मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०८० जेठ १९ शुक्रबार
  • Friday, 02 June, 2023
२०७८ फाल्गुण १२ बिहीबार १०:१४:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पर्यटनमा व्यवस्थित बन्दै भलामचौर होमस्टे

Read Time : > 1 मिनेट
२०७८ फाल्गुण १२ बिहीबार १०:१४:००

गुजुुमुज्ज परेको सुन्दर गाउँ । काखैमा रहेको मनास्लु, डा. हर्क पिकलगायत सुन्दर हिमालका दृश्य । झट्ट हेर्दा सार्कभिलेज घलेगाउँकै झल्को दिन्छ, भलामचौरले । पर्यटकीय दृष्टीकोणले सुन्दर भईकन पनि ओझेलमा परेको लमजुङको मर्स्याङ्दी गाउँपालिका–९, सिमपानीको भलामचौर गाउँ अहिले पर्यटकको आकर्षण गन्तव्य बन्न थालेको छ । पर्यटकीय सम्भावना बोकेको भलामचौरलाई मर्स्याङ्दी गाउँपालिकाले पर्यटकीय गन्तव्यको रूपमा अगाडि सारेको हो । 

स्थानीयहरू पनि गाउँमा होमस्टे सञ्चालन गरी पर्यटन प्रवद्र्धन र प्रचार–प्रसारमा जुटेका छन् । सदरमुकाम बेँसीसहर हुँदै खुदीको गोपालडाँडाबाट साढे पाँच किलोमिटर दूरीमा पुगिने भलामचौर अन्नपूर्ण पदमार्ग र गुरुङ सम्पदामार्गमा पर्ने भएकाले यसको पर्यटनको सम्भावना निकै बढी छ । पर्यटकीय गाउँको रूपमा विकास भएको भलामचौरका ३० घरमा होमस्टे सञ्चालन गरिएको होमस्टे सञ्चालक लुकुमारी गुरुङ बताउँछिन् । गाउँ आउने पर्यटकले स्थानीय संस्कृति, प्राकृतिक मनोरम वातावरण र स्थानीय परिकारको मजा लिन पाउँछन्, गुरुङ भन्छिन्, ‘लमजुङको पर्यटनमा भलामचौरले चाँडै नै नयाँ आयाम लिनेमा हामी ढुक्क छौँ ।’ मनास्लु, डा. हर्क हिमाललगायत दर्जनौँ हिमशृंखला, नागबेली आकारमा बगेको मर्स्याङ्दी नदी र मनोरम प्राकृतिक वातावरणले भलामचौर आउने पर्यटक लोभिने उनको भनाइ छ । पर्यटकलाई लक्षित गरी गाउँमा शौचालय, बेडरुमलगायत अत्याधुनिक संरचना पनि बनेको स्थानीय तेजबहादुर गुरुङ बताउँछन् । 

एक रातमा कम्तीमा एक सयजना पाहुना राख्न सकिनेछ । प्राकृतिक सुन्दरता र गुरुङ संस्कृतिको खानी भलामचौरको प्रवद्र्धन गरी पाहुनालाई स्थानीयस्तरमै उत्पादन भएका खानेकुरा मात्रै खुवाउने पर्वद्धकको तयारी छ । पर्यटकलाई कुनै पनि सुविधामा कमी नपुर्‍याउने सोचका साथ लागिपरेका गाउँलेहरू गाउँ आउनेबित्तिकै पर्यटकलाई स्वागत, उनीहरूको इच्छाअनुसारको स्थानीय परिकार, गुरुङ संस्कृतिमा आधारित घाटु, सोरठी कृष्णचरित्र देखाएर मनोरञ्जन पनि दिने गर्छन् । होमस्टे सुरु नगर्दै पनि फाट्टफुट्ट आन्तरिक तथा बाह्य पर्यटक भलामचौर पुग्ने गरेका थिए । भलामचौर पुगेका पर्यटकले गाउँमै पालिएका गाईभैँसीको दूध, घ्यू, दही, रोटी, मकै, कोदोका परिकार, अर्गानिक तरकारी, लोकल रक्सी, लोकल कुखुराको मासु, गुन्द्रुकको अचार, निउरो, कुरिलो, बेथेलगायतका अर्गानिक खानाको स्वाद लिने गरेका थिए । 

चार करोड लगानीमा कृषि पर्यटन परियोजना सञ्चालन
भलामचौरमा केही वर्षअघि मात्रै सुरु भएको व्यावसायिक होमस्टे थप व्यवस्थित हुने भएको छ । सिते बा ग्रुपअन्तर्गत एसजी हस्पिटालिटी नामक कम्पनीले कृषि तथा होमस्टे प्रवद्र्धनका लागि करिब चार करोडको लगानीमा भलामचौर मिर्चे नमुना कृषि पर्यटन परियोजना नै सञ्चालन गरेको हो ।कम्पनीले कृषि तथा पर्यटन पर्वद्धनका लागि करिब एक सय रोपनी जग्गा २० वर्षका लागि भाडामा लिएर काम सुरु गरेको हो । कम्पनीले स्थानीयसँग सम्झौता गरेसँगै होमस्टे व्यवस्थापन र कृषि उत्पादनको काम सुरु गरिसकेको जनाएको छ । पहिलो वर्ष करिब ५० रोपनी जमिनमा ९० वटा टनेल निर्माण गरी तरकारी उत्पादनसमेत सुरु भइसकेको कम्पनीका प्रवद्र्धक नवीनराज कुइँकेलले बताए । गाउँमा आउने पर्यटकलक्षित अर्गानिक तरकारी मात्र नभई धान कोदो, कुखुरासमेतको व्यावसायिक उत्पादन गरी गाउँमा आएका पाहुनालाई गाउँकै स्वादमा रमाउने गरी पर्यटन व्यवसाय सञ्चालन सुरु गरिएको प्रवद्र्धकहरूले बताएका छन् । 

कृषि उत्पादन र होमस्टे व्यवसायसँगै स्थानीयलाई कम्पनीले रोजगारी दिएको छ । रोजगारी नपाएर गाउँमै बेरोजगार बसेका पनि परियोजना सञ्चालन भएसँगै रोजगार पाएको भलामचौर मिर्चे नमुना कृषि पर्यटन परियोजनाका उपाध्यक्ष कृष्ण न्यौपानेले बताए । भलामचौरमा सुरु भएको व्यवस्थित होमस्टे र नमुना कृषि उत्पादनले स्थानीय मात्र नभई जिल्लाकै पर्यटन पर्वद्धनमा ठूलो टेवा पुग्ने स्थानीयले विश्वास लिएका छन् ।