मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण ९ सोमबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण ९ सोमबार o८:३८:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपाल–क्यानडाबीचको खेल आज : सेमिफाइनलमा पुग्न नेपाललाई एक जित आवश्यक

आइसिसी टी–२० विश्वकप ग्लोबल छनोटको सेमिफाइनल स्थान सुरक्षित गर्न सोमबार नेपालले क्यानडालाई पराजित गर्दा नै पुग्छ । समूह बीमा लगातार खेलमा जित निकालेको नेपालले शीर्ष स्थानमा चार अंक जोडेको छ

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण ९ सोमबार o८:३८:oo

आइसिसी टी–२० विश्वकप ग्लोबल छनोटको समूह बीबाट सेमिफाइनल स्थान रक्षा गर्न नेपाललाई एक जित मात्र आवश्यकता छ । नेपालले सोमबार सन् २०११ मा एकदिवसीय विश्वकप खेलिसकेको क्यानडाविरुद्ध महत्वपूर्ण खेल खेल्दै छ । नेपालले लगातार दुई खेलमा जित निकाली समूह बीमा चार अंक बटुलेको छ । शीर्ष स्थानमा रहेको नेपालको रेनरेट उत्कृष्ट छ । प्रतियोगितामा उत्कृष्ट सुरुवात गरेको क्यानडाले दोस्रो खेलमा ओमानसँग खराब प्रदर्शन गरेको थियो । ओमानसँगको हारले क्यानडाको सेमिफाइनल पुग्ने बाटो कमजोर बनेको हो । 

दोस्रो खेलमा नेपालका खेलाडी फिलिपिन्सविरुद्ध ब्याटिङ, बलिङ र फिल्डिङमा उत्कृष्ट प्रदर्शन गरेका थिए । कमजोर ब्याटिङको आलोचना खेपिरहेका नेपाली खेलाडीले फिलिपिन्ससँगको खेलमा दमदार प्रदर्शन गर्न सफल भए । सो खेलमा कुशल भुर्तेलले अन्तर्राष्ट्रिय टी–२० खेलमै पहिलो शतकीय इनिङ्स खेलेका थिए । नेपालको क्रिकेट इतिहासमा टी–२० खेलमा शतकीय इनिङ्स खेल्ने कुशल तेस्रो खेलाडी हुन् । 

उनीभन्दा अगाडि पूर्वकप्तानद्वय पारस खड्का र ज्ञानेन्द्र मल्लले शतक बनाएका थिए । पारसले राष्ट्रिय टोलीबाट सन्न्यास लिइसकेका छन् । मल्ल जारी छनोट खेलमा सहभागी छन् । मल्लले ब्याटिङमा खराब प्रदर्शन गरिरहेका छन् । नेपालले लगातार खेलमा ओमान र फिलिपिन्समाथि जित निकाल्दा बलिङकै मुख्य विशेषता रह्यो । दुवै खेलमा नेपालका फास्ट बलर र स्पिनरले उत्कृष्ट प्रदर्शन गरे । कप्तान सन्दीप लामिछाने ब्याटिङ र बलिङमा चम्किरहेका छन् । 

क्यानडालाई हराउँदै नेपाल समूह विजेताका रूपमा सेमिफाइनलमा पुग्नेछ । यो नतिजामा नेपालले ६ अंक जोड्नेछ । नेपाललाई हराउँदा क्यानडा सेमिफाइनलमा पुग्ने सम्भावना रहनेछ । तर, क्यानडाले ओमान र फिलिपिन्सबीचको नतिजा कुर्नुपर्ने हुन्छ । समूह बीकै अन्तिम खेलमा नेपाल पराजित हुँदा ओमान र क्यानडाले जित निकाल्दा अन्तिम चारमा पुग्ने टोलीको छिनोफानो रनरेटमा हुनेछ ।

