मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष २२ बिहीबार
  • Monday, 16 December, 2024
नेकपा एमालेका जिल्ला अध्यक्षका लागि दाबी गरेका तीनजना आकांक्षी
२o७८ पौष २२ बिहीबार o९:१५:oo
Read Time : > 3 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमाले बाग्लुङको अध्यक्षमा तीनजनाको दाबी

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o७८ पौष २२ बिहीबार o९:१५:oo

नेकपा एमाले बाग्लुङको नयाँ नेतृत्वका लागि तीनजनाले दाबी गरेका छन् । भाेलि पुस २३ गते हुने एमाले बाग्लुङको नवौंँ जिल्ला अधिवेशनबाट जिल्ला नेतृत्व आफ्नो पोल्टामा पार्नका लागि तीन नेताले आफ्नो दाबेदारी प्रस्तुत गरेका हुन् । एमाले बाग्लुङका वर्तमान कार्यवाहक अध्यक्ष कृष्ण पाठक, गण्डकी प्रदेश सचिवालय सदस्य हिराबहादुर केसी र प्रदेश सदस्य ममतादेवी शर्माले जिल्ला नेतृत्वका लागि दाबेदारी प्रस्तुत गरेका छन् ।

यसअघि बाग्लुङ नगरप्रमुख जनकराज पौडेल र जिल्ला सचिव विष्णु भुसालले पनि अध्यक्षको दाबी गरेको भनिए पनि उनीहरू नेतृत्वको दाबीबाट पछि हटेको बताइएको छ । अध्यक्ष पदको दाबी गरेका पाठक, केसी र शर्मा तीनैजनाले आफूले आगामी २३ र २४ गते हुने एमाले जिल्ला अधिवेशनमा आफूले अध्यक्ष पदमा विजयी बन्ने दाबी गरेका छन् । सकभर सर्वसम्मत् नेतृत्व चयन गर्ने विषयमा एकमतजस्तै देखिएका उनीहरूले प्रजातान्त्रिक प्रक्रियाको रूपमा रहेको निर्वाचनमा गएमा प्रतिनिधिहरूले आफूलाई मत दिएर विजयी गराउने उनीहरू तीनैजनाको दाबी थियो । 

प्राकृतिक रूपमा अध्यक्षको उम्मेदवार हुँ : कृष्ण पाठक
अध्यक्षका लागि दाबी गरेका कार्यवाहक जिल्ला अध्यक्ष कृष्ण पाठकले आफू प्राकृतिक उम्मेदवार भएकाले आफू नै आगामी अध्यक्ष भएको दाबी गरेको बताए । ‘अध्यक्ष दाबी गरेकामध्ये म नै जेठो कम्युनिस्ट सदस्य हुँ, हाम्रो पार्टी युवा र प्रौढको मिश्रणबाट बनेको छ,’ पाठकले भने, ‘मैले ११ जना अध्यक्षसँग काम गरेको छु । अहिलेसम्म मूल नेतृत्व सम्हालेको छैन । अहिले कार्यवाहक अध्यक्ष भएको पनि दुई महिना भएको छैन । त्यसैले पनि अबको स्वाभाविक अध्यक्षको उम्मेदवार म हुँ।’

आफ्नो अनुभव र आत्मबलले गर्दा पनि प्रतिनिधिहरूले आफूलाई एमाले अध्यक्षको रूपमा छनोट गर्ने उनले विश्वास व्यक्त गरे । ‘अहिले एमालेविरुद्ध लागेका शक्तिलाई परास्त गर्नका लागि पनि मेरो अनुभव र आत्मबलले प्रतिस्पर्धी पार्टीलाई पछाडि पार्ने योजना मसँग छ,’ पाठकले भने, ‘एमालेविरुद्धको शक्तिलाई परास्त गर्नका लागि भावना र चर्का कुराले मात्रै हुँदैन । योजना बनाउनुपर्ने हुन्छ, त्यसका लागि म अगाडि बढेको छु ।’ वर्तमान कार्यवाहक अध्यक्ष पनि भएकाले न्यायोजित र प्राकृतिक हिसाबले नै आफू अध्यक्ष भएको उनको दाबी थियो । पार्टीमा कार्यकर्ता व्यवस्थापन र जिम्मेवारीमा समस्याले देखिएकाले रोस्टर निर्माण गरेर कार्यान्वयन गर्ने उनको दाबी छ । नेपाली कांग्रेस नै बाग्लुङमा एमालेको मुख्य प्रतिस्पर्धी भएकाले अन्य वामपन्थी शक्तिलाई गोलबन्द गर्ने उनले बताए ।

तीन वर्षमा १२ हजार संगठिन सदस्य पुर्‍याउनेछौँ : हिरा केसी
अध्यक्षका अर्का आकांक्षी हिराबहादुर केसीले एमालेमा आकर्षण बढेको भन्दै तीन वर्षमा १२ हजार संगठित सदस्य पुर्‍याउने बताए । ‘एमालेमा आकर्षण बढेको छ, अहिले पाँच हजारभन्दा बढी सदस्य छौँ,’ उनी भन्छन्, ‘त्यसलाई १२ हजार पुर्‍याउने र विद्युतीय प्रणालीमा सदस्यता अपडेट गरेर सजिलैसँग सम्पर्क स्थापित गर्न सकिने व्यवस्था गर्ने व्यवस्था गर्नेछु ।’ अनेमसंघमा २० हजार, अनेरास्ववियुमा १० हजारलगायत गरी जनवर्गीय संगठनहरूमा ५० हजार सदस्य पुर्‍याई जिल्लामा ६२ हजारलाई एमालेमा आबद्ध गराउने उनको भनाइ थियो । उनले अहिले पनि ३७ वटा वडाबाट एकजना मात्रै खुलातर्फ प्रतिनिधि जिल्ला अधिवेशनमा सहभागी हुने अवस्था रहेकाले तीन वर्षमा ती ठाउँहरूमा पाँच गुणा सदस्यता विस्तार गर्नेसमेत दाबी गरे ।

