चालू आवको दोस्रो त्रैमास मध्यसम्म आक्रामक रूपमा कर्जा लगानी गरेका बैंक तथा वित्तीय संस्थाहरूको नाफामा करिब १२ प्रतिशतले वृद्धि भएको छ । आइतबारसम्म दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेका २३ वाणिज्य बैंकहरूको कुल नाफा बढेर २९ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । कोभिडको तेस्रो लहरका कारण राष्ट्र बैंकले वित्तीय विवरण प्रकाशित गर्न बाँकी चार बैंकलाई केहीलाई थप समय दिएको छ ।
गत आवको यही अवधिको तुलनामा कर्जा करिब २७ प्रतिशतले वृद्धि गरेका बैंकहरूको नाफा रकम भने तीन अर्ब रुपैयाँले बढेको हो । समीक्षा अवधिमा सिभिल बैंकको नाफा सबैभन्दा धेरै १ सय ४८ प्रतिशतले वृद्धि भएको छ भने सानिमा बैंकको नाफा सबैभन्दा कम १ दशमलव ३४ प्रतिशतले बढेको छ । यस अवधिमा पाँच वाणिज्य बैंकको नाफा भने घटेको छ ।
लघुवित्तमा क्रस होल्डिङ भएका सेयर तथा अल्पकालीन लगानी भएका सेयर बिक्री गर्नुपरेका कारण पनि केही बैंकको नाफा उच्च देखिएको नेपाल बैंकर संघका अध्यक्ष अनिल उपाध्यायले बताए । ‘यसपटक लघुवित्तमा क्रसहोल्डिङ रहेका बैंकहरूले त्यस्तो सेयर बिक्री गरिरहेका कारण, अल्पकालीन रूपमा सेयरमा गरेको लगानी पनि बिक्री गर्नुपरेका कारण केही बैंकहरूको नाफामा उच्चदरमा वृद्धि देखिएको हो,’ कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका
उपाध्यायले भने ।
उनका अनुसार कर्जा लगानीमा पनि आक्रामक देखिएका कारण बैंकहरूको नाफा बढ्न सहयोग पुगेको हो । राष्ट्र बैंकले बैंकहरूलाई एक वर्षभन्दा कम अवधिका लागि सेयर कारोबार नगर्न निर्देशन दिएको थियो भने लघुवित्तमा रहेको क्रसहोल्डिङ हटाउन असार मसान्तसम्म कार्य योजना पेस गर्न भनेको छ ।
बैंकहरूको कर्जा लगानी २७ खर्बबाट बढेर ३४ खर्ब रुपैयाँ पुगेको छ । चालू आवमा निजी क्षेत्रतर्फ १९ प्रतिशतका दरमा कर्जा वृद्धि हुने लक्ष्य राष्ट्र बैंकको रहेकोमा ६ महिनामै बैंक तथा वित्तीय संस्थाहरूले लक्ष्यको ६० प्रतिशत कर्जा लगानी गरिसकेका छन् । बैंकहरूको कर्जा लगानीबाट भएको ब्याज आम्दानीमा निक्षेपको ब्याज लागत घटाएपछिको खुद ब्याज आम्दानी पनि १४ प्रतिशतले बढेर ६० अर्ब १४ करोड रुपैयाँ पुगेको छ ।
बैंकहरूको खराब कर्जामा भने कमी आएको छ । अघिल्लोपटक खराब कर्जा औसतमा १ दशमलव ६८ प्रतिशत रहेकोमा यसपटक शून्य दशमलव ९२ प्रतिशत छ । तत्काललाई खराब कर्जामा कमी आए पनि विश्व अर्थतन्त्र ओरालो लाग्ने क्रम देखिएमा र हाल मुलुकमा रहेको तरलता समस्या थप जटिल बन्दै गएमा भने यसले बैंकहरूलाई पनि समस्यामा पार्न सक्ने उपाध्याय बताउँछन् ।
‘तेललगायतका इन्धनहरूको मूल्यमा जसरी वृद्धि भइरहेको छ, यसले मुलुकभित्र मूल्यवृद्धि बढाउने मात्र नभई उही परिमाणको आयातका लागि बढी रकम बाहिर खर्चिनुपर्ने अवस्था आउनेछ,’ उपाध्यायले भने, ‘त्यसैले मेरो विश्लेषण विश्व अर्थतन्त्र ओरालो लाग्यो भने बैंकहरूको स्रोतसमेत घट्नेछ र थप कर्जा लगानी गर्न नसक्ने हो भने ऋणीहरू डिफल्ट हुने दर बढ्नेछ ।’
बैंकहरूले थप कर्जा लगानी गर्न सक्ने अवस्था नबनेमा यसअघि पुनर्कर्जा पाएका तथा कर्जा पुनर्संरचना र पुनर्तालिकीकरण गर्न पाएका होटेललगायतका क्षेत्रलाई थप समस्या पर्न सक्ने बैंकरहरूको आकलन छ । त्यस्तै, औपचारिक क्षेत्रमा समस्या देखिँदा पुँजी अनौपचारिक क्षेत्रमा पुँजी जान सक्ने भएकाले पनि बैंकहरूले तरलता अभावको हालको अवस्थामा आगामी ६ महिनामा भने पर्ख र हेरको रणनीतिका आधारमा कर्जा लगानी गर्नुपर्ने अवस्था रहेको उपाध्याय बताउँछन् ।
बैंकहरूको प्रतिसेयरमा प्रतिफल (आरओई) भने सीमान्त दरमा बढेर औसत १२ दशमलव ९० प्रतिशत छ । बैंकहरूको प्रतिसेयर आम्दानी भने औसत २० प्रतिशत रहेकोमा घटेर १६ दशमलव ४४ प्रतिशत छ । बैंकहरूको सेयर लगानीकर्तालाई वितरण गर्न सक्ने नाफा रकम भने करिब १३ प्रतिशतले बढेर १८ अर्ब ३५ करोड पुगेको छ ।
आगामी त्रैमासमा तरलता दबाब कायमै
माघको पहिलो साता तरलतामा थप दबाब नदेखिएको भए पनि सरकारले आन्तरिक ऋण उठाउन थालेसँगै बैंकहरूमा पुनः तरलता दबाब देखिएको छ । चैत मसान्तसम्म बजारबाट एक खर्ब ५० अर्ब आन्तरिक उठाउने तयारी गरेको सरकारका लागि राष्ट्र बैंकले सोमबार आठ अर्ब ६० करोड उठाउँदै छ । माघ लागेपछि पनि नेपाल आयल निगमले भारतलाई तेलको भुक्तानी पठाएसँगै बैंकहरूमा पुनः तरलता अभावको समस्या देखिन थालेको छ ।
बैंकहरूको कर्जा निक्षेप अनुपात पुनः ९० माथि उक्लिएको छ । आइतबार मात्रै बैंकहरूले राष्ट्र बैंकबाट ५० अर्ब रुपैयाँ सापटी (स्थायी तरलता सुविधा) लिएका छन् । तरलता सहज भएसँगै दैनिक १३ करोड मात्रै यस्तो सुविधा लिइरहेका बैंकहरूले सापटी रकम पुनः बढाएर लिन थालेका छन् ।