१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर १ बुधबार
  • Wednesday, 02 July, 2025
पहिलो अन्तर्राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा कतारविरुद्ध विकेट लिएपछि खुसी मनाउदै नेपाली खेलाडी । तस्बिर : एजेन्सी
नयाँ पत्रिका काठमाडौं
२o७८ मङ्सिर १ बुधबार o६:२५:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

कतारमाथि नेपाली महिला टोलीको सानदार जित

अन्तर्राष्ट्रिय टी–२० मा इन्दु बर्मा अर्धशतक लगाउने पहिलो महिला खेलाडी बनेकी छिन् रिटायर्ड हर्ट हुनुअघि खेलकै म्यान अफ दी म्याचसमेत भएकी उनले ४७ बलमा ५४ रन बनाइन्

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर १ बुधबार o६:२५:oo

बलिङ र ब्याटिङमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाली महिला क्रिकेट टोलीले कतारमाथि पहिलो अन्तर्राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा एक सय १९ रनको कीर्तिमानी जित निकालेको छ । कतारको दोहामा मंगलबार भएको खेलमा नेपाली महिला टोलीले अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलोपटक फरकिलो जित निकालेको हो । नेपालले यसअघि सन् २०१९ मा इन्डोनेसियालाई ९२ रनले हराएको थियो । जितसँगै नेपालले कतारविरुद्धको सिरिजमा १–० को अग्रता लिएको छ । 

नेपाली महिला टोलीले सन् २०१९ सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितापछि पहिलोपटक अन्तर्राष्ट्रिय खेल खेलेको हो । घरेलु क्रिकेटको कमजोर संरचना तथा कोभिड– १९ का कारण महिला क्रिकेटर करिब दुई वर्ष अन्तर्राष्ट्रिय खेलविहीन भएका थिए । कतारको दोहामा टस हारी पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा एक सय ४६ रनको मजबुत योगफल खडा गर्‍यो । प्रत्युत्तरमा कतार ११.५ ओभरमा केवल २७ रनमै समेटियो । 

६ ब्याट्सम्यान डकआउट
नेपाली खेलाडीको घातक बलिङसामु कतारका कुनै पनि खेलाडी क्रिजमा लामो समय टिक्न सकेनन् । कविता कुँवर, सीता रानामगर, करुणा भण्डारी तथा रुविना क्षेत्रीले आफ्नो स्पेलमा विकेट लिँदा कतारका ब्याट्सम्यान कमजोर देखिए । कतारका सात ब्याट्सम्यानले खाता नै खोल्न सकेनन् । जसमध्ये सविजा पानायाम मात्र शून्य रनमा नटआउट भइन् । ओपनर साची र अलिना खान सामना गरेको बलमै आउट भए । यसैगरी साश्रीनवाव र ऐसा रहमानले समान दुई बल सामना गरी विकेट गुमाए ।

इनिङ्सको ११औँ ओभरमा नेपालबाट रुविनाले बलिङ गरेकी थिइन् । उनले पाँच बलको अन्तरमा कतारका तीन ब्याट्सम्यानलाई पेभेलियनको बाटो देखाइन् । रुविनाले ११.१, ११.३ र ११.५ ओभरमा विकेट हात पार्दा कतार केवल २७ रनमै समेटियो । उनले १.५ ओभरमा बलिङ गर्दै एक रन मात्र खर्चदै सर्वाधिक तीन विकेट हात पारिन् । 

जोशी र राईको अन्तर्राष्ट्रिय डेब्यु
कतारविरुद्ध नेपालका दुई खेलाडीले अन्तर्राष्ट्रिय टी–२० खेलमा डेब्यू गरेका छन् । कविता जोशी र संगीता राईले डेब्यू अवसर पाएका हुन् । डेब्यू गरेकी संगीताले एक ओभर बलिङको अवसर पाउँदा दश रन खर्चिन् । कतारबाट चार खेलाडीले नेपालविरुद्ध डेब्यू गरेका थिए । 

इन्दुको अर्धशतकीय इनिङ्स
पहिलो ब्याटिङ गरेको नेपालका लागि तेस्रो क्रमका ब्याट्सम्यान इन्दु बर्माले अर्धशतकीय इनिङ्स खेलिन् । नेपालले १.५ ओभरमा ओपनर काजल श्रेष्ठ (३) गुमाएको थियो । काजलको विकेट पतन हुँदा नेपालले स्कोर बोर्डमा आठ रन मात्र जोडेको थियो । त्यसपछि सीता रानामगर र इन्दुबीच दोस्रो विकेटका लागि ८८ रनको साझेदारी हुँदा नेपाल ११.४ ओभरमा ९६–२ को बलियो अवस्थामा पुग्यो । छक्का प्रहार गर्ने चक्करमा सीता स्टम्पिङ भइन् । उनले ३३ बलमा पाँच चौकाको सहयोगमा ३९ रन जोडिन् । 

सीता आउट भएकै ओभरमा कप्तान रुविना पनि पेभेलियन फर्किइन् । ११.६ ओभरमा रुविना हिरल अग्रवालबाट रन आउट भइन् । त्यसपछि सरिता मगरले २१ बलमा दुई चौकाको सहयोगमा २१ रन बनाइन् । कविताले १२ बलमा आठ रनको योगदान दिइन् । अर्धशतकीय इनिङ्स खेलेकी इन्दु रिटायर्ड हर्ट भइन् । म्यान अफ दी म्याच इन्दुले ४७ बल खेल्दै ५५ रनको योगदान दिइन् । महिला क्रिकेटमा इन्दु टी–२० मा अर्धशतक बनाउने पहिलो खेलाडी हुन् । कतारले २० अतिरिक्त रन दिएको थियो । 

 दुईजनाले मात्र बनाए आठ रन
नेपाली बलरको सटिक र घातक बलिङ सामना गर्न नसकेको कतारको ब्याटिङ इनिङ्समा दुई ब्याट्सम्यानले मात्र समान सर्वाधिक आठ रन बनाएका थिए । सातौँ क्रमका खादिला इम्तियाज र आठौँ क्रमका एन्जेलिन मारेले ८–८ रन बनाए । खादिलाले १६ बलमा एक चौका प्रहार गरिन् । मारेले १३ बलमा एक चौका ठोकिन् । सो इनिङ्समा बानो इमानुएलले १५ बल सामना गरी तीन रन बनाइन् । नेपालले एक रन मात्र वाइडका रूपमा अतिरिक्त दियो । सीता रानामगरले आफ्नो एक ओभरमा वाइड फ्याँकेकी थिइन् । 

बलिङमा नेपालका लागि कविताले दुई ओभरमा ६ रन खर्चदै दुई विकेट हात पारिन् । सीताले दुई ओभरमा एक मेडन राखी तीन रन दिँदै दुई विकेट लिइन् । करुणा भण्डारीले एक मेडनमा एक विकेट लिइन् । नेपाली बलरले दुई मेडन ओभर गरेका थिए । कतारले ब्याटिङ गरेको इनिङ्सको दोस्रो तथा तेस्रो बलमै विकेट गुमाएको थियो । पाँच ब्याट्सम्यान गुमाउँदा स्कोर बोर्डमा केवल दश रन मात्र जोडेको थियो ।