प्रदर्शनकारीमाथि एक सय ६३ सेल अश्रुग्यास प्रहार
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)विरुद्धको बिहीबार हुने भनिएको विरोध प्रदर्शन अनियन्त्रित बन्ने सूचना प्रहरीले बुधबार नै पाएको थियो । त्यसलगत्तै प्रहरीले नयाँ बानेश्वरस्थित संघीय संसद् भवनवरिपरि काँडेतारको घेरा लगायो ।
एसपी दिनेश मैनाली प्रवक्ता, काठमाडौं परिसर
बिहीबार एक सय ६३ सेल अश्रुग्यास प्रहार भएका छन् । तर, रबरको बुलेट भने प्रहार भएन । प्रदर्शनकारीको तुलनामा प्रहरी संयमित नै थियो ।
बिहीबार बिहानैदेखि प्रहरीको गस्तीका साथै तैनाथ गरियो । माइतीघर मण्डलाबाट नयाँबानेश्वरतर्फ जाने सडक फलामे छेकबारले बन्द थिए । सवारीसाधन प्रवेशलाई पूर्ण बन्द गरिएको थियो । सडकभरि नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिन्थ्यो ।
बिजुलीबजार पुलआसपासका क्षेत्रमा पनि सुरक्षाकर्मीको बाक्लो तैनाथी देखिन्थ्यो । यहीक्रममा बुद्धनगर र अनामनगरतर्फबाट एमसिसीको विरोध गर्दै आन्दोलनकारी सडकमा देखिए । प्रहरीले लाठीचार्ज गरेर आन्दोलनकारीलाई तितरबितर पार्यो । आन्दोलकारीमध्ये कोही बुद्धनगरतर्फ त कोही अनामनगरतर्फ लागे ।
प्रहरीले संसद् भवनतिर अघि बढ्न नदिएपछि आक्रोशित आन्दोलनकारी ढुंगामुढामा उत्रिए । केहीबेरको हानाहानपछि प्रहरीले आन्दोलनकारीतर्फ अश्रुग्यास प्रहार गर्न थाल्यो । धुवाउँदै गरेको सेल समातेर आन्दोलनकारी उल्टै प्रहरीतर्फ फर्काउँदै थिए । बुद्धनगरतर्फको आन्दोलनमा सहभागी डडेल्धुरा नवदुर्गा गाउँपालिका–५ गजेलाका २९ वर्षीय हेमराज अवस्थी यही क्रममा सडकमा ढले । उनको टाउकोबाट रगत बगिरहेको थियो । प्रहरीको टोली आएर उनलाई उपचारका लागि अस्पताल लग्यो ।
आन्दोलनकारीको दबाब प्रहरीले शंखमूल र पुरानो बानेश्वरतर्फबाट पनि झेलिरहेको थियो । संसद् भवनतर्फ जान खोज्ने उनीहरूलाई प्रहरीले फलामे छेकबार लगाएर रोकिरहेको देखिन्थ्यो । एभरेस्ट होटेलसामुन्नेको सडकमा पानीको फोहोरा प्रहार गर्ने टैंक तैनाथ थिए । त्यसअघि पुनः प्रहरीको फलामे छेकबार खडा थियो ।
उता, यातायात व्यवस्था विभागको ठीक अघितर्फको सडकमा भने नेपाल मजदुर किसान पार्टीका कार्यकर्ता एमसिसीको विरोधमा नारा लगाइरहेका देखिन्थे । प्रहरीले त्यस क्षेत्रमा पनि ठाउँ–ठाउँमा फलामे छेकबार लाएको देखिन्थ्यो । सडकमा यातायातका साधन आउजाउमा पूर्ण प्रतिबन्ध गरिएको थियो । सबैभन्दा धेरै प्रहरीको उपस्थिति संसद् भवनको पश्चिम गेटतर्फ देखिन्थ्यो । आन्दोलनकारी प्रवेशमा यसतर्फ पूर्ण प्रतिबन्ध गरिएको थियो । आसपासका क्षेत्रमा सशस्त्र प्रहरीका सुरक्षाकर्मीको बाक्लो पहरा थियो । प्रत्येक गौँडामा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ देखिन्थे । मीनभवन कलेज, शान्तिनगर, अनामनगरतर्फ जाने सडकको मुखमा पनि प्रहरीको बाक्लो उपस्थिति देखिन्थ्यो ।
प्रदर्शनकारी संसद् भवनतर्फ अघि बढ्न थालेपछि लाठीचार्ज
