
अखिल नेपाल फुटबल संघ (एन्फा)ले महिला राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डलाई पत्राचार गर्दै एएफसी एसियन कप छनोटका दौरान भएको विवादको विषयमा घटना विवरण मागेको छ । उज्वेकिस्तानमा भएको छनोटका क्रममा कप्तान छनोटको विषयमा प्रशिक्षक र एन्फा अफिसियलबिच विवाद भएको थियो ।
सोही विवादको वास्तविकता जानकारी पठाउन एन्फाले पत्राचार गरेको एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिएका छन् । ‘एसियन कप छनोटका दौरान भएको घटना विवरण के हो ? वास्ताविकता के हो ?’ शाहले भने, ’टिम व्यवस्थापन र प्रशिक्षकको भनाइ फरक–फरक आएपछि हामीले प्रशिक्षकबाटै वास्ताविकता बुझ्न खोजेका हौँ ।’
उज्वेकिस्तानबाट घर बेल्जियम फर्केका वाइल्डले अहिलेसम्म एन्फासँग सम्पर्क गरेका छैनन् । नेपाल फर्किएपछि टिम व्यवस्थापनले प्रशिक्षकका कारण कप्तानको विषयमा विवाद भएको दाबी गरेको थियो । प्रशिक्षकले घटनाको विषयमा जानकारी दिएपछि उनको सम्झौताको विषयमा एन्फाले निर्णय गर्नेछ । वाइल्ड नेपाली एक वर्षका लागि महिला टोलीको प्रशिक्षक नियुक्त भएका थिए ।