काठमाडौंमा रहेको याक एन्ड यती होटेललाई सरकारले कारबाही गरेको विषयमा होटेलले नै भ्रामक भनाइ व्यक्त गर्दै आएको भन्दै पर्यटन विभागले त्यसमा ध्यानाकर्षण भएको जनाएको छ। कारबाहीको सम्बन्धमा होटेलका तर्फबाट पछिल्लो समय भ्रामक भनाइ सञ्चारमाध्यममा आएको भन्दै विभागले शुक्रबार विज्ञप्तिमार्फत ध्यानाकर्षण भएको जनाएको हो।
सरकारले उक्त होटेलको नाममा जारी गरिएको क्यासिनो सञ्चालन इजाजतपत्र रद्द गर्ने, होटेलको पाँचतारे स्तर वर्गीकरण रद्द गर्ने, होटेलको नाममा रहेको अचल सम्पति रोक्का राख्ने र बैंक तथा वित्तीय संस्थामा रहेको बैंक खाता रोक्का राख्ने सम्बन्धमा विभिन्न भ्रामक भनाइ राखेको विभागले जारी गरेको प्रेस नोटमा उल्लेख छ।
होटेलको नाममा सञ्चालित क्यासिनोले राज्यलाई बुझाउनुपर्ने रोयल्टी नबुझाएको भन्दै पर्यटन मन्त्रालयले कारबाही गरेको थियो। उक्त क्यासिनोले ४२ करोड रुपैयाँ रोयल्टी सरकारलाई बुझाएको छैन। सोही आधारमा पर्यटन मन्त्रालयले होटेलको पाँचतारे वर्गीकरण र क्यासिनो सञ्चालनको इजाजत पनि रद्द गरेको थियो।
पर्यटन विभागले विसं २०४८ पुस २२ गते उक्त होटेलको नाममा क्यासिनो सञ्चालनको इजाजतपत्रको अनुमति दिएको थियो। इजाजतपत्र जारीपछि क्यासिनो सञ्चालन हुँदै आइरहेको थियो। तर, भित्री विवादका कारणले उक्त क्यासिनोले पछिल्लो समय सरकारलाई बुझाउनुपर्ने रोयल्टी तथा शुल्क बुझाएको थिएन। सरकारलाई बुझाउनुपर्ने रोयल्टी पटकपटक ताकेता गर्दा पनि नबुझाएपछि पयर्टनमन्त्री प्रेमबहादुर आलेले सो इजाजत रद्द गर्न लगाएका थिए।