मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर १० शुक्रबार
  • Tuesday, 17 December, 2024
मोली जंग–फस्ट
२o७८ मङ्सिर १० शुक्रबार o८:४२:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

लोकतन्त्र जोगाउन शत्रुको आवश्यकता 

देश/परदेश

Read Time : > 2 मिनेट
मोली जंग–फस्ट
नयाँ पत्रिका
२o७८ मङ्सिर १० शुक्रबार o८:४२:oo

अमेरिकीहरू चुनावमा विजय हासिल गर्न राष्ट्रपतिहरूलाई शत्रुहरूको आवश्यकता हुन्छ र उनीहरू नगण्य विषयबाटै शत्रु खडा गर्छन् भन्नेमा विश्वस्त छन् 

एक वर्षअघि अमेरिका एक व्यक्तिको नेतृत्वमा थियो, जसले फक्स न्युजका सञ्चालक टकर कार्लसनलाई खुसी पार्न शासन गरेका थिए र फौजी कानुन लागू गर्ने विषयलाई एकदमै हल्का रूपमा लिएका थिए । तपाईंलाई डोनाल्ड ट्रम्पपछि अमेरिकी जनताले छिमेकी देश वा कर्पोरेसनहरूलाई धम्की दिन आफ्नो ट्विटर प्रयोग नगर्ने सामान्य राष्ट्रपति पाएका छन् भन्ने लाग्न सक्छ । तर, यो यथार्थ होइन । एक राष्ट्रिय सर्वेक्षणअनुसार अमेरिकीहरू जो बाइडेनसँग दुःखी छन् । ‘फाइभ थर्टी एट’अनुसार ५१.७ प्रतिशत अमेरिकी उनको कामबाट असन्तुष्ट छन् । हालैको क्विनिपियाक विश्वविद्यालयको सर्वेक्षणमा ५० प्रतिशत मतदाता बाइडेनको महामारीको व्यवस्थापनप्रति असन्तुष्ट छन् र ५९ प्रतिशतले उनको अर्थतन्त्र व्यवस्थापनमा असन्तुष्टि जनाएका छन् ।

बाइडेनको लोकप्रियता सुधार्नका निम्ति उनका केही सल्लाहकारले उनलाई आधारभूत विषयमा काम गर्न सुझाउन सक्छन् । तर, आधारभूत विषयमा वास्तवमा प्रगति भई नै रहेका छन् । अर्थव्यवस्थामा सुधार हुँदै छ । मुद्रास्फीति अवश्य पनि एउटा मुद्दा हो, तर यो विश्वव्यापी मुद्दा हो र हामी महामारीबाट बाहिर निस्किरहेका सन्दर्भमा त्यति अप्रत्यासित पनि होइन । तथ्य र सर्वेक्षणबीचको अन्तरले बाइडेनको समस्या संकथन एवं भाष्य हो भन्ने देखाउँछ । वास्तवमा बाइडेनको कुनै शत्रु छैन, जहाँ अमेरिकीहरू आफ्ना तर्कसंगत एवं असंगत क्रोध–कुण्ठा पोख्न सकून् । 

त्यही भएर डेमोक्रेटिक रणनीतिकार जेम्स कार्भिलले ‘अहिलेसम्म ह्वाइट हाउससँग राम्रो कथा सुनाउनेहरू छैनन् र राम्रा कथाका लागि खलनायक आवश्यक हुन्छ’ भन्ने सन्देश पठाएका थिए । डेमोक्रेटिक सर्वेक्षक जेफ्री पोलकले पनि ‘हरेक सफल अभियानका लागि खलनायक चाहिन्छ’ भनेका थिए । पोलकका अनुसार ‘राष्ट्रपति र उनको टोलीले शत्रुको चाल बुझ्छन्’, जहाँ ‘राष्ट्रपतिले नाफाका लागि मूल्यवृद्धि गर्न खोजिरहेका तेल र ग्यास कम्पनीका कर्पोरेट लोभलाई शून्यमा झारेका छन् । सम्भवतः बाइडेन अझै महत्वाकांक्षा पालिरहेका छन् । यदि उनी पुनः चुनाव जित्न चाहन्छन् भने उनले आफूलाई एक असल व्यक्तित्वको छवि भएको देखाउन आवश्यक छ । 

