१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ २१ शुक्रबार
  • Friday, 05 July, 2024
भवानीश्वर गौतम काठमाडाैं
२o७८ माघ २१ शुक्रबार १o:४८:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

उपत्यकाका केही स्थानीय तहले गरे भौतिक रूपमै विद्यालय सञ्चालनको निर्णय

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७८ माघ २१ शुक्रबार १o:४८:oo

गृह मन्त्रालयले माघ मसान्तसम्म भौतिक रूपमा स्कुल नखोल्न निर्देशन जारी गरे पनि केही स्थानीय तहले टेरेनन्

कोभिड संक्रमणदर घटेसँगै काठमाडौं उपत्यकाभित्रै भौतिक रूपमा पठनपाठन सुरु गर्ने निर्णय भएको छ । काठमाडौंभित्रको गोकर्णेश्वर नगरपालिकाले २३ माघदेखि भौतिक रूपमा कक्षा सञ्चालनको निर्णय गरेको छ । भक्तपुर नगरपालिकामा पालिकाले औपचारिक निर्णय नगरे पनि निजी विद्यालयमा माध्यमिक तहको पठनपाठन सुरु भइसकेको छ । 

शिक्षा मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालयले निर्णय नगरे पनि उपत्यकाका पालिकाले भौतिक रूपमा कक्षा सञ्चालन गर्दै छन् । उपत्यकाबाहिर पनि केही स्थानीय तहले भौतिक रूपमै कक्षा सञ्चालन गरेका छन् । 

कोभिडको संक्रमण बढेसँगै शिक्षा मन्त्रालयले २६ पुसमा विद्यार्थीलाई स्वास्थ्य सुरक्षा तथा बचावटका लागि १५ माघसम्म बिदा दिने निर्णय गरेको थियो । कोभिडको संक्रमण तीव्र भएसँगै विश्वविद्यालयको परीक्षासमेत स्थगित भएका थिए । अहिले स्थगित परीक्षा फागुनदेखि सञ्चालनको निर्णय भएका छन् । तर, जिल्ला प्रशासनले भने शैक्षिक संस्थाहरू माघ मसान्तसम्मका लागि भौतिक रूपमा सञ्चालन गर्न नमिल्ने आदेश जारी गरेको छ । 

गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुंगानाले सरोकारवालासँगको छलफलबाट विद्यालय सञ्चालन गर्ने निर्णय भएको बताए । ढुंगानाले भने, ‘एउटा कक्षामा २५ जनाभन्दा बढी नराख्ने र आलोपालो गरी विद्यालय सञ्चालन गर्ने निर्णय भएको छ, स्वास्थ्य मापदण्ड पालना भए–नभएको हामीले पनि अनुगमन गर्छौँ ।’ खोप लगाएका विद्यार्थीका लागि मात्र भौतिक उपस्थितिमा कक्षा सञ्चालनको निर्णय भएको उनले बताए । उनले भने, ‘९० प्रतिशतभन्दा बढी विद्यार्थीले खोप लगाएका छन, उनीहरूलाई मात्र राखेर पठनपाठन हुन्छ ।’ उनले केन्द्रको ‘नम्र्स’समेत पालना हुने बताए । 

यसअघि कोभिडका कारण विद्यालय बन्द भएर संक्रमणदर कम भएपछि अरू पालिकाभन्दा अघि नै गोकर्णेश्वर नगरपालिकाले विद्यालय सञ्चालन गरेको थियो । गोकर्णेश्वर नगरपालिकामा १६ सामुदायिक र एक सय दुई निजी विद्यालय सञ्चालनमा छन् । 

शिक्षा मन्त्रालयले विद्यालय तहको शैक्षिक कार्यक्रम बन्द गरी देशभरका करिब ३५ हजार विद्यालयमा बिदा दिने निर्णय गरेको छ । कोभिड– १९ को संक्रमण तीव्र रूपमा फैलिएका कारण विद्यार्थीलाई स्वास्थ्य सुरक्षा तथा बचावटका लागि १५ माघसम्म बिदा दिने निर्णय गरेको हो । 

शिक्षा मन्त्रालयले २७ पुसदेखि १५ माघसम्म बिदा दिने निर्णय गरेको थियो । यस अवधिमा १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई सबै स्थानीय तहमा खोप लगाउने कार्यक्रम रहेकाले सहभागी हुन अनुरोध गरेको थियो । बिदाको अवधिमा विद्यालयहरूले सिकाइ सहजीकरण निर्देशिका, २०७७ अनुसार विद्यार्थीको सिकाइमा आवश्यक सहजीकरणको प्रबन्ध मिलाउन शिक्षा मन्त्रालयले आग्रह गरेको छ । 

