Skip This
एकैसाथ सात सय ५३ पालिकामा माओवादी केन्द्रको सम्मेलन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नेकपा माओवादी केन्द्रको गाउँपालिका अधिवेशनको अवसरमा शनिबार म्याग्दीको मालिका गाउँपालिकामा निकालिएको र्‍यालीमा सहभागी नेता कार्यकर्ताहरु । तस्बिर:रासस
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २६ बुधबार o६:४२:oo
Read Time : > 3 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

एकैसाथ सात सय ५३ पालिकामा माओवादी केन्द्रको सम्मेलन

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार o६:४२:oo

पुसमा राष्ट्रिय सम्मेलन गर्ने कार्यतालिका तय गरेको माओवादी केन्द्रले त्यसैअनुसार शनिबार देशका अधिकांश पालिकामा अधिवेशन सुरु गरेको छ । केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायका अनुसार उत्साहजनक सहभागितामा देशका धेरैजसो पालिकामा अधिवेशन सुरु भएको बताए । उनका अनुसार जिल्ला इन्चार्ज रामप्रसाद बन्जाडे (टंकमणि)को दुर्घटनामा परी मृत्यु भएका कारण रुपन्देहीका पालिकामा भने शनिबार अधिवेशन भएको छैन । 

अधिवेशन सुरु भएका पालिकामा केहीमा सर्वसम्मत नेतृत्व चयन भएका, केहीमा सर्वसम्मतका लागि प्रक्रिया सुरु गरिएको केन्द्रीय कार्यालय सचिव उपाध्यायले बताए । सर्वसम्मत नभए निर्वाचनमार्फत नेतृत्व चयन हुनेछ । ‘अधिकांश पालिकामा अधिवेशन सुरु भएका छन्, कतै सर्वसम्मत नेतृत्व चयन भइसकेको छ, कतै प्रक्रियामा छ,’ सचिव उपाध्यायले भने । 

माओवादी केन्द्रले विभाजित मनोविज्ञान र मानसिकता नराखी एकताबद्ध भएर स्थानीय तहका अधिवेशन सक्न निर्देशन दिएको छ । पहिलोपटक पार्टीमा आन्तरिक निर्वाचनबाट नेतृत्व चुन्न पाउने, तर त्यसका लागि समूहगत नभई व्यक्तिगत रूपमा चुनावमा प्रतिस्पर्धा गर्न पाउने व्यवस्था माओवादी केन्द्रले गरेको छ । 

आगामी ११ देखि १३ पुससम्मका लागि पार्टीको राष्ट्रिय सम्मेलनको मिति तय गरेको माओवादी केन्द्रले कार्यतालिकाअनुसार पहिलो चरणमा ४ मंसिरदेखि वडा तहको सम्मेलन सुरु गरेको थियो । माओवादी केन्द्रले महानगरका वडा समिति ४१ सदस्यीय, उपमहानगरका वडा समिति ३१ सदस्यीय र नगर तथा गाउँपालिकाका वडा समिति २१ सदस्यीय बनाउने र टोल समिति १५ सदस्यीय तथा पार्टी सेल ११ सदस्यीय रहने व्यवस्था विधानमा गरेको छ । साथै, सबै समितिमा अधिवेशनबाट निर्वाचित अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र बाँकी सबै सदस्य रहने व्यवस्था विधानमा छ ।

माओवादी केन्द्रले पार्टीको सेलदेखि केन्द्रसम्मको सम्मेलनका लागि निर्वाचन नियमावली, २०७८ र निर्वाचन आचारसंहिता, २०७८ पारित गरेको छ । साथै, निर्वाचन प्रयोजनका लागि देशभरका ६ हजार सात सय ४३ वडा, सात सय ५३ पालिका र सातवटै प्रदेशमा निर्वाचन समितिसमेत गठन गरेको छ । पार्टीको निर्वाचन आयोगले प्रदेशमा सात सदस्यीय, पालिकामा पाँच सदस्यीय र वडा तहमा तीन सदस्यीय निर्वाचन समिति बनाएको छ । यस्तै, निर्वाचन अनुगमनका लागि केन्द्रीय निर्वाचन आयोगका सदस्यहरूको जिम्मेवारीसमेत बाँडफाँड गरिएको छ । 

वडादेखि केन्द्रसम्मको सम्मेलन सम्पन्न भएपछि करिब तीन लाख कार्यकर्ता विभिन्न तहमा निर्वाचित हुने र आठ हजारभन्दा बढी समिति गठन हुने माओवादी केन्द्रले जनाएको छ । यसपछि आगामी ११ मंसिरमा सम्पूर्ण पालिका र २५ मंसिरमा सातै प्रदेशमा नेतृत्व चयनका लागि सम्मेलन गर्ने कार्यकतालिका माओवादी केन्द्रले बनाएको छ । माओवादीले त्यसका लागि करिब आठ लाख संगठित सदस्यले सदस्यता नवीकरण गरेको बताएको छ । 

