मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
Invalid date format १२:१६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कार्यकक्षभित्रै कर्मचारीलाई बन्धक बनाएर ज्यान मार्ने धम्की, कर्मचारी संगठनद्वारा विरोध

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:१६:oo

दैलेखको दुल्लु नगरपालिका– ९ को वडा कार्यालयमा कार्यरत दुई महिला कर्मचारीलाई स्थानीयले पाँच घन्टा बन्धक बनाएका छन्। कार्यकक्षभित्र काम गरिरहेका कर्मचारीहरूलाई बन्धक बनाएर गालीगलौज र अपशब्द प्रयोग गर्दै ज्यान मार्ने धम्की दिएको पीडित कर्मचारीले बताएका छन्।

वडासचिव रत्ना गिरी र सामाजिक परिचालक भगवती न्यौपानेलाई स्थानीय प्रेमबहादुर भण्डारीसहितको टोलीले कार्यालयमै पुगेर बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म बन्धक बनाएका हुन्।

वृद्धभत्ताको कार्ड नामसारी गर्ने विषयमा विवाद भएपछि उनीहरूलाई बन्धक बनाइएको प्रारम्भिक अनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। कर्मचारीले कानुनविपरीतको काम गर्न नमिल्ने भनेपछि उनीहरूले बन्धक बनाएकाे बताइएको छ। घटनाबारे खबर पाएपछि सुरक्षाकर्मीको टोली वडा कार्यालय पुगेर बन्धक बनाइएका कर्मचारीको उद्धार गरेको थियो।

कर्मचारीलाई उद्धार गर्न जाँदा केही स्थानीयले प्रहरीमाथि नै ढुंगामुडा गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख भुवनेश्वरप्रसाद शाहले बताए। घटनामा संलग्नमध्ये मुख्य योजनाकार प्रेमबहादुर भण्डारी फरार रहेका छन् भने अन्य ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। कर्मचारीमाथि अभद्र व्यवहार गर्ने भण्डारीले गत महिना विद्यालयका कर्मचारी र शिक्षकहरूलाई पनि अभद्र व्यवहार गरेका थिए। सो मुद्दामा एक साता थुनामा रहेर उनी धरौटीमा रिहा भएका थिए।

कर्मचारीको गल्ती भए सम्बन्धित निकायहरूमा उजुरी गरेर कर्मचारीलाई कारबाही प्रक्रिया सुरु गर्न सकिने प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए। तर, कानुन हातमा लिएर कर्मचारीलाई बन्धक बनाउनेहरूलाई कानुनअनुसार हदैसम्मको कारबाही गरिने उनले बताए।
 
कर्मचारी संगठनद्वारा विरोध
जनताको सेवामा खटिएका कर्मचारीलाई कार्यकक्षमै बन्धक बनाउँदै अमानवीय व्यवहार गरेको भन्दै निजामती कर्मचारी संगठन र कर्मचारी युनियनले छुट्टाछुट्टै विज्ञप्ति जारी गरेर विरोध जनाएका छन्।  उनीहरूले घटनामा संलग्न सबैलाई कडा भन्दा कडा कारबाही गर्नुपर्ने माग गरेका छन्। कानुन हातमा लिएर कर्मचारीमाथि गरिएको अभद्र व्यवहारप्रति आपत्ति जनाउँदै उनीहरूले कर्मचारीको सुरक्षाको मागसमेत गरेका छन्।