
गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको तथा रिलेबलिङ गरेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुईवटा व्यापारिक फर्ममाथि कारबाही गरेको छ । विभागले श्रीराम टोबाको उद्योग प्रालिलाई रु. तीन लाखबराबरको जरिवाना गरेको छ ।
यस्तै, एसबिएल प्रोफेसनल प्रालिलाई रु. दुई लाख पाँच हजारबराबरको जरिवाना गरेको विभागले जनाएको छ । अधिकतम खुद्रा मूल्य नराखी बिक्री–वितरण गरेको पाइएपछि कारबाही गरिएको विभागको भनाइ छ ।
विभागले उपलब्ध गराएको विवरणअनुसार सातवटा फर्मलाई आवश्यक कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ । त्यस्तै, काठमाडौँ र ललितपुरका पाँचवटा फर्मलाई व्यवसायसँग सम्बन्धित कागजात लिएर तीन दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ ।
विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन एवं कारबाही गरिएको जनाएको छ । विभागले असार ३१ गते नौ, ३० गते पनि समान नौवटा फर्मलाई कारबाहीको दायरामा ल्याएको छ । केहीलाई सामान्य निर्देशन दिइएको छ भने केहीलाई कागजातसहित आउन भनिएको छ ।
यस्तै, असार २९ गते नौ, असार २७ गते पाँच, असार २६ गते १६, असार २५ गते ११ वटा फर्ममा अनुमगन गरी आवश्यक कारबाही गरिएको जनाइएको छ ।