पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–१३ मा पर्ने मैनाघाट–कोटथर सडक स्तरोन्नतिको बहानामा जथाभावी रूख कटान भएको छ । नगरपालिकाले स्तरोन्नति गरिरहेको यो सडकमा पर्ने केही कु–काठ सुरुमै स्थानीयले काटेर लगेका थिए । तर, अहिले फेरि सोही बहानामा सालका रूखहरूसमेत कटान भइरहेको फेला परेको वन कार्यालयले जनाएको छ । यही क्रममा मंगलबार वन कार्यालयले १९ वटा गाडी लोड गरी लैजाँदै गरेको अवस्थामा सालको काठ बरामद गरेको छ ।
कार्यालयको अनुसन्धानका क्रममा मध्यबिन्दु नगरपालिका–१३ अन्तर्गतको सडक निर्माण उपभोक्ता समिति र उक्त क्षेत्रका सामुदायिक वनले रूख काट्न अनुमति नदिएको बताएका छन् । राष्ट्रिय वनअन्तर्गत पर्ने वनबाट काटेर राखेका अवस्थामा कार्यालयले १९ गाडीमा लोड गरेका काठका गोलिया बरामद गरी डिभिजन वन कार्यालय चोरमारामा ल्याएको सब–डिभिजन वन कार्यालय चोरमाराका अधिकृत सन्तोष मिश्रले बताए ।
डिभिजन वन कार्यालय नवलपुरका प्रमुख मोहनराज काफ्लेका अनुसार बरामद काठ वन कार्यालयको नियन्त्रणमा छ । कार्यालयले वन कार्यालय चोरमाराका प्रमुख दुर्गादत्त कँडेललाई अनुसन्धान अधिकृत तोकेर छानबिन समितिसमेत बनाएको छ ।