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्मा भन्छन्– स्थानीय तहले प्रशासनको आदेश मान्नुपर्छ
पालिकाहरूले विद्यालय सञ्चालनको विषयमा स्थानीय प्रशासनको आदेश पालना गर्नुपर्छ । स्थानीय प्रशासनले माघ मसान्तसम्मलाई शैक्षिक संस्था सञ्चालन नगर्ने आदेश गरेको छ । अर्को निर्णय नहुँदासम्म यही आदेश मान्नुपर्ने हुन्छ । यसअघि अन्य निकायको आदेश नभएका कारण शिक्षा मन्त्रालयले १५ माघसम्म विद्या दिने निर्णय गरेको हो ।

अहिले सिसिएमसीको निर्णयबमोजिम स्थानीय प्रशासनले जारी गरेको आदेशअनुसार शैक्षिक संस्था सञ्चालन गर्नुपर्छ । खोप लगाउन शैक्षिक संस्था खोल्न दिए पनि पठनपाठन गर्ने अनुमति दिएको छैन । 

अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी भन्छन्– पालिकालाई जिम्मेवार बनाउनुपर्छ
अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले विद्यालय खोल्ने वा बन्द गर्ने निर्णय पालिकाबाटै हुनुपर्ने बताए । केन्द्रबाट सबैलाई एकै किसिमको निर्णय हुन नहुने उनको भनाइ छ ।

महासंघका अध्यक्ष भण्डारीले एक हप्तादेखि भक्तपुर नगरपालिकाका निजी विद्यालयमा माध्यमिक तहमा भौतिक रूपमा पठनपाठन भइरहेको बताए । उनले भने, ‘सबै ठाउँमा अनलाइनबाट पढ्ने अवस्था छैन, विद्यालय खोल्नुपर्छ, तर त्यो निर्णयको अधिकार स्थानीय तहमा छ, त्यहीँबाटै निर्णय हुनुपर्छ, केन्द्रले मापदण्ड बनाउनुपर्छ ।’ 

काठमाडौं उपत्यकामा ३५ हजारभन्दा बढी सक्रिय संक्रमित

नेपालमा कोभिड– १९ संक्रमणदर घट्दै गएको छ । बिहीबार परीक्षण गरिएका नमुनाका आधारमा संक्रमणदर २५.२ प्रतिशतमा झरेको हो । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार १२ हजार ६ सय पाँचजनामा परीक्षण गर्दा तीन हजार एक सय ७५ जनामा संक्रमण पुष्टि भएको छ । 

संक्रमणदरको झन्डै आधा काठमाडौं उपत्यकाले ओगट्दै आएको छ । हाल काठमाडौं उपत्यकामा मात्र ३५ हजार सात सय ४८ सक्रिय संक्रमित रहेको तथ्यांक छ । जुन संख्या कुल संक्रमितको ५६.४८ प्रतिशत हो । देशभर ६३ हजार दुई सय ९३ सक्रिय संक्रमित छन् । यसबाहेक भक्तपुरमा ७७ र ललितपुरमा एक सय ८३ संक्रमित थपिएका छन् । यस्तै, काठमाडौंमा मात्रै २१ हजार सात सय ३६ सक्रिय संक्रमित छन् । जुन संख्या देशभरिकै सबैभन्दा बढी हो ।

योसँगै बालबालिकामा संक्रमणदरसमेत घट्न थालेको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार बिहीबार एक सय ६९ जनामा संक्रमण देखिएको छ । बुधबार एक सय ७५ जना बालबालिकामा संक्रमण देखिएको थियो भने मंगलबार दुई सय ७२ जनामा संक्रमण देखिएको थियो । 

सोमबार दुई सय २२ र आइतबार दुई सय ३७ जना बालबालिका संक्रमित भएका थिए । कोभिडको दैनिक संक्रमणदर ५० प्रतिशत नाघेको समयमा बालबालिका दैनिक संक्रमित संख्यासमेत पाँच सय नाघेको छ । दैनिक संक्रमणदरसँगै बालबालिकामा समेत संक्रमण घट्दै गएको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाउँछ । 

ad
ad
ad
ad