मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर २४ शुक्रबार
  • Monday, 16 December, 2024
२o७८ मङ्सिर २४ शुक्रबार १२:२७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सीमाका विकट बस्तीलाई जोड्न मोहना नदीमा पुल बन्दै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ मङ्सिर २४ शुक्रबार १२:२७:oo

भारतीय सीमासँग जोडिएको कैलारी गाउँपालिका–३ को विकट गाउँ हौसलपुर जोड्नका लागि मोहना नदीमा झोलुंगे पुल निर्माणको काम थालिएको छ। निर्माण कम्पनीले माटो परीक्षणलगायत प्रारम्भीक काम अगाडि बढाएको छ। नेपालतर्फ आउनुपर्दा नदी तर्न सास्ती खेप्दै आएका स्थानीय पुल निर्माणको काम सुरु भएपछि खुसी भएका छन्।

नदी पारी पर्ने मोहनपुरका बासिन्दा पुल नहुँदा शिक्षा, स्वास्थ्योपचार, किनमेललगायत सबैजसो जीवन व्यवहारमा सीमावर्ती भारतीय बस्तीमा निर्भर छन्। पुल र बाटोको समस्याले नदीवारिका नेपाली बस्तीमा आउन नसक्ने भएपछि त्यहाँका बालबालिका भारतीय विद्यालयमा पढ्दै आएका छन्। नेपालतर्फ आउँदा नदी तर्न डुंगाको प्रयोग गर्नुपर्ने बाध्यता छ। बर्खामा नदीमा पानीको सतह बढ्दा डुंगासमेत चल्दैन।

राज्यबाट उपेक्षित यो गाउँ जोड्ने नदीवारि र पारिको बाटो ग्राभेलसमेत छैन। धुलाम्य बाटो पानी पर्दा हिलोले हिँड्नै नसकिने हुन्छ। गाउँमा नेपालीभन्दा भारतीय रुपैयाँको कारोबार हुन्छ। पुल निर्माण भएपछि नेपालतर्फ ओहोरदोहोर गर्न सहज भएकाले हौसलपुरवासीको भारतीय बस्तीमाथि निर्भरता घट्ने वडा नम्बर–३ का अध्यक्ष कमलप्रसाद चौधरीले बताए। पुल निर्माणसँगै सडक स्तरोन्नतिको काम अगाडि बढाउन पनि पहल भइरहेको उनले बताए।

‘पुल बनेपछि वारि आउन खेप्नुपर्ने सास्ती अन्त्य हुन्छ र भारततिरको निर्भरता पनि धेरै घट्छ।’ अध्यक्ष चौधरीले भने, ‘त्यहाँका बालबालिकाहरू अहिले भारतीय विद्यालयमा पढ्न बाध्य छन्। बाटो र पुल बने भारतीय विद्यालय जानुपर्ने छैन। वारि नेपालकै विद्यालय आउन सहज हुन्छ।’ चौधरी समुदायका २८ घरधुरी रहेको हौसलपुरमा विद्यालय, स्वास्थ्यचौकीलगायत राज्यका कुनै निकायको उपस्थिति छैन। यहाँ विद्युत सेवासमेत गत वर्ष मात्रै विस्तार गरिएको थियो। हौसलपुरका भल्मन्सा टीकाराम चौधरीले पुल बनेमा नेपालतर्फको आवतजावत सहज हुने बताए। उनले पुलको काम जतिसक्दो चाँडो सम्पन्न गर्नुपर्नेमा जोड दिए। नेपालतर्फको आवतजावत सहज भए बालबालिकालाई नेपाली विद्यालयमा पढाउने स्थानीयको भनाइ छ।

नेपाल सरकार र मष्टबाविरो निर्माण सेवाबीच पुल निर्माणको सम्झौता भएको हो। निर्माण कम्पनीका तर्फबाट एलपी इन्जिनियरिङ प्रालिले काम थालेको छ। झोलुंगे पुलको लम्बाइ १६५ मिटर र चौडाइ डेढ मिटर रहने एलपी इन्जिनियरिङ प्रालिका इन्जिनियर विनोद न्यौपानेले जानकारी दिए। केही दिनमै भौतिक निर्माणको काम सुरु गरिने उनले बताए। ‘माटो परीक्षणलगायतको काम सकिँदै छ। केही दिनमै पिलर राख्ने काम सुरु हुन्छ,’ न्यौपानेले भने, ‘तीन महिनाअघि सम्झौता भएको हो। सकभर यसै वर्षभित्र काम सक्ने लक्ष्य छ।’