बिजुलीबजारबाट आएका आन्दोलनकारी प्रहरीको सुरक्षा घेरा तोडेर संसद् भवनतर्फ अघि बढ्न थालेपछि प्रहरी लाठीचार्जमा उत्रिएको थियो । आक्रोशित आन्दोलनकारी त्यसपछि प्रहरीतर्फ ढुंगा प्रहारमा उत्रिएका थिए । अवस्था अनियन्त्रित बन्न पुगेपछि प्रहरीले आन्दोलनकारीतर्फ अश्रुग्यास प्रहार गरेको थियो । प्रहरीले १२ जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।
आन्दोलनमा सहभागी अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य खगेन्द्र रावलले प्रहरीबाट आन्दोलनकारीमाथि दमन भएको बताए । ‘हामी एमसिसीको विरोधमा सडकमा थियौँ । प्रहरीले हामीमाथि अचानक लाठी प्रहार गर्यो । लगत्तै अश्रुग्यास प्रहार गर्यो । हाम्रा साथीहरू घाइते भएका छन् । प्रहरीबाट हामीमाथि दमन भएको छ,’ उनले भने ।
काठमाडौं परिसरका प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार बिहीबार एक सय ६३ सेल अश्रुग्यास प्रहार भएका छन् । तर, रबरका गोली भने बिहीबार प्रयोग नगरिएको उनले बताए । ‘बिहीबार अश्रुग्यास प्रयोग भए पनि रबरको बुलेट भने प्रहार भएन । प्रदर्शनकारीको तुलनामा प्रहरी संयमित नै थियो,’ उनले भने ।
टाउकोमा चोट लागेर सडकमै ढले अवस्थी
घाइते हेमराज अवस्थी
एमसिसी खारेजीको माग गर्दै आन्दोलनमा उत्रिएका डडेल्धुराका २९ वर्षीय हेमराज अवस्थीको अवस्था चिन्ताजनक छ । उनको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको छ । माओवादी केन्द्रका नेता खगराज भट्टले प्रहरीले हानेको रबरको बुलेट लागेपछि अवस्थी घाइते भएको बताए । टाउकोमा चोट लागेका कारण सडकमै ढलेका उनलाई उपचारका लागि प्रहरीले नयाँबानेश्वरस्थित एभरेस्ट अस्पताल लगेको थियो । त्यहाँ उपचार हुन नसकेपछि राष्ट्रिय ट्रमा सेन्टर लगियो । त्यहाँ पनि उपचार हुन सकेपछि उनलाई अन्नपूर्ण न्युरो भर्ना गरिएको भट्टले बताए । ‘एमसिसीको विरोध गर्न उनी प्रदर्शनमा सहभागी भएका रहेछन् । यहीक्रममा रबरको गोली उनको टाउकोमा लागेको सूचना छ । उनको अवस्था चिन्ताजनक छ । टाउकोमा रगत जमेको चिकित्सकले भनेका छन्,’ उनले भने ।
टीकाथली बस्दै आएका अवस्थी साथीहरूसँगै एमसिसीको विरोध गर्न बिजुलीबजार पुगेका थिए । प्रहरीले आन्दोलन रोक्न खोजेपछि उनीहरूले प्रहरीतर्फ ढुंगा प्रहार गरेका थिए । स्थिति नियन्त्रणभन्दा बाहिर जान थालेपछि प्रहरीले आन्दोलनकारीतर्फ अश्रुग्यास प्रहार गरेको थियो । अवस्थीको टाउकोमा अश्रुग्यासको सेल लागेको आन्दोलनमा सहभागी सरोज कार्कीले बताए । ‘बिजुलीबजारको पुलमा दुई पक्षबीच ठेलमठेल चल्यो । यहीक्रममा प्रहरीले आन्दोलनकारीलाई बुद्धनगरतर्फ धपायो । आक्रोशित आन्दोलनकारीले प्रहरीतर्फ ढुंगा हान्न थाले । प्रहरीले अश्रुग्यास बर्सायो । यहीक्रममा एकजना सडकमै ढले । उनको टाउकोबाट रगत बगिरहेको थियो । अश्रुग्यासको सेल लागेर यस्तो भएको हो कि जस्तो लाग्छ,’ उनले भने ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीले घाइते अवस्थीको उपचार अन्नपूर्ण न्युरोमा भइरहेको बताए । ‘झडपकै क्रममा एकजना सडकमा बेहोस अवस्थामा भेटिए । उनको टाउकोमा चोट रहेछ । चोट कसरी लाग्न पुग्यो ? यस सम्बन्धमा अनुसन्धान हुँदै छ । उनको उपचारमा कुनै कसर बाँकी नराख्न हामीले अस्पताललाई भनेका छौँ,’ उनले भने ।