
कानुन व्यवसायीहरूको सर्वोच्च संस्था नेपाल बार एसोसिएसनले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई सम्मान गर्ने भएको छ। १५औँ अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको अवसरमा ९५ वर्षीय भण्डारीलाई ‘कानुन वाङमय शताब्दी पुरुष’को रूपमा सम्मान गर्न लागेको हो।
‘कानुनी शासन र संवैधानिक सर्वोच्चता : व्यावसायिक र मर्यादित बार हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ सम्मेलन फागुन १५ देखि १७ सम्म नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुँदै छ। बारका महासचिव अधिवक्ता लीलामणि पौडेलका अनुसार बारले १५ गते अपराह्न ४ बजे रथारोहणसहित सम्मान गर्न लागेको हो। बारको पूर्वअध्यक्षसमेत रहेका भण्डारीको सम्मानमा कलात्मक बग्गीमा राखी प्रज्ञा प्रतिष्ठान कमलादीबाट रत्नपार्क, भद्रकाली हुँदै रामशाह पथस्थित बारको प्रांगणसम्म रथारोहण गर्न लागेको हो। भण्डारी ६४ वर्षदेखि सक्रिय रूपमा न्यायको पैरवी गर्दै आएका छन्।
वि.सं. १९८४ जेठ २६ मा रौतहटमा जन्मिएका भण्डारीले २००७ सालको क्रान्तिबाट नै राजनीतिक स्वतन्त्रता र आर्थिक शोषणविरुद्ध संघर्ष सुरु गरेका थिए । उनले व्यवस्था मात्र होइन, अदालतभित्र हुने भ्रष्टाचारको पनि भण्डाफोर गरे। पछिल्ला समय दुईपटकसम्म भएको संसद् विघटनको विपक्षमा रहेका भण्डारी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बहिर्गमन माग्दै बारले गरेको सय दिन लामो आन्दोलनमा अग्रमोर्चामा सक्रिय रहँदै आएका थिए।
भण्डारीले बिपी कोइराला, रामराजाप्रसाद सिंह, डा. केआई सिंहलगायतका राजनीतिक मुद्दासमेत लडेका थिए। उनले पूर्वप्रधानन्यायाधीशहरू केदारप्रसाद गिरी, गोविन्दबहादुर श्रेष्ठ, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र संविधानसभा अध्यक्ष सुवास नेम्वाङलगायतलाई कानुन पढाएका थिए। राजनीतिक दलहरू प्रतिबन्धित र भूमिगत भएका वेला उनी राजनीतिक स्वतन्त्रताका लागि खुलेर लडेका थिए।