१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर १४ मंगलबार
  • Friday, 27 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ मङ्सिर १४ मंगलबार o७:१३:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

विमानस्थलबाट  दैनिक २० किलो सुन ‘तस्करी’

विदेशबाट आएका तीन सय ३२ जना एकै दिन १८ किलो सुनसहित पक्राउ 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर १४ मंगलबार o७:१३:oo

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यक्तिगत प्रयोजनका गहनाका नाममा दैनिक करिब २० किलो सुन तस्करी हुने गरेको खुलेको छ । ५० ग्रामसम्म सुनका गहना भन्सार महसुलविना ल्याउन सकिने सुविधाको दुरुपयोग भई ठूलो मात्रामा सुन तस्करी हुँदै आएको हो । भन्सार कार्यालय र प्रहरीले यस्तो तस्करीविरुद्ध सोमबारबाट कारबाही अभियान सुरु गरेको छ ।सोमबार साँझसम्म भन्सार र प्रहरीले तीन सय ३२ जनाले ल्याएको करिब १८ किलो सुन नियन्त्रणमा लिई भन्सार तिर्न लगाएको छ । ५० ग्राम सुनलाई गहनाको आकार दिएर तस्करी हुने गरेको पाइएपछि यस्तो कारबाही थालिएको भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटाले बताए । 

‘५० ग्रामसम्म सुनका गहना भन्सारविना नै ल्याउन सकिने सुविधा छ, त्यसको व्यापक दुरुपयोग भएको पाइएपछि हामीले विमानस्थलमा अप्रेसन चलाएका हौँ,’ उनले भने,‘यात्रुलाई भरियाका रूपमा प्रयोग गरी ठूलो मात्रामा सुन तस्करी हुने गरेको पाइयो ।’ एकैदिन ठूलो मात्रामा यसरी व्यक्तिगत प्रयोजनका नाममा तस्करी हुने गरेको अप्रेसनबाट पुष्टि भएको उनले बताए । यसरी नियन्त्रणमा लिइएकालाई भन्सार कार्यालयले प्रति १० ग्राम नौ हजार पाँच सय रुपैयाँका दरले भन्सार महसुल तिराएको छ । 

५० ग्रामसम्म सुनका गहना भन्सार महसुलविना ल्याउन सकिने सुविधा छ, त्यसको व्यापक दुरुपयोग भएको पाइएपछि हामीले विमानस्थलमा अप्रेसन चलाएका हौँ । यात्रुलाई भरियाका रूपमा प्रयोग गरी ठूलो मात्रामा सुन तस्करी हुने गरेको पाइयो ।

नारायणप्रसाद सापकोटा, महानिर्देशक, भन्सार विभाग

‘साँझ ६ बजेसम्म सुविधाको दुरुपयोग गर्ने तीन सय ३२ जनालाईनियन्त्रणमा लिएर भन्सार तिराइएको छ,’ विमानस्थलस्थित प्रहरी प्रमुख एसएसपी राजेश बाँस्तोलाले भने,‘धेरैले सुनलाई थोरै मात्र पगाली बालाजस्तो बनाएर ल्याउने र यहाँ बिक्री गर्ने प्रवृत्ति पाइयो ।’ यसरी सुन ल्याउँदा भन्सारमा स्वघोषणा गर्नुपर्ने र स्वघोषणा नगरेको अवस्थामा त्यस्ता सामानको भन्सार तिर्नुपर्ने वा जफत हुने प्रावधानसमेत छ । 

अर्थ मन्त्रालयकै निर्देशनमा  भन्सार र प्रहरीले बढाए सक्रियता
अर्थ मन्त्रालयकै निर्देशनमा सुन तस्करीविरुद्ध भन्सार र प्रहरीले सक्रियता बढाएका हुन् । भन्सार कार्यालयले हालै यससम्बन्धी सूचनासमेत जारी गरेको छ । हरेक वर्ष यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने मालवस्तुसम्बन्धी आदेश जारी हुन्छ । जसअनुसार गत १५ जेठमा जारी आदेशअनुसार ५० ग्रामसम्म सुन निःशुल्क ल्याउन पाइने र त्यसभन्दा धेरै दुई सय ग्रामसम्म ल्याउँदा भन्सार तिर्नुपर्ने उल्लेख छ । खासगरी संयुक्त अरब इमिरेट्सबाट फर्किने यात्रुलाई बोकाएर सुन तस्करी हुने गरेको छ । उनीहरूलाई थोरै खर्च दिने र ५० ग्रामसम्म सुन बोकाउने गरिएको छ । त्यस्तो सुन विमानस्थलआसपास संकलन हुने गरेको छ ।