नेपाली राष्ट्रिय फुटबल टोलीले आज (मंगलबार) दशरथ रंगशालामा दक्षिण अफ्रिकी देश मोरिससविरुद्ध दोस्रो मैत्रीपूर्ण खेल खेल्दै छ । पहिलो मैत्रीपूर्ण खेलमा जित निकालेको नेपालको नजर लगातार जित निकाल्ने रहेको छ । मोरिसस पनि जितका साथ घर फर्कने योजनामा छ । मोरिसस पहिलोभन्दा दोस्रो खेलमा आत्मविश्वासी देखिन्छ । कोरोना संक्रमणका कारण मोरिससले पहिलो खेलमा मुख्य चार खेलाडीको साथ पाएको थिएन । दोस्रो खेलमा यी चारै खेलाडीले नेपालविरुद्ध खेल्नेछन् । मोरिससका प्रशिक्षक टोनी मारिएले चार खेलाडीको आगमनमा टिम थप बलियो हुने जनाएका छन् । ‘दोस्रो खेलमा मुख्य चार खेलाडीले प्रतिस्पर्धा गर्नेछन्, यसको प्रभाव खेलमा देखिनेछ ।’
गत शनिबार नेपालसँग पहिलो मैत्रीपूर्ण खेलमा पराजित भएपछि टोनीले भनेका थिए, ‘सेट खेलाडी नहुँदा नेपालसँगको पहिलो खेलमा कमजोर देखियो ।’ मोरिससले मंगलबारको खेलमा अन्य खेलाडी पनि परिवर्तन गर्नेछ । प्रशिक्षक टोनीले दोस्रो खेलमा खेल रणनीति तथा खेलाडी परिवर्तन हुने जनाइसकेका छन् । नेपालको भने रणनीति परिवर्तन हुनेछैन ।
यसअघि नै घरेलु टोली नेपालले दुवै खेलका लागि फरक–फरक खेलाडी समावेश टोली घोषणा गरेको थियो । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले शनिबार तथा मंगलबार हुने खेलका लागि अनुभव तथा अन्तर्राष्ट्रिय खेलका आधारमा दुई फरक टोली घोषणा गरेका थिए । अलमुताइरी यसपटक नौ नयाँ अनुहारलाई राष्ट्रिय टोलीमा समावेश गरी एक्सपोजर दिने प्रयासमा छन् ।
दोस्रो खेल पनि जिते फिफा वरीयतामा नेपालको सुधार
लगातार दोस्रो जित निकाल्न सके फिफा वरीयतामा नेपालको स्थान सुधार हुने प्रशिक्षक अलमुताइरीको विश्वास छ । ‘लगातार जितले फिफा वरीयतामा सुधार आउनेछ, जसबाट हामीलाई विश्वकप तथा एसिया कप छनोटमा सहज हुनेछ,’ उनले भने, ‘मेरो प्रयास पनि लगातार दोस्रो खेलमा जित निकाल्ने नै हुनेछ ।’ फिफा वरीयतामा नेपाल मोरिससभन्दा तीन स्थान माथि छ । नेपाल एक सय ६९औँ र मोरिसस एक सय ७२औँ स्थानमा छ ।
दोस्रो खेलमा विमल घर्तीमगर र आशिष लामाले स्ट्राइकरमा निरन्तरता पाउनेछन् । अगाडि नै घोषणा भएको नेपालको टोलीमा यी दुवै खेलाडीले दोस्रो खेलमा समेत स्थान पाएका थिए । यी दुवै खेलाडीलाई आशिष राईले साथ दिनेछन् । घरेलु मैदानमा ११ वर्षपछि नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जित निकाल्न विमलले निर्णायक गोल गरेका थिए । विमलले ५५औँ मिनटमा एक मात्र निर्णायक गोल गरेका थिए ।
४० महिनापछि राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय गोल गर्दा विमलको उत्कृष्ट कमब्याकका रूपमा मूल्यांकन गरिएको छ । विमल राष्ट्रिय टोलीबाट खेल्न कति लालायित थिए भन्ने मोरिससविरुद्धको पहिलो खेलमा देखिएको छ । उनी दोस्रो खेलमा पनि आफ्नो उत्कृष्ट फर्म जारी राख्न चाहन्छन् । प्रशिक्षक अलमुताइरीले पनि विमललाई क्षमता भएका खेलाडीका रूपमा लिएका छन् । ‘यद्यपि, पहिलो खेलमा विमलले सोचेजस्तो खेल्न सकेनन्, तर दोस्रो खेलमा उनको प्रदर्शन हेर्नलायक हुने विश्वास छ,’ अलमुताइरीले भने ।
मोरिससविरुद्धको दोस्रो खेलमा सहभागी हुने नेपाली टोली
गोलरक्षकः किरणकुमार लिम्बू (कप्तान),विशाल श्रेष्ठ, सत्रुघन चौधरी
डिफेन्डरः गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरज जिउ ठकुरी, अनन्त तामाङ ।
मिडफिल्डरः पुजन उपरकोटी, सुमन लामा, तेज तामाङ, नवीन गुरुङ, सुजल श्रेष्ठ, सुभाष गुरुङ, अन्जन विष्ट, एरिक विष्ट, प्रशान्त अवस्थी, सुशील राई, सन्तोष तामाङ ।
स्ट्राइकरः आशिष लामा, विमल घर्ती मगर, आशिष राई
मोरिसस दुई वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा
मोरिसस भने अफ्रिका कप छनोटको तयारीस्वरूप नेपालविरुद्ध मैत्रीपूर्ण खेल खेल्न आएको हो । नेपालसँग प्रतिस्पर्धाका लागि मोरिससले ४५ दिनको अभ्यास गरेको थियो । मोरिससका प्रशिक्षक टोनीले भने, ‘यो मैत्रीपूर्ण खेल अफ्रिका कपको छनोटको तयारीका रूपमा लिएको छु ।’ मोरिसस दुई वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्किएको हो । नेपालले गत असोजपछि अन्तर्राष्ट्रिय खेल खेलेको हो । नेपालले पछिल्लोपटक असोजमा भएको साफ च्याम्पियनसिपको फाइनल खेलेको थियो । साफ फाइनलमा भारतसँग ३–० गोलले पराजित भएको थियो ।
आजको खेल समयः ४ः४५ बजे साँझ स्थान: दशरथ रंगशाला