मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ पौष २७ मंगलबार १०:१०:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

स्वास्थ्यचौकीमा औषधि अभाव

Read Time : < 1 मिनेट
२०७८ पौष २७ मंगलबार १०:१०:००

गाउँपालिकाले महिनौँदेखि औषधि नकिनेकाले स्वास्थ्यचौकीमा कुनै पनि औषधि छैन । घन्टौँ हिँडेर स्वास्थ्यचौकी पुग्ने बिरामी निराश हुँदै फर्किन्छन् ।

सर्केगाड गाउँपालिका– ३ की हजारी फडेरा पेट दुख्ने समस्या भएपछि करिब दुई घन्टा पैदल हिँडेर सायाँ स्वास्थ्यचौकी पुगिन् । स्वास्थ्यकर्मीले चेकजाँच त गरे, औषधि दिन सकेनन् । किनभने, स्वास्थ्यचौकीमा औषधि थिएन । स्वास्थ्यचौकीबाट निःशुल्क पाउनुपर्ने औषधि निजी फार्मेसीबाट महँगो मूल्यमा किनेर हजारी फर्किन् । 

हजारी मात्र होइन, पछिल्लो समय सायाँ स्वास्थ्यचौकी पुग्ने सबै बिरामी औषधि अभावको समस्या भोगिरहेका छन् । सर्केगाड गाउँपालिकाको सायाँ, दुल्ली, मुण्डीलगायतबाट स्थानीय उपचार र औषधिका लागि सायाँ स्वास्थ्यचौकी पुग्छन् । तर, औषधि नपाउँदा सास्ती खेप्दै आएका छन् । ‘स्थानीयहरू घन्टौँ हिँडेर स्वास्थ्यचौकी पुग्छन्, तर औषधि नपाएर खालीहात फर्किनुपरिरहेको छ,’ हजारीले नयाँ पत्रिकासँग भनिन्, ‘मैले पनि व्यर्थमा दुःख पाएँ । स्वास्थ्यचौकीमा निःशुल्क पाइने औषधि नपाउँदा निजी मेडिकलमा महँगो मूल्य तिर्न बाध्य भएँ ।’

सायाँ हुम्लाको मध्यभेगमा पर्ने सर्केगाड गाउँपालिकाको पनि केन्द्रमा पर्छ । त्यसैले आसपासका गाउँका बिरामी उपचारका लागि अन्यत्रभन्दा सायाँ नै पुग्ने गर्छन् । तर, गाउँपालिकाको चरम लापरबाहीका कारण बिरामीले महिनौँदेखि यस्तो सास्ती भोग्दै आएका छन् । अनमी बिजौरा शाहीका अनुसार स्वास्थ्यचौकीमा महिलाहरूले प्रयोग गर्ने पिल्स चक्कीसमेत छैन ।

‘स्वास्थचौकी नखोल्दा किन खोलेनौँ भन्छन्, खोलौँ भने औषधि छैन,’ शाहीले दुःखेसो पोखिन् । गाउँपालिकाले चासो नदिँदा स्वास्थ्यचौकीमा औषधि नभएको अहेब धर्मराज शाहीले बताए । ‘बिरामी आउँछन्, स्वास्थ्यचौकीमा औषधि छैन, हामीलाई गाली गर्छन्,’ अहेब शाहीले भने, ‘स्वास्थ्यचौकीमा आगो लगाउँछौँ भन्ने धम्कीसमेत दिन्छन् ।’