१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १२ शनिबार
  • Saturday, 25 May, 2024
अनुराग माइनस बर्मा
२o८१ जेठ १२ शनिबार o९:३२:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

के ‘दलित’ दरिद्रताको पर्याय हो ? 

Read Time : > 2 मिनेट
अनुराग माइनस बर्मा
नयाँ पत्रिका
२o८१ जेठ १२ शनिबार o९:३२:oo

दलित पत्रिकाको पाँचौँ पृष्ठको सानो समाचारमा अट्ने कुनै अर्कै ग्रहबाट अवतरण गरेका मानिस होइनन्


जब कुनै ठाउँमा ‘दलित’ शब्द बोलिन्छ वा लेखिन्छ, तब एक विशेष छवि हाम्रो मानसपटलमा ठोक्किन पुग्छ । अर्थात् गाउँ–देहाततिर बस्ने, कुपोषित, अर्धनग्न व्यक्ति र यो छवि विशेषतः सामाजिक सञ्जालमा बढी देख्न सकिन्छ ।  

तर, तपाईंलाई कसैले दलित वास्तवमा सहरी जस्तै स्मार्ट र आकर्षक देखिन्छन् भन्दिए भने के भन्नुहुन्छ ? अधिकांश भारतीयले यो भनाइ नै स्विकार्दैनन् । केही माथिल्ला जातका मानिस क्रुद्ध पनि हुन्छन् र ‘यदि उनीहरू सुकिलामुकिला लुगा लगाउँछन् र पार्टी गर्छन् भने यो सब उत्पीडनको बकवास केका लागि ?’ भनेर माथिको भनाइको अवज्ञा गर्नसमेत पछि पर्दैनन् । वास्तवमा यही सोच समस्या हो ।

दलित पत्रिकाको पाँचौँ पृष्ठको सानो समाचारमा अट्ने कुनै अर्कै ग्रहबाट अवतरण गरेका मानिस होइनन् । न त दलित कुनै सुदूर गाउँको कुनामा बस्ने मानिस मात्र हुन् । जहाँ वेलावेलामा नेताहरू आफ्नै खाना र पानी बोकेर ‘फोटाका निम्ति सहभोज’को प्रहसन गर्छन् । दलित तपाईंकै वरिपरि छन्, अर्थात् कुनै कलेजको फेसन प्रतियोगितामा भाग लिइरहेका छन् वा म्याकडोनाल्डमा बर्गरको मजा लिइरहेका छन् वा कुनै पबमा ह्विस्कीको चुस्की लिइरहेका छन् ।    

वास्तवमा दलित आन्दोलनले दलित शब्द सतहमा आउँदा मानिसका मानसपटलमा आउने छविलाई बदल्नु आवश्यक छ । दलितलाई पनि मूलधारको छविमा समावेश गर्नु आवश्यक छ । कुनै दलित नाइटक्लबमा डिजे स्नेकका गीतमा बियर हातमा लिएर नाचेको दृश्यलाई अनौठो मान्नु भएन । तर, उत्पीडनका छविहरू मसिहा नै बन्न खोज्ने प्राज्ञ एवं चलचित्रकर्मीका प्रिय तस्बिर हुन् । विषयवस्तुलाई सूक्ष्म रूपमा हेर्नु र केलाउनुको साटो यी मसिहाहरू ‘सहानुभूतिको कथा बेच्न’ उद्यत् रहन्छन् ।      

पूर्ण रूपमा तुलना गर्न वाञ्छनीय नभए पनि अमेरिकालाई लिने हो भने स्थिति भिन्न छ । अमेरिकामा शताब्दीयौँदेखि उत्पीडन झेलिरहेका भए पनि काला जातिका मानिसलाई सधैँ निमुखा र निर्धो देखाइँदैन । वास्तवमा काला जातिका मानिसको संस्कृति अमेरिकी पप संस्कृतिको अभिन्न अंग हो र उनीहरू त संगीत, फेसन, नृत्य, सिनेमालगायत क्षेत्रका ट्रेन्डसेटर्स नै बनेका छन् । मूलधारको काल्पनिकीमा उनीहरूको पकड बलियो छ र भन्ने हो भने उनीहरूको तौरतरिकालाई विश्वभर नक्कलसमेत गरिन्छ । भारतमा अवस्था ठीक विपरीत छ । यहाँ मूलधारका चलचित्रमा दलितलाई हेर्ने दृष्टिकोण नै हेयको छ ।

