मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ माघ २६ बुधबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ २६ बुधबार १६:४१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

५–११ वर्ष उमेर समूहलाई कोरोनाविरुद्धको भ्याक्सिन लगाउने तयारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ २६ बुधबार १६:४१:oo

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले पाँचदेखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि कोरोनाविरुद्धको फाइजर खोप ल्याउन लागिएको बताएका छन्। बुधबार नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले विद्यार्थीहरूलाई चाँडो कोरोनाविरुद्धको खोप लगाउन र विपन्नहरूको स्वास्थ्य सेवा निःशुल्क गर्न माग गर्दै बुझाएको ज्ञापनपत्र लिँदै मन्त्री खतिवडाले यस्तो बताएका हुन्। उनले विद्यार्थीलाई खोपको सहजताका लागि विद्यालयलाई नै खोपकेन्द्र बनाइएको र आउने दिनमा खोपको उपलब्धतामा कमी हुन नदिने प्रतिबद्धता जनाए। 

मन्त्री खतिवडाले सरकार कोरोनाविरुद्धको खोप दिनका लागि तयार रहेको र विद्यार्थीलाई खोप लगाउन प्रेरित गर्न विद्यार्थी संगठनले भूमिका खेल्नुपर्ने बताए। उनले अबको केही दिनभित्र नै तेस्रो चरणको रूपमा सम्पूर्ण नेपालीलाई बुस्टर डोज दिने सरकारको योजना रहेको पनि बताए। 

विपन्नहरूलाई अहिले पनि निःशुल्क उपचार गरिरहेको बताउँदै धेरै मानिस गाउँपालिकाबाट विपन्नताको कागजपत्र लिएर नआउँदा र उनीहरूलाई सूचना प्रवाह हुन नसक्दा निःशुल्क उपचारबाट वञ्चित भएको बताए। उनले विपन्न नागरिकको ओपिडी सेवा निःशुल्क गर्नेबारे मन्त्रालयमा छलफल गरेर निर्णय गर्ने बताए। अनेरास्ववियूले भने विद्यार्थीहरूलाई खोपको अनिवार्य व्यवस्था गर्न, स्वास्थ्यसम्बन्धी अधिकारको कार्यान्वयन गर्न, स्वास्थ्यलाई निःशुल्क बनाउन, संविधानले ग्यारेन्टी गरेको मौलिक अधिकारलाई कार्यान्वयन गर्न र टिचिङ, वीर र पाटनजस्ता सामुदायिक अस्पतालमा विद्यार्थी, किसान, मजदुरलगायत आर्थिक अभाव रहेका वर्गका नागरिकको उपचार निःशुल्क गर्न माग गरेको छ।