फ्र्यांकलिन डी. रुजवेल्ट सबैभन्दा लोकप्रिय राष्ट्रपतिमध्ये एक हुन्, तर उनले आफ्नो कार्यकालमा धेरै संकटको सामना गरे । यद्यपि उनका लागि सधैँ एक किसिमको लाभको अवस्था थियो । सन् १९३६ मा रुजवेल्टले डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलनमा ‘हाम्रा लागि कुनै समय हासिल गरेको राजनीतिक समानता आर्थिक असमानतासामु अर्थहीन भएको छ । एउटा सानो समूहले अरूको सम्पत्ति, पैसा, श्रम अर्थात् अन्य मानिसको जीवनमा लगभग पूर्ण नियन्त्रण गरेका छन् । हामीमध्ये धेरैका लागि जीवन स्वतन्त्र थिएन, स्वतन्त्रता वास्तविक थिएन र मानिसले समृद्धि भेट्टाउन सकेका छैनन्’ भनेर भाषण दिएका थिए । रुजवेल्टले पाँच सय २३ मत जितेका थिए, जुन सन् १८२० को चुनावपछि तेस्रो–सबैभन्दा ठूलो जित थियो । त्यो पनि मन्दीका केही वर्षपश्चात्को जित थियो । अमेरिकी जनताले अपेक्षाकृत जीवन जिउन सकेका थिएनन्, तैपनि अमेरिकी जनताले विद्यमान समस्याका लागि राष्ट्रपतिलाई दोष दिएका थिएनन् ।

रोनाल्ड रेगनले आफ्नो उद्घाटन भाषणको पहिलो पंक्तिमै आफ्ना समर्थकलाई सरकारविरुद्ध खडा गरेका थिए । उनले ‘सरकार हाम्रो समस्याको समाधान होइन, बरु सरकार नै समस्या हो’ भनेका थिए । यो उपाय निकै चलाखीपूर्ण थियो, किनभने यसले रेगनलाई सबै विषयको जिम्मेवारीबाट पन्छिन सहयोग गरेको थियो । अर्थात् रेगनको प्रशासनले असफलता प्रदर्शन गरे उनले देख्नुभयो नि मैले भनेको थिएँ भन्न पाउने अवस्था थियो । पछि उनले श्रमिक आमाहरूको कल्याण र संघीय मानसिक–स्वास्थ्य कोषसहित थुप्रै सामाजिक कार्यक्रमको कटौती गरेका थिए । अमेरिकीहरू चुनावमा विजय हासिल गर्न राष्ट्रपतिलाई शत्रुहरूको आवश्यकता हुन्छ भन्ने विषयमा जानकार छन् । 

वास्तवमा अमेरिकी जनता राष्ट्रपतिहरू नगण्य विषयबाट शत्रु खडा गर्छन् भन्नेमा विश्वस्त छन् । बिल क्लिन्टनले मोनिका लेविन्स्कीसँगको आफ्नो सम्बन्धका लागि माफी मागेको तीन दिनपछि अफगानिस्तान र सुडानमा सैन्य आक्रमणको आदेश दिएका थिए । केन्या र तान्जानियाका अमेरिकी दूतावासमा भएका बम विस्फोटको प्रतिक्रिया दिइरहेको बताए पनि केही राजनीतिक विश्लेषकले उनको कदमलाई सन्देहास्पद दृष्टिकोणबाट हेरेका थिए । एक रिपोर्टरले त्यस वेलाका रक्षासचिव विलियम कोहेनलाई यदि उनले चलचित्र ‘ब्याग द डग’सँग ‘केही उल्लेखनीय समानता’ देखेका थिए कि भनेर प्रश्न गरेका थिए । स्मरण रहोस्, चलचित्रमा राष्ट्रपतिको यौनकाण्डबाट मतदाताको ध्यान विचलित गर्न अल्बानियामा युद्ध रचेको देखाइएको छ । 

यदि बाइडेनले मतदातालाई एकजुट गर्नुपर्ने भए उनले मतदातालाई कोविरुद्ध एकजुट बनाउनुपर्छ होला ? लिन्डन बी. जोनसनले झैँ उनी गरिबीविरुद्ध युद्ध लड्न सक्छन् । उनी विभाजनविरुद्ध र अमेरिकीलाई विभाजित गर्न खोज्ने शक्तिहरूविरुद्ध पनि लड्न सक्छन् । अथवा बोस्टन कलेजका प्राध्यापक हेथर कोक्स रिचर्डसनले भनेझैँ ‘जसरी अब्राहम लिंकनले दास राख्नेहरूविरुद्ध उत्तरी क्षेत्रका अमेरिकीलाई एक ठाउँमा ल्याएका थिए, त्यसरी बाइडेनले हाम्रो लोकतन्त्रलाई खतरामा पार्ने अधिनायकवादीहरूविरुद्ध सजिलै ‘युद्ध’ घोषणा गर्न सक्छन्’ । अर्थात् उनले राज्यस्तरमा सत्तामा पकड जमाउँदै गरेको र लोकतन्त्रविरुद्ध रहेको ट्रम्प निर्देशित रिपब्लिकन पार्टीले उत्पन्न गर्ने सम्भावित खतराप्रति अमेरिकीलाई सचेत गराउन समय खर्च गर्नुपर्ने देखिन्छ । 

द एटलान्टिकबाट

(जंग–फस्ट अमेरिकी लेखक एवं राजनीतिक विश्लेषक हुन्)