सामुदायिक शिक्षाको गुणस्तर सुधार्न समयमै पाठ्यपुस्तक उपलब्ध गराउनु, विषयगत दक्ष शिक्षकको व्यवस्थापन गर्नु तथा शिक्षकलाई राजनीतिबाट अलग गरी पेसाप्रति जिम्मेवार बनाउनु जरुरी छ
सामान्य अर्थमा शिक्षा भनेको जन्मदेखि मृत्युसम्म निरन्तर चलिरहने सिकाइ प्रक्रिया हो जुन औपचारिक तथा अनौपचारिक रूपमा ग्रहण गर्न सकिन्छ । शिक्षाले मानवीय अज्ञानता तथा अन्धकार हटाई सुनौलो बिहानीको संकेत गर्छ ।
नेपालमा अधिकांश सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर संस्थागत विद्यालयको तुलनामा कमजोर देखिन्छ । विभिन्न प्रकारका तालिम, सभा, सम्मेलन, अन्तत्र्रिmया, एवं योजना निर्माण आदि गरी सामुदायिक शिक्षाको गुणस्तर उकास्ने प्रयत्न गरिँदै आए पनि यसले व्यवहारमा सार्थकता पाउन सकिरहेको छैन ।
शैक्षिक गुणस्तर उकास्न तथा शैक्षिक उपलब्धि वृद्धि गर्न करोडौँ रकम खर्चेर पनि प्रतिफल भने आस लाग्दो छैन । सरकारी तथ्यांकमै सामुदायिक विद्यालयका विद्यार्थीको सिकाइस्तर कमजोर रहेको सार्वजनिक हुँदै आएको छ । अर्कातर्फ, निजी लगानीमा सञ्चालित विद्यालय छन् । त्यहाँ सरकारी विद्यालयमा जस्तो शिक्षकका सेवा, सुविधा, तालिम, गोष्ठी तथा दक्ष विषयगत शिक्षकको कमी हुन्छ । सरकारी अनुगमन पनि हुँदैन । तैपनि, शैक्षिक गुणस्तर सामुदायिकको भन्दा निकै माथि रहेको विभिन्न आँकडाले जनाउँछ ।
सामुदायिक विद्यालयका शिक्षकले वर्तमान समयमा आफ्नो पेसाप्रति जवाफदेही पनि हुनुपर्छ । सामुदायिक विद्यालयमा बढ्दै गइरहेको राजनीतिक क्रियाकलापलाई निस्तेज पार्नुपर्छ । शिक्षक स्वयं समाजको उदाहरणीय पात्र बन्न सक्नुपर्छ । प्रविधिलाई पछ्याउन सक्नुपर्छ ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको अर्का महŒवपूर्ण पक्ष अभिभावक हुन् । विद्यालयमा आफ्ना बालबालिकालाई पठाइदिँदा मात्र आफ्नो दायित्व पूरा हुन्छ भन्ने महसुस गर्नुहुँदैन । आफ्ना बालबालिकाका लागि उपयुक्त शिक्षण सिकाइ भयो या भएन ? विद्यार्थीको सिकाइ उपलब्धि, समस्या तथा समाधानबारे विद्यालय प्रशासन र शिक्षकसँग छलफल भयो कि भएन ? यी सामान्यजस्ता लाग्ने विषयमा मात्र अभिभावक, विद्यार्थी र शिक्षकले ध्यान दिने हो भने सामुदायिक विद्यालयको गुणस्तर सुधार्न त्यति कठिन छैन ।
शिक्षकहरू राजनीति गर्न नभई अध्यापन गराउने सकारात्मक सोचका साथ शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्न विद्यालय प्रवेश गर्नुपर्छ । कक्षाकोठामा प्रवेश गर्नुपूर्व कुन विषयवस्तु कसरी पढाउने भन्नेबारे पूर्वतयारी गर्नुपर्छ । उपयुक्त शिक्षण विधि र शैक्षिक सामग्रीका साथै पाठयोजना निर्माण गरी पाठ्यक्रमबाट निर्दिष्ट उद्देश्य प्राप्तिका लागि अग्रसर हुनुपर्छ । यसरी शिक्षक सधैँ बालबालिकाको उज्वल भविष्यप्रति सकारात्मक सोच लिएर अघि बढ्नुपर्छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न प्रधानाध्यापक, शिक्षक, अभिभावक, व्यवस्थापन समिति र विद्यार्थी स्वयंसमेत दत्तचित्त भएर लाग्नुपर्छ ।
सामुदायिक विद्यालयको शिक्षा कमजोर हुनुमा ग्रामीण भेगमा समयमै पाठ्यपुस्तक उपलब्ध नहुनु, विषयगत तथा तहगत शिक्षकको अभाव हुनु, पर्याप्त मात्रामा आवश्यक शैक्षिक सामग्री नहुनु, विद्यालयमा चरम राजनीति हाबी हुनु, शिक्षकहरू पठनपाठनमा भन्दा राजनीतिक गतिविधिमा बढी संलग्न हुनु, सरकारी संयन्त्रबाट कमजोर मूल्यांकन, अनुगमन र कारबाही हुनुजस्ता विषयले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा असर पुर्याइरहेको छ ।
राज्यले सामुदायिक विद्यालयमा गरेको लगानीको प्रतिफलका लागि सबै भूभागमा समयमै पाठ्यपुस्तकको उपलब्धता गराउने, विषयगत दक्ष शिक्षकको पदपूर्ति तथा व्यवस्थापन गर्ने, सिकाइ उपलब्धि वृद्धि गर्न शिक्षकलाई पुरस्कार तथा कमजोर हुनेलाई तालिम दिएर सुधारको अवसर दिने, शिक्षकलाई राजनीतिबाट अलग गरी शिक्षण पेसाप्रति जिम्मेवार बनाउनुका साथै बाल मनोविज्ञानअनुरूप शिक्षण गर्न सके केही हदसम्म सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न सकिन्छ ।
राज्यको शिक्षा देश निर्माणको जग भएकाले सामुदायिक शिक्षा प्रणालीमा आमूल परिवर्तन गर्नु जरुरी छ । परम्परागत शिक्षण ढाँचालाई त्याग्दै समयसापेक्ष राज्यको आवश्यकता र समयको मागअनुरूपको जनशक्ति उत्पादन गर्ने शिक्षा लागू गर्नुुको विकल्प छैन । सम्पूर्ण संयन्त्रबीच आवश्यक समन्वय तथा सकारात्मक पहलकदमी भएमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमाथि प्रश्न उठ्ने ठाउँ रहँदैन ।