मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ३० सोमबार
  • Monday, 15 September, 2025
२o८२ भदौ ३० सोमबार o९:३७:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

इन्जुरी समयमा सलाहले जिताए लिभरपुललाई

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ ३० सोमबार o९:३७:oo

मोहमद सलाहले अन्तिम इन्जुरी समयको पाँचौँ मिनेटमा गरेको पेनाल्टी गोलको सहयोगमा इंग्लिस प्रिमियर लिगको साबिक विजेता लिभरपुलले आइतबार बर्नलीमाथि १–० को जित निकालेको छ । लिभरपुलविरुद्ध अंक खोस्न लगभग निश्चित देखिएको बर्नलीले इन्जुरी समयमा सामान्य गल्ती गर्दा अंक गुमायो । जरेमिनले डिबक्सभित्र ह्यान्ड गरेपछि लिभरपुलले पेनाल्टी पाएको हो । सलाहले कुनै गल्ती नगरी गोल गरे । लिगमा चार खेल समाप्त हुँदा लिभरपुलले शतप्रतिशत नतिजा निकालेको छ । 

१२ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको आर्सनलले चार खेलबाट ९ अंक जोडेको छ । आर्सनलले एक खेल गुमाएको छ । यसैगरी टोटनह्यामले चार खेलमा ९ अंक जोडेको छ । गोलअन्तरमा टोटनह्याम तेस्रो स्थानमा छ । ९ अंक बटुलेको बर्नमाउथ चौथो स्थानमा छ । यस सिजन १२५ मिलियन पाउन्डमा लिभरपुलमा अनुबन्ध भएका एलेसान्डर इसाकले बर्नलीविरुद्ध प्रतिस्पर्धा गर्न पाएनन् । बर्नलीले लिभरपुलविरुद्ध बलियो डिफेन्स रणनीति बनाएको थियो । जसकारण लिभरपुलले खेलको अन्तिम समयमा प्राप्त एक मात्र पेनाल्टीमा गोल गरेको हो । घरेलु टोली बर्नलीका गोलरक्षक मार्टिनले केही उत्कृष्ट बचाउ गर्दा लिभरपुल निराश बनेको थियो । गोलरक्षक मार्टिनले डोमिनिक स्जोबोसा तथा फेडेरिकोका राम्रा गोल प्रयासलाई विफल पारेका थिए । 

१० खेलाडीमा सीमित बर्नली
लिभरपुललाई कडा टक्कर दिएको बर्नली खेलको अन्तिम ६ मिनेट दश खेलाडीमा सीमित भएको थियो । खेलको ८४औँ मिनेटमा लेसेल गोचुकाउ दोस्रो पहेँलो कार्ड व्यहोर्दै बाहिरिएका थिए । उनले फलारिन विट्जलाई फल गरेपछि रेफ्री माइकल ओलिभरले रातो कार्ड देखाए । यसअघि लेसेसले एलेक्सिस अलिस्टरमाथि फल गर्दा चेतावनीस्वरूप पहेँलो कार्ड पाएका थिए । त्यसपछि बर्नलीले १० खेलाडीमा प्रतिस्पर्धा गर्‍यो । यद्यपि, साबिक विजेता टोलीले त्यसको फाइदा लिन सकेन । लिभरपुलले अघिल्लो तीन खेलमा ८०–९० मिनेटभित्र गोल गरेको थियो । यसपटक बर्नलीविरुद्ध पनि यस्तै प्रदर्शन गर्ने अपेक्षा थियो । 

अन्तिम समयमा भाग्यमानी लिभरपुल
यस सिजनमा शतप्रतिशत नतिजा निकालेको लिभरपुलले अन्तिम समयमैतिर गोल गरेको देखिन्छ । घरबाहिर दोस्रोपटक जित निकाल्ने क्रममा इन्जुरी समयमै विजयी गोल गरेको छ । यसअघि न्युकासलविरुद्ध जित निकाल्दा खेलकै इन्जुरी समयमै गोल गरेको थियो । नयाँ सिजनमा खर्चिलो क्लब बनेको लिभरपुलको खेल रणनीतिमा अझै कमजोरी भएको प्रशिक्षक अर्नेले बताए । ‘लगातार चार खेलमा जित निकाले पनि हाम्रो रणनीति अझै मिलेको छैन,’ उनले भने, ‘फिनिसिङ लाइनअप बलियो भए पनि सहज गोल निस्किरहेको छैन ।’