पर्यटन बोर्डका सिइओ धनञ्जय रेग्मीले आर्थिक अनियमितता गरेको छानबिन समितिको ठहर

मंगलबार, १८ माघ, २०७८
डिजिटल संस्करण

विदेशबाट फर्किँदा ल्याएको मदिरा भित्र्याउने क्रममा त्रिभुवन विमानस्थल भन्सारका कर्मचारीमाथि हातपात गरेर विवादमा मुछिएका नेपाल पर्यटन बोर्डका सिइओ डा. धनञ्जय रेग्मीले विभिन्न आर्थिक अनियमितता गरेको छानबिन समितिले ठहर गरेको छ । बोर्डकै उपाध्यक्ष चन्द्र रिजालको संयोजकत्वमा गठित छानबिन समितिले सोमबार पर्यटनसचिव महेश्वर न्यौपानेलाई १०बुँदे निष्कर्ष एवं सुझावसहितको छानबिन प्रतिवेदन बुझाएको हो । 

लन्डनमा आयोजित वल्र्ड ट्राभल मार्ट (डब्लुटिएम)मा सहभागी भएर फर्किँदा रेग्मीले ल्याएको ६ बोतल ड्युटी फ्री ह्विस्की विमानस्थल भन्सारका कर्मचारीले जफत गर्न खोजेपछि विवाद भएको थियो । उक्त घटनाको सत्यतथ्य छानबिन गर्न बोर्डले समिति गठन गरेको थियो । विदेशबाट आउँदा एकजना व्यक्तिले एक बोतल मात्र ड्युटी फ्री मदिरा ल्याउन पाउने व्यवस्था छ । तर, उनले विदेशी कोटाभन्दा बढी मदिरा भन्सार छली गरेर अवैध रूपमा भिœयाउन खोजेको र ड्युटीमा रहेका भन्सारका कर्मचारीसँग भएको व्यवहार सहनयोग्य नभएको छानबिन प्रतिवेदनमा उल्लेख छ । 

बोर्डको कार्यकारी समिति र बजेट तथा कार्यक्रमले डब्लुटिएमजस्ता अन्तर्राष्ट्रिय मेलाहरूमा सहभागी हुँदा कम्तीमा १० जना व्यवसायीको सहभागिता सुनिश्चितता गर्न दिएको निर्देशन पनि रेग्मीले नटेरेको समितिको निष्कर्ष छ । उनले आवश्यकता, औचित्य र प्रभावकारिता विश्लेषण नगरी डब्लुटिएममा ६ पर्यटन व्यवसायी मात्र सहभागी गराएर एक करोड रुपैयाँभन्दा बढी रकम खर्च गरेको प्रतिवेदनमा उल्लेख छ । बोर्डको निर्देशनविपरीत गरिएको सो खर्चलाई कानुनसम्मत मान्न नसकिने छानबिन समितिको निष्कर्ष छ । 

सिइओ रेग्मीले जियोग्राफिकल इन्फर्मेसन सिस्टम (जिआइएस) परियोजना कार्यान्वयन गर्दा पनि आर्थिक अनियमितता गरेको आशंका छ । उनले बोर्डको कार्यकारी समितिबाट पारित बजेट तथा कार्यक्रमले गरेको व्यवस्थाअनुरूप कार्यसम्पादन नगरेको र तोकिएभन्दा कम काम गर्ने गरी त्रिभुवन विश्वविद्यालयसँग चार करोड ७३ लाख ४८ हजारमा सम्झौता गरेर बोर्डलाई आर्थिक नोक्सान गरेको हुन सक्ने प्रतिवेदनमा उल्लेख छ । यस्तै, कुनै पनि ठूलो लगानीमा कार्यक्रमहरू सञ्चालन गर्दा त्यसको सम्भाव्यता, अध्ययन र उपयोगको रणनीति नै नबनाई अन्धाधुन्ध खर्च गर्ने गरेको पनि जनाएको छ । 

बोर्डको विद्यमान कानुन र कार्यकारी समितिको निर्णयविना नै रेग्मीले आफ्नो क्षेत्राधिकारबाहिर गएर सातै प्रदेशमा संरचना रहने गरी आन्तरिक पर्यटन पुनरुत्थान समिति गठन गरेको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । बोर्डको कार्यकारी समितिको बैठकले गरेका निर्णय तथा निर्देशनहरू कार्यान्वयन नगरेको, तर निर्णय नै नभएका विषयमा समेत कामकारबाही भएको पनि भेटिएको छ । निर्माण एवं खरिद कार्यमा सार्वजनिक खरिद ऐनविपरीत टुक्रा–टुक्रा पारेर फरक समय देखाई आर्थिक हानि–नोक्सानी हुने गरी काम गरेको भेटिएको समितिले जनाएको छ । 

स्वीकृत कार्यक्रम, कार्यादेश र सहभागीको विवरणसमेत संलग्न नगरी बोर्डसम्बन्धी बैठक एवं छलफलको खर्च भनेर सिइओको तोकआदेशबाट विभिन्न होटेल तथा रेस्टुरेन्टमा भएको खर्चलाई कार्यालय प्रयोजनको खर्च देखाई बोर्डको स्रोत दुरुपयोग गरेको पनि छानबिनमा भेटिएको छ । सिइओ रेग्मीले कार्यालयमा नियमित हाजिर नगरी डुप्लिकेसन गरेको आशंकासमेत गरिएको छ ।

पर्यटन बोर्डको प्रादेशिक सम्पर्क कार्यालय तथा सूचना केन्द्रको स्थापना, कर्मचारीको कार्यसम्पादन मूल्यांकन, कर्मचारीको नियमितता एवं हाजिरी व्यवस्थापन, करारका कर्मचारी व्यवस्थापनजस्ता विषयमा सिइओबाट भएका कामहरू कानुनसम्मत नभएको ठहर गरेको छ । सिइओ रेग्मी अवैध रूपमा सुन चोरी पैठारीसम्बन्धी मुद्दामा संलग्न भएको पनि प्रतिवेदनमा उल्लेख छ । छानबिन समितिले रेग्मीबाट भएका आर्थिक अनियमितताका सम्बन्धमा अनुसन्धानात्मक कारबाही गर्न सम्बन्धित निकायलाई सिफारिस गर्न सुझाव दिएको छ । 

सुझावित समाचार