यस्तो समीकरणमा तीनवटै टोलीका समान चार अंक हुनेछन् । रनरेटमा नेपालको अवस्था निकै बलियो छ । नेपालको नेट रनरेट ४.३७५ छ । क्यानडाले ३० रनभन्दा माथिको अन्तरले जित निकाल्दा अंक तालिकाको शीर्ष स्थानमा उक्लनेछ । क्यानडाको रनरेट २.५१२ छ । नेपालले क्यानडालाई फराकिलोअन्तरले हराउँदा अर्को खेलमा ओमानले फिलिपिन्समाथि सामान्य जित निकाल्दा पनि सेमिफाइनलमा पुग्नेछ । फिलिपिन्सले ओमानलाई हराउँदा नेपाल पराजित भए पनि अन्तिम चारमा पुग्नेछ । ओमानले रनरेटमा सुधार गर्न फिलिपिन्समाथि ठूलो अन्तरको जित निकाल्नुपर्ने हुन्छ । 

रोमाञ्चक समूह ए
समूह एमा युएई चार अंकका साथ शीर्ष स्थानमा छ । युएईले आयरल्यान्डलाई १८ रन र जमर्नीलाई २४ रनले हराएको थियो । युएईले अन्तिम खेलमा युएईले बहराइनसँग खेल्नेछ । युएई विजयी हुँदा ६ अंकका साथ अपराजित रही समूह विजेताका रूपमा सेमिफाइनलमा पुग्नेछ । बहराइनसँग अप्रत्याशित रूपमा पराजित हुँदा सेमिफाइनलमा पुग्न आयरल्यान्डलाई जमर्नीले हराउनुपर्ने हुन्छ । युएईको रनरेट १.०५० छ । 

टेस्ट मान्यताप्राप्त आयरल्यान्ड समूह एको तेस्रो स्थानमा छ । आयरल्यान्डले दोस्रो खेलमा बहराइनलाई २१ रनले पराजित गरेको थियो । सेमिफाइनल स्थान पक्का गर्न अन्तिम खेलमा आयरल्यान्डले जमर्नीलाई हराउनुपर्ने हुन्छ । युएईले बहराइनलाई हराउँदा आयरल्यान्ड सोझै सेमिफाइनलमा पुग्नेछ । 

बहराइन सामान्य अन्तरले विजयी हुँदा पनि रनरेटका आधारमा आयरल्यान्ड अन्तिम चारमा पुग्नेछ । यता बहराइनले अन्तिम खेलमा युएईमाथि फराकिलो जित हात पारेको खण्डमा सेमिफाइनलमा पुग्नेछ । जर्मनी सेमिफाइनलमा पुग्न ठूलो जित आवश्यक छ । । ग्लोबल छनोटको फाइनलमा पुग्ने दुई टोलीले अक्टोबर–नोभेम्बरमा अस्ट्रेलियामा हुने टी–२० विश्वकप खेल्न पाउनेछन् ।

नेपालले त्रिकोणात्मक सिरिज आयोजना गर्ने
नेपालले मलेसिया र पपुवान्युगिनीसँग त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा त्रिकोणात्मक टी–२०सिरिज आयोजना गर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले मार्च अन्तिम साता नेपाल, मलेसिया र पपुवान्युगिनीबीच अन्तर्राष्ट्रिय त्रिकोणात्क टी–२० आई सिरिज आयोजना गर्न लागेको छ । मार्च मध्यमा युएईमा आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल, पपुवान्युगिनी र युएईबीच त्रिकोणात्मक एकदिवसीय खेल तालिका छ । 

नेपालले सोही एकदिवसीयपछि नै मार्चमा घरेलु मैदानमा त्रिकोणात्मक टी–२० खेल गर्न लागेको हो । क्यानको आयोजनामा हुन लागेको यो दोस्रो टी–२० अन्तर्राष्ट्रिय सिरिज हो । गत वर्ष वैशाखमा क्यानले मलेसिया र नेदरल्यान्ड् सम्मिलित अन्तर्राष्ट्रिय टी–२० त्रिकोणात्मक सिरिज आयोजना गरेको थियो । सो सिरिजको फाइनलमा नेपालले नेदरल्यान्ड्सलाई एक सय ४२ रनको फराकिलो अन्तरले हराएको थियो ।