‘यहाँका कतिपय वडाबाट १४–१५ जना जिल्ला प्रतिनिधि छनोट हुँदा ३७ वडामा एकजना मात्रै खुला प्रतिनिधि छनोट भएर आउनुपर्ने अवस्था छ,’ उनले भने, ‘ती ठाउँहरूमा संगठन विस्तार गरी पार्टीलाई बलियो बनाएर ती ठाउँबाट पाँच गुणाभन्दा बढी खुला प्रतिनिधि आउने वातावरण बनाउँछु ।’ उनले बाग्लुङमा यसअघिको निर्वाचमा एमालेले जम्मा २६ प्रतिशत जनप्रतिनिधि जितेको भन्दै त्यसलाई ४० प्रतिशत पुर्‍याउने दाबी गरे ।

आफ्ना सहकर्मीहरू सबै केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज बनेर आएकाले आफू जिल्ला अध्यक्षमा सबैभन्दा उपयुक्त पात्र भएको र त्यसबाट सबैभन्दा राम्रो नतिजा निकाल्न सकिने उनको दाबी छ । ‘पाँच सयजना युवालाई इन्टरपेनर बनाउने र पाँच युवालाई स्वदेश फर्काई जीविकोपार्जनको क्षेत्रमा जोड्ने मेरो काम हुनेछ, अब आर्थिक समृद्धिको विषयलाई पार्टीले नसमेट्ने हो भने राजनीतिप्रतिको वितृष्णा झन् बढेर जान्छ,’ केसीले भने । उनले बाग्लुङ जिल्लाको आफ्नो मानक निर्माण गरेर अन्य जिल्लाले अनुशरण गर्ने वातावरण बनाउनेसमेत दाबी गरे । 

टोलटोलमा प्रशिक्षण चलाउनेछौँ : ममतादेवी शर्मा
अध्यक्ष पदका लागि दाबी गरेकी ममतादेवी शर्माले नेता–कार्यकर्तालाई मार्क्सवादी दर्शनबाट खार्नका लागि टोलटोलमा प्रशिक्षण चलाउने बताइन् । ‘कम्युनिस्ट पार्टीका कार्यकर्ताहरू मार्क्सवादी दर्शनबाट दीक्षित हुनपर्छ,’ उनले भनिन्, ‘बीचमा माओवादीसँगको एकताका कारण हाम्रा संगठन गतिविधिहरू पनि ठप्प भएका थिए । अब त्यसलाई नयाँ गति दिएर पार्टीलाई अगाडि बढाउँछु । जनवर्गीय संगठनहरूलाई चलायमान बनाउँछु ।’ उनले एमालेका पार्टी सदस्य बढाएर २० हजार पुर्‍याउने बताइन् । ‘अहिले हामीसँग पाँच हजारभन्दा केही बढी पार्टी सदस्य छौँ, त्यसलाई चार गुणा बढाएर २० हजार पुर्‍याउने मेरो उद्देश्य छ । समावेशी हिसाबले पार्टीलाई अगाडि बढाउनेछु,’ शर्माले भनिन् ।

उनले वार्षिक कार्ययोजना बनाई भेला र छलफललाई तीव्रता दिने र सार्वजनिक सुनुवाइसमेत गर्ने बताइन् । ‘एउटा राजनीतिक दल सार्वजनिक निकाय हो, यसका गतिविधिहरू पारदर्शी हुनु जरुरी छ, त्यसका लागि सार्वजनिक सुनुवाइ गर्छु,’ उनी भन्छिन्, ‘पार्टीमा योगदान गरेको पूर्वनेताहरूको जीवनी तयार गर्ने काम गर्नेछु ।’ पार्टीका कार्यकर्तालाई आयआर्जनसँग जोड्ने योजना बनाएर त्यसका लागि स्थानीय, प्रदेश र संघीय सरकारसँग पहल गर्ने उनको भनाइ छ ।

दोहोरो लेखा प्रणाली राखेर पार्टीलाई पारदर्शी बनाउने तथा दुर्गम क्षेत्रबाट पार्टी कामका लागि सदरमुकाम आउनेहरूलाई लक्षित गरी होस्टेल सञ्चालन गर्ने उनले बताइन् । ‘निसी तमानबाट पार्टी बैठकका लागि बाग्लुङ आउनुपर्‍यो भने १५–२० हजार रुपैयाँ गोजीमा नभई आउन नसकिने अवस्था छ,’ उनी भन्छिन्, ‘त्यस खालको समस्या समाधानका लागि विभिन्न क्षेत्रबाट कोष संकलन गरेर होस्टेल सञ्चालन गर्ने मेरो योजना रहेको छ ।’

आफू अध्यक्ष निर्वाचित भएपछि तीन वर्ष कुनै पनि लाभको पद नखोजेर केवल पार्टी निर्माणको काममा लाग्ने उनले बताइन् । अध्यक्षका उम्मेदवार पाठक यसअघिका जिल्ला समितिमा पनि बसरे काम गरेका थिए भने  केसीले युवा संघ हुँदै पार्टीको विभिन्न जिम्मेवारीमा बसेर पनि काम गरेका थिए । त्यसैगरी शर्मासँग पनि अनेमसंघलगायतका संस्थामा काम गरेको लामो अनुभव रहेको छ ।