१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ माघ १२ बुधबार ०६:४१:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

रसुवागढी नाकामा यार्ड विस्तारको काम सुरु

Read Time : > 1 मिनेट
२०७८ माघ १२ बुधबार ०६:४१:००

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा यार्ड विस्तारको काम सुरु भएको छ । कोरोना महामारीपश्चात् नाकामा निर्माण गरिएको अस्थायी यार्ड साँघुरो भएसँगै यार्ड विस्तारको काम सुरु गरिएको हो । चीनबाट नेपाल आयात हुने चिनियाँ सामग्री लोड–अनलोड गर्न असहज भएपछि नाकामा यार्ड विस्तार तथा सुधारका लागि गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाका प्राविधिकले अध्ययन गरी स्टिमेट तयार गरेका थिए । लगत्तै ६ करोड बजेट विनियोजन भएर ठेक्का प्रक्रिया सुरु गरिएको थियो । तर, सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत रसुवागढी नाकामा एकीकृत जाँचचौकी (आइसिपी) भवन निर्माणको जिम्मा पाएको श्याम सुन्दर रबिना जेभीले यार्ड विस्तार गर्नुपर्ने सम्झौतामा उल्लेख भएअनुसार ६ करोड लगानी गरेर विस्तार गरिन लागिएको यार्डको नयाँ ठेक्का रद्द भएको छ । 

०७२ को विनाशकारी भूकम्पसँगै माथिबाट झरेको सुक्खा पहिरोले अहिले यार्ड विस्तार सुरु गरिएको स्थान पूरै पुरेको थियो । नेपाल–चीन सिमानाको मितेरी पुलसँगै रहेको यार्ड साँघुरो भएकाले उक्त यार्ड विस्तार तथा सुधारका लागि थुप्रिएको ढुंगा–माटो पन्छाउने काम सुरु गरिएको हो ।  थुप्रिएको ढुंगा–माटो पन्छाउने, खार्ने काम भने गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाको सहयोगमा सुरु भएको छ । यार्ड निर्माण गर्न लागिएको स्थानमा ढलान गर्ने काम भने आइसिपी निर्माणको जिम्मा पाएको श्याम सुन्दर रबिना जेभीले गर्ने भएको छ । यार्ड विस्तारका लागि ढुंगा–माटो पन्छाउन दुईवटा स्काभेटर प्रयोग गरी काम सुरु गरिएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाका प्रमुख नीरज शाक्यले बताए ।  

भूकम्पले पहिरो गई थुप्रिएको स्थानमा ठूला–ठूला ढुंगा रहेको र ब्लास्टिङ गर्नुपर्ने देखिएपछि काम अघि बढाइएको रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए । ‘करिब एक महिनामा विस्तार तथा सुधार गर्न लागिएको यार्ड सफा गर्ने काम सकिनेछ, सफा गरिसकेपश्चात् लेबल मिलाउने, ढलान गर्ने काम हुन्छ,’ उनले भने । यार्ड विस्तार भएपछि ३० वटाभन्दा बढी गाडी अट्ने उनले बताए । यार्ड विस्तार गरिएसँगै रसुवागढी नाकाबाट सामानको आयात बढ्ने नेपाली पक्षले अपेक्षा गरेको रसुवा भन्सार कार्यालय टिमुरेका भन्सार प्रमुख रामप्रसाद मैनालीले बताए । 

चीनले सामानको आयात बढाउने बताए पनि हालसम्म सामानको आयात बढ्न नसकेपछि नेपाल सरकारका उच्च अधिकारीले नाकामा देखिएका समस्याहरूबारे स्थलगत अवलोकन गरेका थिए । नाकामा देखिएका समस्याअन्तर्गत यार्ड विस्तार अत्यावश्यक देखिएपछि समस्या समाधान गर्न लागिपरेका हुन् । कोरोना भाइरसको संक्रमणका कारण चीनसँगको अन्तर्राष्ट्रिय व्यापार प्रभावित भएको दुई वर्ष भयो । कोरोना संक्रमण सुरु भएयता चीनले कोटा प्रणालीमा सामान ल्याइरहेको छ ।

०७६ माघ १५ देखि ०७७ जेठ २२ गतेसम्म नाका बन्द भयो । त्यसपश्चात् चीनले रसुवागढी नाका एकतर्फी सञ्चालन गरेको हो । चीनले आफ्नै गाडीमा नेपालतर्फको भूभागमा सामान ल्याइदिने गरेको छ । अहिले रसुवागढी नाकाबाट चिनियाँ नौवटा कन्टेनरमा सामान आयात भइरहेको छ ।  चिनियाँ एउटा गाडीमा आएको सामग्री नेपाली दुईवटा कन्टेनरमा नेपाली कामदारले लोड गर्ने गरेका छन् । चिनियाँ गाडीमा आएको सामग्री नेपाली गाडीमा लोड–अनलोड गर्न स्वास्थ्यका मापदण्ड अपनाउँदै नेपाली कामदार नाकामा खटिएका छन् । कोरोना भाइरसको महामारी सुरु भएपछि खुम्चिएको नेपाल–चीन व्यापार अझै सहज हुन सकेको छैन ।