१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नवीन अर्याल काठमाडाैं
२०७८ माघ १८ मंगलबार ०८:०२:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पर्यटन बोर्डका सिइओ धनञ्जय रेग्मीले आर्थिक अनियमितता गरेको छानबिन समितिको ठहर

Read Time : > 1 मिनेट
नवीन अर्याल, काठमाडाैं
२०७८ माघ १८ मंगलबार ०८:०२:००

विदेशबाट फर्किँदा ल्याएको मदिरा भित्र्याउने क्रममा त्रिभुवन विमानस्थल भन्सारका कर्मचारीमाथि हातपात गरेर विवादमा मुछिएका नेपाल पर्यटन बोर्डका सिइओ डा. धनञ्जय रेग्मीले विभिन्न आर्थिक अनियमितता गरेको छानबिन समितिले ठहर गरेको छ । बोर्डकै उपाध्यक्ष चन्द्र रिजालको संयोजकत्वमा गठित छानबिन समितिले सोमबार पर्यटनसचिव महेश्वर न्यौपानेलाई १०बुँदे निष्कर्ष एवं सुझावसहितको छानबिन प्रतिवेदन बुझाएको हो । 

लन्डनमा आयोजित वल्र्ड ट्राभल मार्ट (डब्लुटिएम)मा सहभागी भएर फर्किँदा रेग्मीले ल्याएको ६ बोतल ड्युटी फ्री ह्विस्की विमानस्थल भन्सारका कर्मचारीले जफत गर्न खोजेपछि विवाद भएको थियो । उक्त घटनाको सत्यतथ्य छानबिन गर्न बोर्डले समिति गठन गरेको थियो । विदेशबाट आउँदा एकजना व्यक्तिले एक बोतल मात्र ड्युटी फ्री मदिरा ल्याउन पाउने व्यवस्था छ । तर, उनले विदेशी कोटाभन्दा बढी मदिरा भन्सार छली गरेर अवैध रूपमा भिœयाउन खोजेको र ड्युटीमा रहेका भन्सारका कर्मचारीसँग भएको व्यवहार सहनयोग्य नभएको छानबिन प्रतिवेदनमा उल्लेख छ । 

बोर्डको कार्यकारी समिति र बजेट तथा कार्यक्रमले डब्लुटिएमजस्ता अन्तर्राष्ट्रिय मेलाहरूमा सहभागी हुँदा कम्तीमा १० जना व्यवसायीको सहभागिता सुनिश्चितता गर्न दिएको निर्देशन पनि रेग्मीले नटेरेको समितिको निष्कर्ष छ । उनले आवश्यकता, औचित्य र प्रभावकारिता विश्लेषण नगरी डब्लुटिएममा ६ पर्यटन व्यवसायी मात्र सहभागी गराएर एक करोड रुपैयाँभन्दा बढी रकम खर्च गरेको प्रतिवेदनमा उल्लेख छ । बोर्डको निर्देशनविपरीत गरिएको सो खर्चलाई कानुनसम्मत मान्न नसकिने छानबिन समितिको निष्कर्ष छ । 

सिइओ रेग्मीले जियोग्राफिकल इन्फर्मेसन सिस्टम (जिआइएस) परियोजना कार्यान्वयन गर्दा पनि आर्थिक अनियमितता गरेको आशंका छ । उनले बोर्डको कार्यकारी समितिबाट पारित बजेट तथा कार्यक्रमले गरेको व्यवस्थाअनुरूप कार्यसम्पादन नगरेको र तोकिएभन्दा कम काम गर्ने गरी त्रिभुवन विश्वविद्यालयसँग चार करोड ७३ लाख ४८ हजारमा सम्झौता गरेर बोर्डलाई आर्थिक नोक्सान गरेको हुन सक्ने प्रतिवेदनमा उल्लेख छ । यस्तै, कुनै पनि ठूलो लगानीमा कार्यक्रमहरू सञ्चालन गर्दा त्यसको सम्भाव्यता, अध्ययन र उपयोगको रणनीति नै नबनाई अन्धाधुन्ध खर्च गर्ने गरेको पनि जनाएको छ । 

बोर्डको विद्यमान कानुन र कार्यकारी समितिको निर्णयविना नै रेग्मीले आफ्नो क्षेत्राधिकारबाहिर गएर सातै प्रदेशमा संरचना रहने गरी आन्तरिक पर्यटन पुनरुत्थान समिति गठन गरेको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । बोर्डको कार्यकारी समितिको बैठकले गरेका निर्णय तथा निर्देशनहरू कार्यान्वयन नगरेको, तर निर्णय नै नभएका विषयमा समेत कामकारबाही भएको पनि भेटिएको छ । निर्माण एवं खरिद कार्यमा सार्वजनिक खरिद ऐनविपरीत टुक्रा–टुक्रा पारेर फरक समय देखाई आर्थिक हानि–नोक्सानी हुने गरी काम गरेको भेटिएको समितिले जनाएको छ । 

स्वीकृत कार्यक्रम, कार्यादेश र सहभागीको विवरणसमेत संलग्न नगरी बोर्डसम्बन्धी बैठक एवं छलफलको खर्च भनेर सिइओको तोकआदेशबाट विभिन्न होटेल तथा रेस्टुरेन्टमा भएको खर्चलाई कार्यालय प्रयोजनको खर्च देखाई बोर्डको स्रोत दुरुपयोग गरेको पनि छानबिनमा भेटिएको छ । सिइओ रेग्मीले कार्यालयमा नियमित हाजिर नगरी डुप्लिकेसन गरेको आशंकासमेत गरिएको छ ।

पर्यटन बोर्डको प्रादेशिक सम्पर्क कार्यालय तथा सूचना केन्द्रको स्थापना, कर्मचारीको कार्यसम्पादन मूल्यांकन, कर्मचारीको नियमितता एवं हाजिरी व्यवस्थापन, करारका कर्मचारी व्यवस्थापनजस्ता विषयमा सिइओबाट भएका कामहरू कानुनसम्मत नभएको ठहर गरेको छ । सिइओ रेग्मी अवैध रूपमा सुन चोरी पैठारीसम्बन्धी मुद्दामा संलग्न भएको पनि प्रतिवेदनमा उल्लेख छ । छानबिन समितिले रेग्मीबाट भएका आर्थिक अनियमितताका सम्बन्धमा अनुसन्धानात्मक कारबाही गर्न सम्बन्धित निकायलाई सिफारिस गर्न सुझाव दिएको छ ।