
सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेसले अझै पाउनुपर्ने पूर्णअधिकार नपाइसकेको बताएका छन् । मधेसी जनताले पूर्णअधिकार नपाएसम्म मधेसको लागि लडिरहने उनले बताएका छन् ।
उनले आफू प्रधानमन्त्री हुँदा संविधान संशोधन प्रस्ताव दुईपटक दर्ता गरेकोमा एमाले अध्यक्ष केपी ओलीका कारण पास हुन नसकेको बताए । उनले संविधान संशोधन नभएसम्म लडाइँ नरोक्नेसमेत बताए ।
महोत्तरीको रामगोपालपुर नगरपालिकास्थित विभिन्न वडामा निर्माण भएको स्वास्थ्यचौकी र कोभिड उपचार भवन उदघाटन गर्न आएका प्रचण्डले सोही ठाउँमा भएको आमसभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
उनले सिंहदरबार र बालुवाटारमा मधेसको लागि आफ्नो लडाइँ जारी रहने बताउँदै पूर्वप्रधानमन्त्री ओलीलाई भिलेनको संज्ञा दिए । उनले जनताकै सहयोगमा ओलीजस्तो भिलेनलाई सत्ताबाट झार्न सकेको बताउँदै ओलीको सामुन्ने घुडा टेक्ने महन्थ ठाकुर र राजेन्द्र महतोसमेत मधेस विरोधी भएको आरोप लगाए ।
महोत्तरीका सडक, स्वास्थ्य र शिक्षामा समेत क्रमिक सुधार हँुदै गएकोप्रति सन्तोष व्यक्त गर्दै प्रचण्डले आगामी निर्वाचनमा मधेसमा माओवादी सबैभन्दा बलियो पार्टी हुने विश्वास व्यक्त गरे । आमसभामा पूर्वशिक्षामन्त्री गिरिराजमणि पोखरेलसहितका नेताहरू सहभागी थिए ।