महाकाली पुल निर्माण कम्पनीले लापर्बाही गरेको भन्दै भीमदत्त नगरपालिकाका स्थानीयहरू आन्दोलित भएका छन्। निर्माण कम्पनी कुमार सिएफआइसी जेभीले नदीजन्य पदार्थ बाहिर लगेर बिक्री गरेको र पुल निर्माणमा बेवास्ता गरिरहेको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका हुन्।
निर्माण कम्पनीले लापर्बाही गरेर अर्को वर्षातमा पनि डुबानको समस्या निम्त्याउन खोजेको भन्दै स्थानीयले आइतबारदेखि आन्दोलन थालेका हुन्। स्थानीय सुरेन्द्रबहादुर मल्लले कम्पनीको चरम लापर्बाहीका कारण आन्दोलन गर्नुपरेको बताए। आइतबार भीमदत्त नगरपालिका–१२ र सोमबार महाकाली पुल योजना कार्यालयमा स्थानीयले तालाबन्दीसमेत गरेका छन्। सोमबार भीमदत्त–११, १२ र १३ का जनप्रतिनिधिसहितका स्थानीयले कार्यालयमा तालाबन्दी गरेका हुन्।
स्थानीय तुलबहादुर थापाले ठेकेदार कम्पनीले पुल निर्माण गर्नुको साटो नदीजन्य स्रोतसाधन बेच्न लागेको बताए। ‘ठेकेदारले सडक निर्माण भन्दा त्यहाँ महाकालीमा रहेका ग्राभिलिङ बाहिर बेच्दै आएका छन्,’ उनले भने, ‘पहुँचमार्ग भत्किएको छ, त्यसबारेमा समेत अनुगमन गर्नुपर्छ।’ गुणस्तरहीन सडक निर्माण गर्ने कम्पनीमाथि कारबाही गर्नुपर्ने उनले बताए। अदालतले रोयल्टी तिर्न आदेश दिए पनि निर्माण कम्पनीले रोयल्टी तिर्नुको साटो ढुंगा बेचेर पुलको कामसमेत रोकेको उनले बताए।
भीमदत्त–१३ का वडाध्यक्ष लालबहादुर शाहीले ठेकेदार कम्पनीले लापर्बाही गरेकाले स्थानीय आन्दोलित भएको बताए। महाकाली योजनाले निर्माण कम्पनीलाई निर्माण कार्यअघि बढाउन तीनपटक पत्र बुझाइसकेको छ। पुल आयोजनाका इन्जिनियर दुर्गादत्त अवस्थीले निर्माण कम्पनीको लापर्बाहीले काम रोकिएको बताए। ‘हामीले पटकपटक निर्माण कम्पनीलाई काम गर्नका लागि निर्देशन दिएका छौँ,’ उनले भने, ‘तर पनि कम्पनीले बेवास्ता गरेको छ।’ पुलको डिजाइन परिर्वतनको बहाना बनाएर निर्माण कम्पनीले काम गर्न आलटाल गरेको उनको भनाइ छ।
महाकाली पुल निर्माण कम्पनी कुमार सिएफसिई जेभीका इन्जिनियर किशोर पाण्डे भने स्थानीयको आन्दोलन कम्पनीविरुद्ध नभई आयोजनाविरुद्ध भएको बताउँछन्। ‘ठूला ढुंगा नपाएकाले हामीले गाइडबन्ड परिवर्तनका लागि विभागमा पत्राचार गरेका छौँ,’ उनले भने, ‘परिवर्तन भएको डिजाइन आएको छैन, त्यही भएर काम विगतमा भन्दा अहिले सुस्त छ।’ तटबन्धसहितका काम भेरियसनमा नभएकाले थप भए काम सुरु हुने उनले बताए।