
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विमानस्थल, रेलमार्गलगायतका ठुला पूर्वाधार निर्माणका लागि वैकल्पिक विकास वित्त परिचालन गर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभामा अर्थमन्त्री पौडेलले वैकल्पिक विकास कोष ऊर्जा विकास, विद्युत् उत्पादन, विद्युत् प्रसारण तथा वितरणमा परिचालन हुने बताएका हुन् ।
त्यस्तै सडक निर्माण, सुरुङमार्ग निर्माण तथा विस्तार, औद्योगिक विकास पूर्वधार निर्माणमा परिचालन गरिने पनि जानकारी दिए । त्यसैगरी, सहरी विकास पूर्वाधार, डाटा सेन्टरको स्थापना तथा सञ्चालन, केबुलकार, पोडवे निर्माण तथा सञ्चालनमा पनि वैकल्पिक विकास कोषको परिचालन हुने उनको भनाइ छ ।
सार्वजनिक ऋणको आकार बढ्दै गएको सन्दर्भमा पूर्वाधार क्षेत्रमा निजी पुँजी आकर्षण गरी सार्वजनिक ऋणमा परेको चाप कम गर्ने, रोजगारी प्रवर्धन, दिगो विकास, पूर्वाधार आयोजनामा दीर्घकालीन लगानी सुनिश्चित गर्नेलगायतका उद्देश्य राखिएको उनले बताए ।