प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टिम एपिएफ क्लबले उचालेको छ । धनगढीको फाप्ला क्रिकेट मैदानमा आइतबार दिउँसो प्रदेश १ को टिमलाई सात विकेटले स्तब्ध पार्दै एपिएफले पाँच लाख नगदसहित उपाधिमाथि कब्जा जमाएको हो । प्रदेश १ ले दिएको ६८ रनको सामान्य लक्ष्य एपिएफले १४ दशमलव दुई ओभरमा तीन विकेटको क्षतिमा पूरा गर्यो ।
एपिएफले टस जितेर पहिले फिल्डिङ रोजेपछि प्रदेश १ ले ब्याटिङ गर्दै २० ओभरमा ६ विकेटको क्षतिमा ६७ रन बनायो । प्रदेश १ का लागि कप्तान रुविना क्षेत्रीले ३४ र अप्सरी बेगमले ११ रन बनाइन् । खराब ब्याटिङ गरेको प्रदेश १ का अन्य खेलाडीले दोहोरो रन अंक जोड्न सकेनन् । एपिएफका सीता रानामगरले तीन र रेखा रावलले दुई विकेट लिइन् ।
एपिएफले ६८ रनको विजय लक्ष्य पछ्याउने क्रममा १४ दशमलव दुई ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो । एपिएफका ओपनर ज्योति पाण्डेयले अविजित ३७ रन बनाइन् । ममता चौधरीले १७ रन थपिन् । सात रनमा दुई विकेट गुमाएर दबाबमा आएको एपिएफलाई ज्योति र ममताले जितसम्म डोर्याएकी हुन् । प्रदेश १ का लागि कप्तान रुविना क्षेत्रीले तीन विकेट लिइन् । उपविजेतामा चित्त बुझाएको प्रदेश १ ले तीन लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ ।
एपिएफले उपाधि कब्जा गर्दा प्रतियोगिताका विधागत पुरस्कारमा भने प्रदेश १ का खेलाडीको वर्चस्व रह्यो । प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्स वुमन र उत्कृष्ट बलर गरी तीनवटै विधामा प्रदेश १ ले बाजी मारेको छ । प्रदेश १ की कप्तान रुविना क्षेत्री प्रतियोगिताकै उत्कृष्ट खेलाडी भइन् । उनले नगद २५ हजार पुरस्कार प्राप्त गरिन् । क्षेत्रीले प्रतियोगितामा पाँच खेल खेल्दा ७६ रनको अर्धशतकीय इनिङसहित १५७ रन बनाएकी थिइन् ।
प्रदेश १ कै अप्सरी बेगम उत्कृष्ट ब्याट्स वुमन भइन् । उनले प्रतियोगितामा १७६ रन बनाएकी थिइन् । प्रतियोगितामा दोहोरो अर्धशतकीय इनिङ खेल्ने उनी एक्ली खेलाडी हुन् । प्रदेश १ कै अलिसा खाडिया उत्कृष्ट बलर भइन् । उनले प्रतियोगिताका पाँच खेलमा नौ विकेट लिइन् । नेपाल क्रिकेट संघको आयोजनामा भएको प्रतियोगितामा सात प्रदेशका सात टिम र विभागीय टिम एपिएफ क्लबको सहभागिता थियो ।
नवलपुर नौ विकेटले विजयी
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी हुने गण्डकी प्रदेशको पुरुष टोली छनोट खेलमा नवलपुर विजयी भएको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा भएको खेलमा नवलपुरले तनहुँलाई नौ विकेटको पराजित गरेको हो ।खेलमा टस जितेर पहिला ब्याटिङ गरेको तनहुँले २२.२ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ६३ रनमा सीमित हुन पुगेको थियो । ६४ रनको लक्ष्यसहित मैदान उत्रेको नवलपुरले ९.२ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।
नवलपुरका लागि गोविन्द विकले पाँच चौकासहित अभिजित ३० रनको योगफल तयार गर्दा टोलीका अर्का खेलाडी रविन तिमिल्सिनाले २९ रन जोडेका थिए । तनहुँका लागि प्रशान्त सिंहले २० र समीर कँडेलले १६ रन जोडेका थिए । खेलका म्यान अफ द म्याच घोषित नवलपुरका विशाल पौडेलले तीन विकेट लिँदा निश्चल भुसाल, रिजन काफ्ले र कमल परियारले समान दुई–दुई विकेट लिए । तनहुँका प्रदीप अर्यालले एक विकेट लिएका थिए । प्रतियोगितामा कास्की, नवलपुर, तनहुँ र स्याङ्जा गरी चार टोलीको सहभागिता रहेको छ । प्रतियोगिताअन्तर्गत सोमबार कास्की र स्याङ्जाबीच खेल हुनेछ ।