मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ माघ २९ शनिबार १२:४२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जुम्लामा कोभिडबाट मृत्यु भएका २२ जनाको परिवारलाई राहत वितरण

Read Time : < 1 मिनेट
२०७८ माघ २९ शनिबार १२:४२:००

कोभिड–१९ संक्रमण पुष्टि भइ मृत्यु भएकाहरुको परिवारलाई जिल्ला प्रशासन कार्यालय जुम्लाले प्रतिघरपरिवार एक लाख रुपैयाँका दरले राहत रकम उपलब्ध गराएको छ। प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, प्रदेश विपद् व्यवस्थापन कोषबाट मृतकका परिवारमध्येका हकवालालाई राहत रकम उपलब्ध गराइएको हो।
 
पहिलो चरणको कोरोना संक्रमणले जुम्लाले मृत्यु व्यहोर्नुपरेको थिएन। दोस्रो संक्रमणले मृत्यु भएका व्यक्तिका घरपरिवारलाई राहत उपलब्ध गराइएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले जानकारी दिइन्। उनले भनिन्, ‘संक्रमणको तेस्रो लहरमा जुम्लाले अहिलेसम्म मृत्यु व्यहोर्नुपरेको छैन। यो सुखद पक्ष हो।’
 
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ०७७ वैशाख २० गतेदेखि कोभिड परीक्षण ल्याव सञ्चालनमा आएको थियो। संक्रमणको पहिलो लहरमा ११ हजार ६६३ जनाको कोभिड परीक्षण भएको छ। यसमध्ये ४६३ जनामा संक्रमण देखिएको थियो।

दोस्रो लहरको संक्रमण जुम्लामा ०७८ वैशाखदेखि संक्रमण देखिएको थियो। तीन हजार आठ सय २१ जनाको पिसिआर गर्दा एक हजार दुई सय २४ जनामा संक्रमण देखिएको थियो। तीन हजार आठ सय दुईजनाको एन्टिजेन परीक्षणमध्ये चार सय ५६ जनामा संक्रमण देखिएको जनस्वास्थ्य प्रमुख कृष्ण सापकोटाले बताए। जम्मा एक हजार ६ सय ८० जना संक्रमितमध्ये २३ जनाको संक्रमणका कारण मृत्यु भएको जनस्वास्थ्यको तथ्यांकमा उल्लेख छ।

संक्रमणको तेस्रो लहरमा जुम्लामा संक्रमित हुनेको संख्या १७८ पुगेको छ। यसमध्ये ९३ जना निको भइसकेका छन् भने ८५ जना सक्रिय संक्रमित रहेका छन्।