चितवन माडी नगरपालिकास्थित बाँदरझुलाका सुकुमबासी समुदायले काठमाडौंमा आन्दोलन सुरु गरेका छन्। आइतबार बाँदरझुला संघर्ष समितिले काठमाडौंको माइतीघरमा लालपुर्जा प्राप्तिका लागि आन्दोलन सुरु गरेकाे हाे। उनीहरूले ‘बाँदरझुला मानवीय बस्ती र निकुञ्जको जग्गाको सीमांकन गर’, ‘हाम्रो भूमिको लालपुर्जा दे’, ‘हामीहरू घर खोजिरहेका छौँ’ जस्ता नारा लेखेका प्लेकार्ड प्रदर्शन गरेका छन्।
बाँदरझुला संघर्ष समितिकी संयोजक शारदा आचार्यले चितवन राष्ट्रिय निकुञ्ज र नगरपालिकाले ज्यादती गरेको र न्यायका लागि काठमाडौंकेन्द्रित आन्दोलन गर्नुपरेको बताइन् । नगरपालिका तथा निकुञ्जमा लालपुर्जाको माग गर्दै पटकपटक आन्दोलन गरे पनि माग पूरा नभएको आचार्यले बताइन्। आफ्नै जग्गाको लालपुर्जा प्राप्त गर्न पनि काठमाडौं आएर आन्दोलन गर्नुपरेको भन्दै उनले अब अन्तिम लडाइँ लड्ने बताइन्। सुकुमबासी जनताको अधिकारमाथि नै राजनीति भएको भन्दै लालपुर्जा प्राप्तिका लागि निरन्तर आन्दोलन जारी राख्ने उनले बताइन्।
‘बाँदरझुलाका सुकुमबासी जनताकाे बाँच्न पाउनुपर्ने अधिकार रहेको छ। बस्तीमा आगो लगाउने विगत आठ वर्षदेखि घुरी कर बुझाएको प्रमाण हामीसँग छ। अनि कसरी निकुञ्जको जग्गा हुन्छ ? यो विषयमा नगरपालिकाले पनि न्याय दिन सकेन। माओवादीका अध्यक्ष प्रचण्ड तीनपटक बस्तीमा पुग्नुभयो, तर बाँदरझुलाका जनताले लालपुर्जा पाएनन्। नेताहरूलाई जनताको समस्याभन्दा पनि भोट चाहिएको छ। अब यहाँका जनताले केही गर्न नजाने पनि भोट दिन जानेका छौँ । हामी भोट दिने वेलामा हेर्छौँ । हामीले जग्गाको लालपुर्जा नपाएसम्म यो नालायक सरकार चाहिँदैन । लालपुर्जा नदिएसम्म कसैलाई भोट दिँदैनौँ । सुकुमबासी नपढेको जनता भनेर हेपियो । तर, अब हामी कसैले राजनीतीकरण गर्न खोजे पनि रोकिनेछैनौँ। आफ्नो अधिकार माग गर्न आउनलाई समेत रोकियो। जति आएका छौँ, त्यतिले निरन्तर रूपमा आन्दोलन गर्छौँ,’ उनले भनिन्।