सनराइज बैंकले भिसा ब्रान्डअन्तर्गत सहकारी संस्थाका ग्राहकका लागि को–ब्रान्डेड डेबिट कार्ड जारी गर्ने भएको छ । बैंकले पायोनियर एसोसिएट्स प्रालि (कोसिस सहकारी सफ्टवेयर), आइमार्क प्रालि तथा नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स)सँगको सहकार्यमा यो सेवा सुरु गरिएको हो ।
पहिलो चरणमा कार्ड जारी गर्नका लागी विभिन्न चार सहकारी संस्थासँग सम्झौता गरिसकेको बैंकले जनाएको छ । यसका लागि प्राविधिक सेवाप्रदायकको सहकार्यमा सिस्टम तयार गरी परीक्षणसमेत भइसकेकोे जनाइएको छ ।
नेपाल राष्ट्र बैंकले चालू आवको मौद्रिक नीतिमा सहकारीका ग्राहकलाई समेत विद्युतीय भुक्तानी सेवा पु¥याउन प्रोत्साहन गरिने उल्लेख गरेको थियो । बैंकले केन्द्रीय बैंकको त्यही योजनालाई सहयोग गरेको जनाएको छ । भिसा ब्रान्डअन्तर्गत सहकारी संस्थाका ग्राहकलाई भिसा डेबिट कार्ड जारी गर्ने यो परियोजना समग्र दक्षिण एसियामा नै पहिलो अभ्यास भएको दाबी गरिएको छ । त्यसैले भुक्तानी कार्डको क्षेत्रमा यस परियोजनाले नेपाल मात्र नभई समग्र दक्षिण एसियाकै मार्गदर्शन गर्ने बैंकले विश्वास व्यक्त गरेको छ ।
यस परियोजनाअन्तर्गत जारी हुने कार्डमार्फत हुने कारोबारका लागि बैंकले मुख्यतः सेटलमेन्ट बैंकको भूमिका निर्वाह गर्ने जनाएको छ । यसका अतिरिक्त कार्ड जारी गर्नका लागि सम्बन्धित कार्ड स्किम (भिसा इन्टरनेसलन)सँग आवश्यक पहल गरी बैंक आइडेन्टिफिकेसन नम्बर उपलब्ध गराउने तथा कार्ड पर्सनलाइजेसन गर्ने कार्यसमेत गर्ने बैंकले उल्लेख गरेको छ ।
यस परियोजनाअन्तर्गत जारी हुने कार्डका लागि नेप्सले स्विचिङ सेवा प्रदान गर्नेछ । कुनै पनि सहकारीलाई यस परियोजनामा सामेल गराउनुपूर्व बैंकले भरपर्दो तेस्रो पक्षमार्फत सम्पत्ति र दायित्व मूल्यांकन गर्ने जनाएको छ ।