मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष ३ शनिबार
  • Monday, 16 December, 2024
२o७८ पौष ३ शनिबार १६:४९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

पर्यटन प्रवर्द्धन गर्न साइकल यात्रा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ पौष ३ शनिबार १६:४९:oo

नेपाल र भारतका ८७ साइकल यात्री कैलालीदेखि डोटीसम्मको साइकल यात्रामा निस्केका छन्। शनिबार बिहान धनगढीबाट निस्केका उनीहरुले कैलाली र डोटीका पर्यटकीय स्थल हुँदै डोटीको बुडर पुगेर तीन दिनमा यात्रा समापन गर्नेछन्।

सुदूरपश्चिमको पर्यटकीय संभावनालाई उजागर गर्ने र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले सुदूरपश्चिम प्रदेश सरकारले साइकल यात्रा आयोजना गरेको हो। ‘सुदूरपश्चिम पर्यटन साइकल यात्रा २०७८’ नाम दिइएको साइकल यात्रामा धनगढीका साथै काठमाडौं, बुटवल, नेपालगञ्जलगायतका स्थानबाट साइकल यात्रीहरु सहभागी छन्। यस्तै भारतको नैनिताल, बेरली, बिहानर, गाजियावाद सहरका आठ साइकल यात्रीसमेत साइकल यात्रामा सहभागी रहेका आयोजक प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जानकारी दिएको छ।

कैलालीको गोदावरीसम्म डेढ सय जनाले सहभागिता जनाएका थिए। पहिलो दिन धनगढी–गोदावरी हुँदै साइकल यात्रीहरु पर्यटकीय स्थल खानीडाँडामा बस्ने कार्यक्रम रहेको मन्त्रालयको पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाइ प्रमुख भोजराज पाठकले जानकारी दिए। दोस्रो दिन खानीडाँडाबाट डोटीको बुडरसम्म साइकल यात्रा हुनेछ। अन्तिम दिन बुडरको पर्यटकीय क्षेत्र छहरा झरनामा साइकल यात्रा समापन हुने पाठकले बताए।

करिब ८० किलोमिटर साइकल यात्राका क्रममा बीचबीचमा सुदूरपश्चिमको मौलिक संस्कृति झल्कने सांस्कृतिक कार्यक्रमहरु देखाइनेछ। ‘तराइका थारु समुदायको सांस्कृतिक नृत्य, झाँकी तथा सुदूरपश्चिमको मौलिक पहिचान बोकेको देउडालगायत सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिरहेका छौँ,’ पाठकले भने, ‘यसले संस्कृतिलाई पर्यटनसँग जोड्न मद्दत पुग्ने आशा गरेका छौं।’

यात्राको अन्तिम दिन बुडरमा साइकल रेस प्रतियोगितासमेत गर्ने तयारी छ। पर्यटकीय स्थल छतिवन तालदेखि भीमदत्त राजमार्गसम्म पाँच किलोमिटर दुरीमा गरिने साइकल रेसका विजेतालाई १५ हजार, उपविजेतालाई १० हजार र तेस्रो हुनेलाई पाँच हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ। विभिन्न ठाउँबाट साइकल यात्री सहभागी हुने भएकाले यो साइकल यात्राले यहाँका पर्यटकीय स्थलको प्रचारप्रसारमा मद्दत पुग्ने सरकारको आशा छ।

साइकलमा मुख्यमन्त्री
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले धनगढीमा साइकल यात्रीलाई विदाइ गरे। मुख्यमन्त्री भट्ट धनगढीमा केही समय आफै साइकल चलाएर साइकल यात्रीसँगै साइकल यात्रामा सहभागी भएका थिए। प्रदेशका पर्यटन मन्त्री मानबहादुर धामीले पनि साइकल यात्रामा केहीबेर सहभागिता जनाएका थिए।

पर्यटन प्रवद्र्धनमा साइकल यात्राको महत्वपूर्ण भूमिका रहने उनले बताए। ‘सुदूरपश्चिममा पर्यटकीय संभावना बोकेका थुप्रै स्थलहरु छन्। तिनिहरुको प्रचारप्रसार गर्ने र आवश्यक पूर्वाधार निर्माणमा प्रदेश सरकारले काम गरिरहेको छ,’ मुख्यमन्त्री भट्टले भने, ‘साइकल यात्राले यहाँको पर्यटन विकासमा टेवा पुग्ने विश्वास लिएका छौँ।’ पर्यटकीय स्थलहरुलाई जोडेर सुदूरपश्चिममा व्यवसायीक साइकल यात्राको संभावना रहेको यहाँका पर्यटन व्यवसायीहरुको भनाइ छ।