ललितपुरको थेचो र मोरङको धनपालथानमा शव भेटिएका तीन व्यापारीको हत्या ३१ वर्षीय युवकको महत्वाकांक्षाले भएको खुलेको छ । रातारात धनी बन्ने महत्वाकांक्षाका कारण सिराहा नगरपालिका– ११ का अनिलकुमार मण्डलले आफ्नै योजनाअनुसार तीनजनाको हत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।
अनिलको समूहले २८ मंसिरमा हत्या गरेको तेह्रथुम संक्रान्ति गाउँपालिका– २ का मोहन लिम्बूको शव बिहीबार ललितपुरको थेचोमा भेटिएको थियो । त्यस्तै, ५ र ७ पुसमा हत्या गरिएका सुनसरी धरान उपमहानगरपालिका– ३ का राजेन्द्रकुमार श्रेष्ठ र सप्तरी शम्भुनाथ नगरपालिका– ४ का शम्भु चौधरीको शव १२ र १३ माघमा मोरङको धनपालथानस्थित उखुबारीमा भेटिएको थियो । क्रमशः ६३, ४८ र ३२ वर्षका उनीहरू तीनैजना घरजग्गालगायत विभिन्न व्यापारमा साझेदार थिए ।
अनुसन्धानमा खटिएका प्रहरीका अनुसार अनिल पुल्चोक इन्जिनियरिङ क्याम्पसका ‘ड्रप आउट’ विद्यार्थी हुन् । फुर्मासी स्वभावका उनमा जसरी पनि धन आर्जन गर्ने महŒवाकांक्षा थियो । बल्खुमा फ्ल्याट लिएर युवतीसँग लिभिङ टुगेदरमा बस्थे । पैसा कमाउने लोभमा दौडिएका उनलाई ललितपुरको हरिसिद्धिस्थित करिब २५ रोपनी जग्गाले अपराधतिर डोहोर्यायो ।
उक्त जग्गा बैंकले लिलाम गर्न खोजेको थियो । लिलामबाट जोगाउन जग्गाधनीलाई ३५ करोड आवश्यक थियो । यहीबीचमा जग्गाधनी र अनिलबीच चिनजान भयो । अनिलले लिलाम हुनबाट रोकिदिने र ब्याजमा पैसा पनि मिलाइदिने आश्वासन दिए । अनिलको सम्बन्ध मोहनसँग पहिल्यै थियो । उनले जग्गाको विषय मोहनसँग राखे । मोहनले आफ्ना साझेदार राजेन्द्र र शम्भुसम्म यो कुरा पुर्याए । शम्भु जग्गाधनीलाई ३५ करोड दिन तयार भए, तर जग्गा आफ्नो नाममा पास गर्ने सर्तमा । छलफलका क्रममा अनिलले प्रश्न गरे– त्यसो भए मलाईचाहिँ के फाइदा त ? उनलाई तीन प्रतिशत कमिसन दिने सहमति भयो । तर, उनले उक्त जग्गाको बैंकले ५५ करोड मूल्यांकन गर्ने बताए । जग्गाधनीलाई ३५ करोड मात्रै आवश्यक थियो । बीचको २० करोडको पनि कमिसन खाने अनिलको दाउ थियो । अनिलको दाउ थाहा पाएपछि शम्भुले सीधै जग्गाधनीसँग सम्पर्क गर्न थाले । यो थाहा पाएपछि अनिललाई चित्त बुझेन । यहीँबाट निम्तिएको समस्याले परिस्थितिलाई हत्यासम्म पुर्यायो ।
‘एउटै व्यक्तिको योजनामा तीनजनाको हत्या भएको छ । यो विरलै हुने घटनामा पर्छ । यसका पछाडि व्यक्ति हुर्किएको सामाजिक र आर्थिक वातावरण बुझ्नुपर्ने हुन्छ,’ महानगरीय अपराध महाशाखा प्रमुख एसएसपी वसन्त कुँवर भन्छन्, ‘अनिलकुमार बोर्डर क्षेत्रको वातावरणमा हुर्किएको देखिन्छ । बोर्डर स्वाभाविक रूपले धेरै अपराध हुने क्षेत्रमा पर्छ । त्यस्तै, आर्थिक गतिविधि पनि त्यही क्षेत्रमा धेरै हुने गर्छ । छोटो अवधिमा मालामाल हुने व्यक्ति कतिपय युवाका रोलमोडल बन्ने गर्छन् । व्यक्तिको मनोविज्ञान यस्तै फ्रेमभित्र तयार हुने हुन् । जसले व्यक्तिलाई महत्वाकांक्षी बनाउँछ । महत्वाकांक्षा पूरा गर्न मानिस जस्तोसुकै कदम चाल्न पछि पर्दैन । अनिलकुमार पनि आफूभित्र हुर्किएको सोही महत्वाकांक्षा पूरा गर्न यो हदमा उत्रिएको जस्तो देखिन्छ ।’
