मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष ११ आइतबार
  • Monday, 16 December, 2024
मञ्जु टेलर काठमाडौं
२o७८ पौष ११ आइतबार o७:४३:oo
Read Time : > 2 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

डेल्टाभन्दा ओमिक्रोन कम गम्भीर रहेको पुष्टि

Read Time : > 2 मिनेट
मञ्जु टेलर, काठमाडौं
नयाँ पत्रिका
२o७८ पौष ११ आइतबार o७:४३:oo

 युरोप र अमेरिकामा बालबालिकामा ओमिक्रोन संक्रमण बढ्यो

नेपालमा १० वर्षमुनिका बालबालिकाको दैनिक कोभिड संक्रमणदर १० जनाभन्दा कम छ । त्यस्तै, १० देखि २० वर्ष उमेरसमूहमा दैनिक संक्रमणदर २० जनाको हाराहारीमा छ । पछिल्लो केही महिनायता बालबालिका संक्रमणदर स्थिर रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

विश्वभर ओमिक्रोन संक्रमित बढेसँगै अर्को लहरको जोखिम बढेको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गर्दै आएका छन् । ओमिक्रोनसँगै डेल्टा संक्रमण पनि देखिएका कारण मृत्युदर फेरि बढ्न सक्ने भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका हुन् ।

ओमिक्रोनबाट बालबालिकासमेत प्रभावित हुन थालेपछि संक्रमणले थप जोखिम बढाएको विज्ञहरूले बताएका छन् । उनीहरूका अनुसार अमेरिकाको टेनसी र अफ्रिकाका केही देशमा संक्रमित बालबालिकाको अस्पताल भर्नादर बढ्दै गएको छ । टेनसीमा बिहीबार एकै दिन अस्पताल भर्ना भएका तीन सय १७ कोभिड संक्रमितमध्ये ८४ जना बालबालिका थिए । संक्रमितमध्ये केही बालबालिकामा गम्भीर लक्षणसमेत छ । अस्पतालमा बालबालिकाको भर्नादर बढेकाले अझै केही साता चिन्ताजनक रहेको लेबोनहेर बाल अस्पतालका मेडिकल निर्देशक डा. निक हाइस्मिथले बताए । उनले भनेका छन्, ‘गर्मीपछि अधिकांश बाल अस्पतालमा संक्रमित बालबालिको संख्या बढ्दै गइरहेको छ । ओमिक्रोनले पारेको प्रभाव यकिन नभए पनि वयस्क र बालबालिकामा बढ्दो संक्रमणले चिन्ता बढाउँदै लगेको छ ।’ 

पछिल्लो समय युरोप, अमेरिका र अफ्रिकामा ओमिक्रोन भेरियन्ट संक्रमण चिन्ताको प्रमुख कारण बनेको छ । ओमिक्रोनले यहाँ पाँच वर्षमुनिका बालबालिका अस्पताल भर्नादर निकै बढाएको छ । अस्पताल भर्ना हुने बालबालिकामा फ्लु, डेल्टा र ओमिक्रोन संक्रमण देखिएको अस्पतालहरूले जनाएका छन् । 

नेपालमा संक्रमणदरमा फेरबदल छैन : डा. कर्ण 
नेपालका बालबालिकामा भने संक्रमणदरमा कुनै फेरबदल नदेखिएको चिकित्सकहरूले बताएका छन् । बालबालिकामा मात्रै होइन, वयस्कहरूमा पनि कोभिड संक्रमणदरमा खासै परविर्तन नदेखिएको बालरोग विशेषज्ञ डा. विमल कर्णले बताएका छन् । उनका अनुसार हालसम्म नेपालमा ओमिक्रोनका संक्रमित पनि थपिएका छैनन् । यसकारण तत्काल बालबालिकामा संक्रमणको जोखिमबारे आकलन गर्न नसकिने उनी बताउँछन् । उनी भन्छन्, ‘नयाँ भेरियन्टका संक्रमित नदेखिएकाले ढुक्क हुने अवस्था भने छैन । जाडो महिनामा फ्लुको जोखिम अत्यधिक हुने र अन्यको तुलनामा बालबालिकाको स्वास्थ्य बढी संवेदनशील हुने भएकाले अहिलेदेखि सजग हुन आवश्यक छ ।’ 

नेपालमा १० वर्षमुनिका बालबालिकाको दैनिक कोभिड संक्रमणदर १० जनाभन्दा कम छ । यस्तै, १० देखि २० वर्ष उमेरसमूहमा दैनिक संक्रमणदर २० जनाको हाराहारीमा छ । पछिल्लो केही महिनायता बालबालिका संक्रमणदर स्थिर रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

ओमिक्रोन सामान्य : अध्ययन
अस्पताल भर्नादरका आधारमा डेल्टाको तुलनामा ओमिक्रोन भेरियन्ट सामान्य रहेको अध्ययनले पुष्टि गरेको छ । बेलायत र दक्षिण अफ्रिकामा हालै गरिएको अध्ययनले ओमिक्रोन भेरियन्ट कम गम्भीर रहेको पुष्टि गरेको हो । 

सेन्टर फर इन्फेक्सियस डिजिज मोडलिङ र इम्पेरियल कलेज लन्डनले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को सहयोगमा गरेको विश्लेषणले डेल्टाको तुलनामा ओमिक्रोनका बिरामी अस्पताल भर्नादर २० प्रतिशत कम भएको र अस्पताल बसाइ ४० प्रतिशत घटेको जनाएको छ । 

यसबाहेक दोस्रोपटक संक्रमित भएका बिरामीहरूमा समेत ५० देखि ६० प्रतिशत अस्पताल भर्नादर कम रहेको अध्ययनले देखाएको छ । बेलायतमा डिसेम्बरको पहिलो दुई सातामा संक्रमित भएका ओमिक्रोनका ५६ हजार र डेल्टाका दुई लाख ६९ हजार बिरामीमा गरिएको सर्वेक्षणले ओमिक्रोन संक्रमण सामान्य देखिएको पुष्टि गरेको हो । 

ओमिक्रोनबाट हालसम्म २६ जनाको मृत्यु
दक्षिण अफ्रिकाको नेसनल इन्स्टिच्युट फर कम्युनिकेबल डिजिजका अन्वेषकहरूले गरेको दोस्रो अध्ययनले २९ हजार संक्रमितमा सर्वेक्षण गरेका थिए । सर्वेक्षणले ओमिक्रोन संक्रमणबारे विभिन्न तथ्य बाहिर ल्याएको छ । उक्त अध्ययनले डेल्टा भेरियन्टको तुलनामा गम्भीर रोगको सम्भावना लगभग ७० प्रतिशत कम देखाएको छ । 

उच्च संक्रामक देखिएको ओमिक्रोन भेरियन्ट कम गम्भीर रहेको तथ्यले अर्को महामारीको जोखिम घटाएको विज्ञहरूले टिप्पणी गरेका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म एक सय आठ देशमा ओमिक्रोन भेरियन्ट फैलिएको छ । ओमिक्रोन संक्रमितको संख्या डेढ लाख नाघेको र हालसम्म २६ जनाको मृत्यु भएको जनाइएको छ ।