१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ४ शुक्रबार o९:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

किर्गिस्तानमा आकर्षक रोजगारी तथा अमेरिका पुर्‍याउने प्रलोभन देखाएर ठगी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार o९:o८:oo

मध्य एसियाली देश किर्गिस्तानमा आकर्षक रोजगारी लगाइदिने तथा त्यहाँबाट अमेरिका पुर्‍याउने प्रलोभन देखाएर नेपाली नागरिकमाथि ठगी भएको पाइएको छ । रोजगारीका नाममा किर्गिस्तान पुर्‍याइएका नेपाली अलपत्र परेको र त्यसमध्ये आठजना स्वदेश फर्किएको पाकिस्तानस्थित नेपाली दूतावासले जानकारी दिएको छ । केही नेपाली सम्पर्कविहीन अवस्थामा किर्गिस्तानमा अलपत्र रहेको हुन सक्ने आशंका गरिएको छ । 

पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीका अनुसार अहिलेसम्म जानकारीमा आएकामध्ये चीनसँगको सीमानजिकैको दुर्गम भेगमा तीनजना नेपाली रोकिएका छन् । किर्गिस्तानको दक्षिण र पूर्वमा चीनसँगको सिमाना जोडिएको छ । ‘राजधानी बिसेकमा नौजना पुगेको जानकारी आएको छ । यीमध्ये दुईजना नेपाली दलालमार्फत सोमबार पुगेका छन्,’ अधिकारीले इस्लामाबादबाट टेलिफोनमा भने । किर्गिस्तान पाकिस्तानस्थित नेपाली दूतावासको कार्यक्षेत्रमा पर्छ । किर्गिस्तानसँग नेपालको कूटनीतिक सम्बन्ध २६ मार्च १९९३ मा स्थापना भएको हो । 

‘केही समययता धेरै नेपाली ठगिएको र त्यहाँ पुगेका नेपाली अलपत्र परेको जानकारी दूतावासमा प्राप्त भएको छ । यसरी ठगीमा परेकामध्ये केहीलाई किर्गिस्तानको बाटो प्रयोग गरी अन्य मुलुकमा पठाउने आश्वासन दिइएको समेत बुझिएको छ,’ दूतावासले मंगलबार जारी गरेको सूचनामा भनिएको छ, ‘अलपत्र परेका नेपालीमध्ये केहीलाई उद्धार गरी हाल नेपाल फर्काइसकिएको छ भने केही फर्कने क्रममा छन् । तर, त्यहाँ नेपाली पुग्ने क्रम रोकिएको छैन ।’

दूतावासका अनुसार नेपालीलाई राम्रो रोजगारीको प्रलोभन देखाई ठगी गर्ने र अलपत्र पार्ने काममा संलग्नमध्ये केही नेपाली र केही विदेशीसमेत रहेका छन् । ‘यसरी गलत प्रलोभनमा नेपाली नागरिकलाई विदेश पुर्‍याएर अलपत्र पार्नेजस्तो गैरकानुनी काममा संलग्न हुने व्यक्ति÷समूहले प्रचलित कानुनको सामना गर्नु नै पर्ने हुन्छ,’ दूतावासले भनेको छ, ‘प्रस्तुत सन्दर्भमा ठगी गर्ने गिरोहको प्रलोभनमा नफस्नुहुन र वैदेशिक रोजगारीमा जान नेपाल सरकारले व्यवस्था गरेको स्थापित र कानुनी बाटो मात्र प्रयोग गर्नुहुन दूतावास सबैमा हार्दिक अनुरोध गर्दछ ।’ 

ad
ad