माओवादी कमजोर भए राष्ट्रिय एकता कमजोर हुन्छ : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीलाई कमजोर हुने छुट नभएको र माओवादी केन्द्र कमजोर भए देश दुर्घटनामा पर्ने दाबी गरेका छन् । देशव्यापी एकैसाथ भइरहेको माओवादी केन्द्रको नगरस्तरीय अधिवेशनलाई शनिबार भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रचण्डले माओवादीसँग क्रान्तिकारी बिरासत जोगाउने दायित्व भएको बताए । 

‘हामी कस्तो अवस्थामा आइपुगेका छौँ भने हाम्रो पार्टी कमजोर भयो भने हामी मात्र कमजोर हुने अवस्थामा छैनौँ । विगतमा एउटा पार्टी कमजोर हुँदा अर्को पार्टी बलियो हुने अवस्था थियो । तर, आज यस्तो अवस्था छ कि माओवादी केन्द्र कमजोर भयो भने देशको परिवर्तनका एजेन्डा कमजोर हुन्छन्,’ प्रचण्डले भने, ‘परिवर्तनका एजेन्डा कमजोर भए राष्ट्रिय एकता कमजोर हुन्छ । राष्ट्रिय एकता कमजोर भयो भने देश दुर्घटनामा पर्छ । देशलाई दुर्घटनाबाट बचाउने, परिवर्तनलाई निरन्तर अगाडि बढाउने दायित्व अहिले माओवादी केन्द्रको काँधमा आएको छ ।’

प्रचण्डले माओवादीलाई निष्क्रिय हुने सुविधा पनि नरहेको बताए । ‘हामीलाई निष्क्रिय हुने छुट छैन । हामीलाई हाम्रा एजेन्डाप्रति शिथिल हुने छुट पनि छैन । हाम्रो जे क्रान्तिकारी बिरासत छ, त्यसको रक्षाका लागि अझ ठूलो मिहिनेत, अझ ठूलो दृढताका साथ अगाडि बढ्न आवश्यक छ,’ उनले भने । 

समावेशी र सामानुपातिक प्रणालीलाई दह्रोसँग नसमाते प्रतिक्रियावादी र प्रतिक्रान्तिकारीले परिवर्तनलाई उल्ट्याउने षड्यन्त्र गरिरहेको प्रचण्डको दाबी छ । प्रचण्डले सबै परिवर्तन माओवादी आन्दोलनबाटै सम्भव भएको र त्यसको स्वामित्व माओवादीले लिनैपर्ने बताए । साथै, उनले तात्कालीन राजनीतिक घटनाक्रम, विभिन्न पक्षसँग जोडघटाउ गर्ने, समीकरण भत्काउनेतिर बढी ध्यान दिँदा पार्टी कमजोर भएको स्विकारे । 

‘पार्टीको विचार निर्माणमा हाम्रो कम ध्यान गयो, कहीँ न कहीँ त्रुटि भयो । हामीले केन्द्रीय समितिमा आत्मालोचना गरेको विषय पनि हो यो । तत्कालको राजनीतिक जोडघटाउमा मात्र लाग्दा पार्टी वैचारिक रूपमा स्खलित हुने अवस्था देख्यौँ,’ प्रचण्डले भने, ‘बिस्तारै पार्टी शिथिल हुँदै जाने र पार्टीको क्रान्तिकारी चरित्र ह्रास हुँदै जाने खतरा देखियो । हाम्रा पार्टीका कार्यकर्ता पनि अरू पार्टीका बुर्जुवा संशोधनवादी प्रतिक्रान्तिकारीजस्तै व्यक्तिगत हित, पदीय स्वार्थ र गुट स्वार्थतिर जाने देखियो । वेलैमा हामीले हाम्रो कमीकमजोरी सच्याउनतिर लाग्नुपर्दछ ।’ प्रचण्डले जनयुद्धमा सहभागी भएका कार्यकर्ता, घाइते, सहिद तथा बेपत्ताका परिवारलाई पुनर्संगठित गर्नेमा पनि कमजोरी भएको स्वीकार गरे । उनले अब पार्टीको जनआधारलाई सुदृढ गर्ने र संगठनलाई बलियो बनाउनेमा गल्ती नगर्ने प्रतिबद्धता जनाए ।

‘एमाले महाधिवेशनमा विचार र बहसलाई कुनै ठाउँ छैन, जनतालाई भ्रम दिने ध्यान मात्रै छ’
हिजो हामीले कुम्भमेलाजस्तो मेला देख्यौं । जहाँ विचार र बहसलाई कुनै ठाउँ छैन । त्यहाँ जनतालाई भ्रम दिने ध्यान मात्रै छ । तथाकथित महाधिवेशन भइरहेका छन् । ती सबैभन्दा भिन्न हामी विचार, राजनीतिक लाइन, संगठनात्मक कार्यदिशाका साथै हाम्रो कार्यशैली र आचार, व्यवहारलाई प्राथमकिता दिने सम्मेलन गर्दै छौँ । अरूका तथाकथित अधिवेशन र हाम्रो विचार निर्माण, विचार विकास र विचार संश्लेषणको, सम्मेलनको कुनै तुलना हुन सक्दैन ।

ad
ad