चर्चित चलचित्र लगानलाई नै हेरौँ । चलचित्रमा ‘फोहोरको डुंगुर’ अर्थ दिने नाम भएको दलित पात्र ‘कच्रा’ रहेको छ । लेखक हरिस वाङ्खडे भारतीय सिनेमामा दलित प्रतिनिधित्वबारे यस्तो लेख्छन् : ‘दलित एक व्यक्तिका रूपमा एक सभ्य मानिसका लागि बनाइएको काल्पनिकीभन्दा धेरै टाढा रहेको छ । दलित चरित्रलाई थोरै लुगा लगाउने आदिम (मृगया सन् १९७७), कालो वर्णको र रंग उडेको (दामुल सन् १९८५), पितृसत्तात्मक र जँड्याहा (अंकुर सन् १९७४), भ्रष्ट र अनैतिक (पिप्ली लाइभ सन् २०१०) चरित्रका रूपमा चित्रित गरिएको हुन्छ । सुखी, खुसी र सामान्य जीवनयापन गरिरहेको दलितलाई बिरलै चलचित्रमा देखाइन्छ ।’
के ‘दलित’ शब्द दुर्भाग्य एवं दयनीयताको पर्याय बनेको हो त ? हालैको एक अध्ययनअनुसार सहरमा हुनेखाने दलितको संख्या बढ्दै गएको देखिन्छ । चिकित्सा, सरकारी वा निजी क्षेत्रका जागिरबाहेक दलितहरू साहित्य, चलचित्र निर्माण र व्यवसायसमेत गरिरहेका छन् । म आफैँ दलित समुदायको एक लेखक एवं चलचित्रकर्मी हो ।

यति लेख्दै गर्दा दलितको निराशाजनक तस्बिरको यथार्थलाई अस्वीकार गरेको भने होइन । यहाँनेर बहस एक किसिमको छवि एवं काल्पनिकीको वर्चस्वमाथि हो, जहाँ निराशाजनक अवस्थाबाहेकका छविलाई ‘अन्य’को दर्जामा झारिन्छ । संकथनको यो प्रभुत्वले एक समुदायको ‘अन्यकरण’ हुन जान्छ । यही कारणले सहरी क्षेत्रका दलितले आफ्नो पहिचान खुलाउँदा ‘तिमी त दलितजस्तो देखिन्नौ नि ?’ भन्ने प्रश्न झेल्न पुग्छन् । यो समाजमा खुसी र सुखी आत्मसम्मानयुक्त दलित हुनुको केही अर्थ छ र ?

दूरदर्शी एवं महान् नेता अम्बेडकर दलितलाई दरिद्र एवं दयनीय देखाउने छविको विनिर्माण गर्न चाहन्थे । त्यसकारणले पनि उनले सुट–प्यान्ट पहरिने गरेका थिए । उनको तस्बिरले एक आत्मसम्मानयुक्त बौद्धिक व्यक्तिको छवि प्रस्तुत गथ्र्यो अर्थात् दलित कस्तो देखिनुपर्छ भन्ने अवधारणालाई नै चुनौती दिन्थ्यो । अम्बेडकरका मूर्तिहरूले पनि ठूलो प्रतीकात्मक अर्थ बोकेका छन् । ‘उनका मूर्तिका सामान्य प्रतीकात्मक विशेषताहरू सुट–प्यान्ट, टाई र अगाडिको खल्तीमा राखिएको कलम हुन् र यी विशेषताले उच्च शिक्षा र राजनीतिमा अम्बेडकरको उत्कृष्टतालाई झल्काउँछ । मूर्तिहरूमा उठेको हातले उनको अथक संघर्ष र राष्ट्रिय नेताको छवि झल्काउँछ र उनको हातमा रहेको संविधानले संविधान समितिको अध्यक्षका रूपमा उनको योगदानलाई उजागर गर्छ,’ मानवशास्त्री निकोलस जौल लेख्छन् ।

हरेक छविले प्रतीकात्मक अर्थ राख्छ । छवि निर्माणको राजनीतिलाई परिवर्तन गर्न दलित आफैँ अघि सर्नुपर्छ, ताकि उनीहरू कुनै अरचनात्मक छवि निर्माताको भर पर्नु नपरोस् । दलित युवाहरू आफूलाई बदलिँदो समयका बौद्धिक र इन्स्टाग्राम प्रयोगकर्ताका रूपमा प्रस्तुत गर्न सक्छन् । यसो गर्दा एक दलितले भविष्यमा ‘म दलित हुँ र मलाई सप्ताहान्तमा पबमा पार्टी गर्न मन पर्छ’ भनेर छाती फुलाउन सकोस् ।  द प्रिन्टबाट 

ad
ad