१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
अनेरास्ववियु (क्रान्तिकारी)ले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिविरुद्ध बुधबार काठमाडौंमा गरेको मसाल जुलुस ।
२०७८ माघ २० बिहीबार ०५:५२:००
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

पेट्रोलियम पदार्थ मूल्यवृद्धिको विरोधमा विद्यार्थीको प्रदर्शन

Read Time : < 1 मिनेट
२०७८ माघ २० बिहीबार ०५:५२:००

सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोधमा विद्यार्थी संगठनहरूले प्रदर्शन गरेका छन् । एमालेनिकट अनेरास्ववियु र विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी)ले उपत्यकालगायत विभिन्न ठाउँमा राँके जुलुससहित प्रदर्शन गरेका हुन् । 

अनेरास्ववियुले बुधबार प्रदर्शनीमार्गमा राँके जुलुस प्रदर्शन गरेको छ । वरिष्ठ उपाध्यक्ष आरसी लामिछानेले जनताको ढाड सेक्ने गरी सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै तत्काल खारेज गर्न माग गरे । केही समयको अन्तरालमा भएको मूल्यवृद्धिले चौतर्फी असर पार्ने उनले बताए । अनेरास्ववियुले काठमाडौंसहित बुटवल, विराटनगर, धनगढी, पोखरालगायत सहरमा प्रदर्शन गरेको छ । 

नेकपानिकट अखिल (क्रान्तिकारी)ले पनि मूल्यवृद्धिको विरोधमा काठमाडौंका विभिन्न ठाउँमा प्रदर्शन गरेको छ । अध्यक्ष प्रकाश शाहीका अनुसार सरकारले जनतामारा निर्णय गरेकाले देशभर विरोध प्रदर्शन गरेको बताए । अखिल क्रान्तिकारीले बुधबार काठमाडौं उपत्यकामा पाटन, सानोठिमी, कलंकी, पुतलीसडक, प्रदर्शनीमार्ग, त्रिचन्द्र क्याम्पसअगाडि प्रदर्शन गरेको थियो । 

नेपाल आयल निगमले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोलको प्रतिलिटर १४२ रुपैयाँ तथा डिजेल र मट्टीतेलको १२५ रुपैयाँ मूल्य कायम गरेको छ । निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर तीन–तीन रुपैयाँ वृद्धि गरेको हो । मंगलबार मूल्य समायोजन गर्दा ग्यासको मूल्य १५ सय ७५ नै यथावत् छ ।

आन्तरिक हवाई इन्धनको प्रतिलिटर १० रुपैयाँ बढाएर ११६ रुपैयाँ तथा बाह्य हवाई इन्धनको प्रतिकिलोलिटर सय डलरले बढाएर एक हजार ९५ डलर निर्धारण गरेको छ । यो मूल्य इतिहासकै महँगो हो । यसअघि ३० फागुन ०७० मा कायम पेट्रोलको मूल्य मंगलबारसम्म सबैभन्दा बढी थियो । त्यतिवेला १४० रुपैयाँ पुगेको थियो ।