मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२०७८ पौष १५ बिहीबार ०९:५९:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

हिमपातले तातोपानी आउने कन्टेनर खासामै रोकिए

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
२०७८ पौष १५ बिहीबार ०९:५९:००

हिमपातका कारण तातोपानी आउने कन्टेनर खासामै रोकिएका छन् । खासामा केही दिनदेखि बाक्लाे हिउँ परिरहेको छ । मंगलबार रातिदेखि अझ भारी मात्रामा हिउँ परेकोले तातोपानी भन्सारका लागि आउने कन्टेनर खासा क्षेत्रमै रोकिएका छन् । न्यालममा रोकिएका तिब्बत सिल्क र मुसा ट्रान्सपोर्टका ४० फुटे टेलर केही समय खासा क्षेत्रमा आउन सक्ने अवस्था छैन ।

बाक्लो हिउँले सडक भरिएकोले एक सय २० सिबिएमसम्म गह्रुँगो भारी बोकेका टेलर न्यालममै रोकिएका छन् । खासा भ्यान पार्किङमा रोकिएका कन्टेनर पनि हिउँले आधा छोपिएका छन् । बाक्लो हिउँमा टेलर गुडाउँदा चिप्लिएर दुर्घटना हुने खतरा हुन्छ । 

खुला टेलरमा लोड गरिएका स्याउ हिउँले छोपिँदा कुहिन थालेका छन् । थप केही दिन हिउँ र वर्षा हुने सम्भावना रहेकोले नेपालका लागि लोड गरिएका सयौँ टन स्याउ कुहिने निश्चित भएको छ । 

सोमबार लार्चा भन्सारमा आएका स्याउ कुहिएको भेटिएको तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृत नारद गौतमले बताए । खासा, न्यालम, केरुङ र बिम्बु क्षेत्रमा रोकिएका स्याउ हिउँले पुरेको चिनियाँ अधिकारीको भनाइ उद्धृत गर्दै गौतमले बताए । ‘पारि खासामा हिउँ परिरहेकोले केही दिन कन्टेनर तल नआउने जानकारी चिनियाँ अधिकारीले दिएका छन्,’ उनले भने । 

कन्टेनरको संख्या बढेन
गत महिना ल्हासास्थित नेपाली महावाणिज्य दूतावासमा नेपाल र चीनका अधिकारीबीच कार्गो बढाउने विषयमा बैठक भएको थियो । नेपाली व्यापारीले किनेका करोडौँ मूल्यका सामान लामो समयदेखि चिनियाँ क्षेत्रमा अड्किनुको प्रमुख कारण न्यून निर्यात थियो । तातोपानीबाट दैनिक १० र रसुवाबाट नौ गाडी मात्रै आयात हुँदा चिनियाँ क्षेत्रमा पालो कुरेर बसेका गाडी तीन महिनासम्म रोकिए । यसको हल गर्न भनी बसेको ल्हासा बैठकको सहमति आजसम्म कार्यान्वयमा आएको छैन । 

दुवै नाकाबाट २०–२० कन्टेनर सामान छोड्ने सहमति व्यवहारमा कार्यान्वयन भएको छैन । गौतमका अनुसार तातोपानीबाट दैनिक बढीमा १३ कन्टेनर मितेरीपुल कटेका छन् । ‘अहिले त दैनिक १० कन्टेनर मात्रै आइरहेका छन्,’ उनले भने ।

चिनियाँ अधिकारीले योभन्दा बढी कन्टेनर नेपाल पठाउन नसकिने बताएको उनले स्पष्ट पारे । ठाउँको अभाव, कोरोना महामारी र मौसम प्रतिकूलताको कारण देखाउँदै चिनियाँ पक्षले कार्गोको आयात तत्कालका लागि नबढाउने बताएका छन् ।