प्रहरीले हत्याका मुख्य योजनाकार अनिलकुमारसहित पाँचजनालाई पक्राउ गरेको छ । अनिलसहित मोरङ धनपालथान गाउँपालिका– ७ कमलपुरका ६२ वर्षीय नासिर आलम र मोरङ जहदा गाउँपालिका– ४ सिसबनीका २९ वर्षीय अमित साह भनिने दीनानाथ सोनारलाई मोरङ प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ । पक्राउ परेका अन्य दुईजनालाई भने सार्वजनिक गरेको छैन । अन्य फरारको खोजी भइरहेको प्रहरीले जनाएको छ । त्यस्तै, धनपालथान घटनास्थलबाट खाल्डो खन्न प्रयोग भएको कोदालो, शव छिटो गलाउन प्रयोग गर्न लगिएको ६ प्याकेट नुन पनि बरामद गरेको छ ।
उनीहरूको हत्याका लागि सुपारीस्वरूप १५ देखि २० लाखसम्म खर्च गरेको एसपी कुँवरले बताए । ‘हत्याको मुख्य कारण आर्थिक रहेकामा शंका रहेन । यसको विस्तृत अनुसन्धान जिप्रका मोरङले गरिरहेको छ । सुन्नमा आएअनुसार तीनजनाको हत्याका लागि यिनीहरूले १५ देखि २० लाख रुपैयाँ खर्च गरेजस्तो देखिन्छ । यद्यपि, अनुसन्धान जारी छ ।’
अनिलको बल्खुस्थित कोठामा बसेर हत्या योजना, भारतीयको समेत प्रयोग
अनुसन्धानमा संलग्न जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार हत्यामा भारतीय नागरिक पनि प्रयोग भएका थिए । यसका लागि प्रतिव्यक्ति पाँच लाख रुपैयाँ खर्च दिने भनिएको थियो । जसमध्ये प्रतिव्यक्ति दुई लाख रुपैयाँका दरले उनीहरूलाई अग्रिम भुक्तानी दिइसकेको थियो । रकम पाउने भएपछि भारतीय नागरिकसहितको टोली महिना दिनअघि नै काठमाडौं आएको थियो । प्रहरीका अनुसार उनीहरू बल्खुस्थित अनिलको कोठामा बसेको अनुसन्धानमा खुलेको छ । हत्याको योजना उनीहरूले सोही कोठामा बसेर बनाएका थिए । तर, अनिलकी गर्लफ्रेन्डलाई यसबारे पत्तो दिएका थिएनन् ।
मोहन, राजेन्द्रकुमार र शम्भुबीच व्यापारिक सम्बन्ध रहेकाले घटना लुकाउन बेग्लाबेग्लै ठाउँमा हत्या गर्ने योजना बनाए । एकै ठाउँमा हत्या गर्दा शव व्यवस्थापन गर्न समस्या हुने र पोल खुल्ने डर थियो । उनीहरूले ललितपुरको गोदावरी– १२ को थेचोस्थित प्रदीपकुमार थापामगरको घर प्रतिमहिना ३० हजार रुपैयाँ तिर्ने गरी भाडामा लिए ।
प्रहरीका अनुसार अनिलले मोहनलाई त्यही घरमा २८ मंसिरमा बोलाए । मोहनलाई त्यहीँ छाडेर उनी सुटक्क घरबाट बाहिरिए । लगत्तै घरमा अन्य अपरिचित नासिर, दीनानाथसहितको टोली प्रवेश ग¥यो । मोहनकुमारलाई सबैले समाते । भुइँमा लडाए । अनि नाइलनको डोरीले घाँटी कसे । मोहनको ज्यान गएपछि शव व्यवस्थापनका लागि कोठाभित्रै खाल्डो खन्ने प्रयास भयो । तर, भुइँको प्लास्टर फोड्दा योजना असफल हुने देखिएपछि घरकै पछाडि सानो खाली जग्गामा खाल्डो खनेर हाले । शवलाई सिरक र डस्नाले गुटुमुटु पारेर हालेपछि माथिबाट सिमेन्टले प्लास्टर गरिदिएका थिए ।
