मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ पौष २० मंगलबार
  • Friday, 14 August, 2026
कमल खत्री म्याग्दी
२o७८ पौष २० मंगलबार १२:१५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रघुगंगा गाउँपालिकाका सबै वडा बालश्रममुक्त घोषणा

Read Time : < 1 मिनेट
कमल खत्री, म्याग्दी
नयाँ पत्रिका
२o७८ पौष २० मंगलबार १२:१५:oo

म्याग्दीको रघुगंगा गाउँपालिकाका सबै वडालाई बालश्रममुक्त वडा घोषणा गरिएको छ। स्थानीय जनप्रतिनिधि, शिक्षक, आमा समूह, युवा क्लबलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले गाउँपालिकाका वडा १ देखि ८ सम्म बालबालिकाहरलाई बालश्रममा प्रयोग नगर्ने प्रतिबद्धता जनाएर बालश्रममुक्त वडा घोषणा गरेका हुन्।

गाउँपालिकाले बालश्रममुक्त स्थानीय तह घोषणासम्बन्धी कार्यविधि, २०७७ कोे व्यवस्थाअनुसार गाउँपालिकालाई बालश्रममुक्त पालिका बनाउने अभियान सञ्चालन गरेको थियो। गाउँपालिकामा रहेका आठवटै वडा बालश्रममुक्त घोषणा भएसँगै गाउँपालिका बालश्रममुक्त बनेको र निकट भविष्यमा औपचारिक कार्यक्रम गरी पालिकालाई बालश्रममुक्त घोषणा गरिने प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए।

रघुगंगाको ११औँ गाउँसभाले समेत कार्यपालिका बैठकको सिफारिसबमोजिम गाउँपालिकालाई बालश्रममुक्त पालिका घोषणा गर्ने निर्णय गरिसकेको छ। गाउँपालिकाभित्रका ११ सय घरधुरीमा गरिएको सर्वेक्षणमा कुनै पनि बालबालिकाहरू बालश्रममा नरहेको, तर एक सय ५० बालबालिका बालश्रमको जोखिममा रहेको पाइएको थियो। अभियानको क्रममा जोखिममा रहेका बालबालिकाहरूलाई झोला, पोसाक र शैक्षिक सामग्री सहयोग गर्ने गरिएको र उनीहरूका अभिभावकहरूलाई दिगो रोजगारीतर्फ प्रेरित गर्न सीपमूलक तालिम सञ्चालन गर्ने तयारी गरिएको गाउँपालिकाले जनाएको छ।

बालश्रममा कोही पनि बालबालिका नहरेको आधार तयार भएपछि वडा समितिको सिफारिसमा वडा र कार्यपालिकाको सिफारिसमा गाउँसभामार्फत पालिकालाई बालश्रमुक्त घोषणा गर्न सकिने प्रावधानअनुसार सबै वडाहरूलाई बालश्रममुक्त घोषणा गरिएको गाउँपालिकाको महिला तथा बालबालिका शाखाकी प्रमुख सावित्रा सुवेदीले जानकारी दिइन्।
 
गाउँपालिकाले बालश्रम सामाजिक अपराध भएको र बालबालिकाहरूलाई कडा परिश्रम र कानुनले बन्देज लगाएको काममा लगाउन नहुने सन्देशसहितको चेतनामूलक ब्रोसर र होडिङ बोर्डहरूमार्फतसमेत सचेतना जगाउने काम गरेको जनाएको छ।