन् १९८९ मा उद्योग स्थापना सुरु गरी सन् १९९२ देखि व्यावसायिक उत्पादन थालेको थियो । 

डाबरका उत्पादनहरूमा फास्ट मुभिङ कन्जुमर गुड्स (एफएमसिजी)मा प्याकेज फुड तथा बेभरेज, पर्सनल केयर, होम केयर, हेल्थ केयर, आयुर्वेदिक फर्मुलेसनलगायत रहेका छन् । डाबरले एक दर्जन बहुराष्ट्रिय ब्रान्डहरू नेपालमा उत्पादन गर्दै आएको छ । 

कम्पनीले उद्योगमा क्षमता विस्तार र उत्पादन विविधीकरण गर्न दुई वर्षअगाडि नै लगानी बोर्डमा स्वीकृतिका लागि प्रस्ताव पेस गरेको थियो । तर, निकै ढिलो गरी बोर्डले लगानी स्वीकृति गरेको हो । डाबरले कतिपय पुरानै उत्पादनहरूको क्षमता बढाउँदै छ भने केही नयाँ प्रडक्टहरू पनि बजारमा ल्याउने तयारी गरेको छ । नयाँ उत्पादनका लागि तथा उद्योगमा पुरानो भइसकेको प्रविधिको स्तरोन्नतिमा पनि ठूलै लगानी गरिने बताइएको छ ।

कम्पनीले गर्ने कुल लगानीमध्ये चार अर्ब नौ करोड रुपैयाँ चालू पुँजीका रूपमा लगानी गर्ने छ भने पाँच अर्ब ५९ करोड ६३ लाख स्थिर सम्पत्तिमा लगानी गर्ने योजना बनाएको छ ।डाबरले विभिन्न प्रकारको जुस उत्पादनमा ठूलो लगानी गर्ने भएको छ । अहिले डाबर रियल जुस उत्पादन गर्दै आएको छ । रियल जुसको सबैभन्दा ठूलो बजार भारत हो । नेपालमा पनि लोकप्रिय बनिरहेको रियल जुसको उत्पादन क्षमता बढाउन लागेको कम्पनीले जनाएको हो । 

अहिले कम्पनीले फ्रुट जुस, भेजिटेबल जुस तथा जुसजन्य पेयपदार्थ वार्षिक ९५ हजार किलोलिटर उत्पादन गर्दै आइरहेको छ । अब तीन लाख ६० हजार किलोलिटर क्षमता थपेर वार्षिक चार लाख ५५ हजार किलोलिटर पुर्‍याउने प्रस्ताव लगानी बोर्डमा गरेको छ । 

कम्पनीले गोलभेँडा, लसुन, अदुवालगायत विभिन्न स्वादको केचअपको पनि उत्पादन बढाउने भएको छ । अहिले वार्षिक ११ हजार दुई सय मेट्रिकटन उत्पादन भइरहेको टेस्टमेकर्स केचअप १६ हजार दुई सय टन पुर्‍याउने योजना छ । 

यस्तै, लगानी थपेर हाजमोला, हाज्माजालगायत विभिन्न पाचक, मह, च्यावनप्रास, विभिन्न प्रकारको हेयर आयल, स्याम्पु, ओडोमसजस्ता कीटरोधक औषधि, विभिन्न प्रकारका घरायसी क्लिनरका सामग्री, हर्बल पाउडरलगायत उत्पादनको क्वान्टिटी बढाउने कम्पनीले जनाएको छ ।

२० नयाँ प्रडक्ट थपिँदै

डाबरले लगानी थपेर उत्पादन पनि विविधीकरण गर्ने योजना बनाएको छ । कम्पनीले २० वटा नयाँ प्रडक्ट ल्याउने तयारी गरेको छ । कतिपय नयाँ प्रडक्टहरू थपिँदै छन् भने केही भइरहेकै प्रडक्टमा विविधीकरण हुने बताइएको छ । कम्पनीले वार्षिक २० हजार किलोलिटर मिल्कबेस्ड बेभरेज (बदाम मिल्क, मिल्क सेक आदि) उत्पादन गर्नेछ । यस्तै, सनफ्लावर, सोयाबिन, मस्टर्ड, अलिभलगायत खानयोग्य तेल पनि उत्पादन गर्ने योजना बनाएको छ । वार्षिक १५ हजार किलोलिटर प्याकिङ पानी उत्पादन गर्ने कम्पनीले जनाएको छ । 

हेल्थ केयर प्रडक्टअन्तर्गत तुल्सी ड्रप, हल्दी ड्रप तथा त्यस्तै इम्युनिटी बढाउने प्रडक्ट पनि वार्षिक २० किलोलिटर उत्पादन गर्ने भएको छ । डाबर जन्मघुटी एक हजार ५० किलोलिटर, बेबी मसाज तेल दुई हजार किलोलिटर, आसवास तथा रिस्ताज २६ सय किलोलिटर, आयुर्वेदिक जुस दुई सय किलोलिटर, हर्बल चिया दुई सय मेट्रिकटन उत्पादन गर्ने कम्पनीको तयारी छ । यी नयाँ उत्पादनहरू आन्तरिक तथा भारतीय बजारलाई लक्षित गर्दै उत्पादन गर्न लागेको कम्पनीले जनाएको छ । नेपालबाट भारततर्फको निर्यातमा डाबर नेपाल अग्रणी कम्पनी हो । यस उद्योगले ०७४/७५ मा गरेको १० अर्ब ८३ करोडको कुल कारोबारमध्ये ६ अर्ब ७५ करोड रुपैयाँ (५७.७ प्रतिशत) बराबरको निर्यात गरेको थियो । कम्पनीले पछिल्ला वर्षमा नेपालमा उत्पादित सात–आठ अर्बको वस्तु निर्यात गर्दै आएको छ ।

डाबर नेपालले फ्रुट जुस, बेभरेज, टेस्ट मेकर्स, फुड प्रडक्ट, हेल्थ केयर प्रडक्ट, पर्सनल केयर प्रडक्ट, हाउस केयर प्रडक्ट, आयुर्वेदिक प्रडक्ट उत्पादन तथा बिक्री–वितरण गर्दै आइरहेको छ । कम्पनीले अहिले डाबर च्यावनप्रास, डाबर रियल जुस, डाबर टुथ पेस्ट, डाबर ग्लकोज, डाबर हनी, पाचन चुर्ण, हाजमोला क्यान्डी, हनिटस, हाजमोला ट्याबलेट, टुथ पाउडर, हेयर आयल, क्रिम बेस्ड प्रडक्ट, साबुन, स्याम्पु, रोज वाटर, एयर फ्रेसनरलगायत उत्पादन गर्दै आइरहेको छ । 

ad
ad