मोहनको हत्यालगत्तै राजेन्द्र र शम्भुलाई छुट्टाछुट्टै मोरङ बोलाए । घटनामा संलग्न अनिलसहितको टोली गाडी रिजर्भ गरे मोरङ पुगेको थियो । एक रात विराटनगरस्थित रत्न होटेलमा बसेका उनीहरूले राजेन्द्र र शम्भुलाई सँगै भेटे । अनिलले मोहन र जग्गाधनी पनि सँगै आउने भनेका थिए । तर, मोहनलाई नदेखेपछि राजेन्द्र र शम्भुले खोजी गरे । अनिलले मोहन केही दिनमै आउने भन्दै राजेन्द्र र शम्भुलाई थमथमाएर हत्या गर्ने योजना बनाए । उनीहरूको हत्या गरेर शव व्यवस्थापन गर्ने ठाउँ मोरङको धनपालथान बोर्डिङ टोलस्थित उखुबारी पहिचान भएपछि ५ पुसमा राजेन्द्रलाई सुटुक्क उखुबारीआसपास बोलाए । घाँटीमा डोरीले कसे । अनि खाल्डो खनेर उखुबारीमा गाडे । त्यसको पर्सिपल्ट शम्भुलाई सोही ठाउँमा बोलाएर त्यसरी नै हत्या गरी शव व्यवस्थापन गरे । योजना सफल भएपछि सबै आ–आफ्नो बाटो लागेका थिए ।
घटनाको सम्बन्धमा महानगरीय अपराध महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइराला भन्छन्, ‘हत्याका लागि यिनीहरूले लामो तयारी गरेको देखिन्छ । ज–जसको हत्या भयो उनीहरू एक–आपसमा परिचित व्यक्तिहरू हुन् । तर, हत्या गर्न फरक–फरक मिति र ठाउँ प्रयोग भएको देखिन्छ ।’
अनिलकुमारले आफ्नो अपराधको पोल आफैँ खोले
मोरङमा राजेन्द्रकुमार र शम्भुको हत्यापछि अनिलकुमार सीधै काठमाडौं फर्किए । योजना सफल भएपछि आफ्नो नियमित काममा व्यस्त हुन थाले । उता १२ र १३ माघमा मोरङको धनपालथानस्थित उखुबारीमा राजेन्द्र र शम्भुको शव बरामद भयो । हत्यामा संलग्नबारे भेउ नपाउँदा प्रहरी रनभुल्लमा थियो ।
यही क्रममा अनिलकुमारले काठमाडौंबाटै जिप्रका मोरङमा ‘हत्या गरिएका राजेन्द्र र शम्भु’लाई चिनेको व्यहोरा लेखिएको कुरियर गरे । पत्र ठेगानामा पुग्यो । पत्र पढेपछि प्रहरीले अनिलमाथि नै शंका गर्यो । अनुसन्धानका लागि काठमाडौं आइपुग्यो । महानगरीय अपराध महाशाखाको सहयोगमा अनिलको खोजी ग¥यो । अन्ततः अनिल पक्राउ परे । अनुसन्धानमा उनी नै मुख्य योजनाकार भएको पनि खुल्यो ।
हत्या योजना र योजनाकार पत्ता लागे पनि कारोबार भने अझै ‘हाइड’
प्रहरीले तीन व्यवसायीको हत्या गर्ने मुख्य योजनाकार र गिरोहका दुई सदस्यलाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ परेका थप दुईजनाबारे अहिलेसम्म केही खुलाएको छैन । प्रहरीले तीन व्यापारीको कारोबारको विषय पनि ‘गोप्य’ नै राखेको छ ।
घरजग्गा, निर्माण, उद्योगदेखि हाइड्रोपावरसम्म लगानी गरेको भनिएका उनीहरूको कारोबार करोडौँमा रहेको प्रहरीको भनाइ छ । तर, उनीहरूको कारोबार वैध वा अवैध कस्तो प्रकारको थियो त्यो प्रहरीले खुलाउन चाहेको छैन ।
‘लगानीको प्रतिफल एकलौटी बनाउन साझेदारहरूको प्लान मर्डर भएको र उनीहरूको लगानी करोडौँमा रहेको प्रस्ट हुन्छ । तर, लगानी वैध–अवैध के–कस्तो हो त्यो हामीले पनि पत्तो लगाइसकेका छैनौँ, अनुसन्धान गर्दै छौँ,’ मोरङका एसपी जनार्दन जिसीले भने । उनका अनुसार पक्राउ परेका मुख्य योजनाकार अनिलकुमार पनि विभिन्न कम्पनीका सञ्चालक र सिइओ भएको खुलेको छ ।