१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ कार्तिक ३० मंगलबार ०७:१४:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

गाउँपालिकाको निर्ब्याजी कर्जाले व्यावसायिक कृषिमा युवाको आकर्षण

Read Time : > 1 मिनेट
२०७८ कार्तिक ३० मंगलबार ०७:१४:००

गुल्मीको इस्मा गाउँपालिका–५ का ४० वर्षीय गुन्जबहादुर विष्ट ‘कृष्ण’ पुराना व्यावसायिक किसान हुन् । तर, लगानी नहुँदा व्यावसायिक बन्ने सपना अधुरो थियो । व्यावसायिक कृषि गर्न कसैले कर्जा नपाएपछि झन्डै दुई लाख ऋण खोजेर उनी ०६२ सालमा युएईतर्फ गए । विदेशमा तीन वर्ष बस्दा राम्रै कमाइ भएपछि उनी स्वदेश फर्किए । सदरमुकाममा फेन्सी पसल सञ्चालन गर्दा सोचेजस्तो कमाइ भएन । फेरि ०६८ सालमा सेल्स मेनको भिसामा कतार गए । तर, यसपटक उनले सम्झौताबमोजिम काम नपाएपछि दुई महिनामै साथीहरूसँग ऋण खोजेर घर फर्किए । गाउँ फर्किएपछि मिल तथा गाडी चलाउने काम गर्न थाले । 

०७४ सालदेखि भने उनी पूरै व्यावसायिक कृषक भएका छन् । उनले ७३ बाख्रा र ६ हजार माछासहित तीन रोपनी क्षेत्रफलमा बेमौसमी तरकारी खेती गरेका छन् । अहिले खसी, माछा र तरकारी गाउँमै मागअनुसार पुर्‍याउन नसकिएको उनको भनाइ छ । गाउँपालिकाबाट निर्ब्याजी दुई लाख कर्जा पाएका उनले सो रकमबाट व्यवसाय बढाउने योजना बनाएका छन् ।  इस्मा गाउँपालिका–४ का ३२ वर्षीय युवा ओमबहादुर कुँवर लसुनका व्यावसायिक कृषक हुन् । कुँवर ०७० सालमा ट्याक्सीचालकको भिसामा युएई गएका थिए । युएईमा महिनाको एक लाख कमाउँथे ।

साढे चार वर्ष काम गरेर फर्किपछि उनले व्यावसायिक लसुन र बाख्रापालनको काम थालेका छन् । ०७६ सालमा ५० किलो लसुन रोपेर उनले १० क्विन्टल उत्पादन गरे । गत वर्ष दुई हेक्टरमा पाँच ब्लक बनाएर १० क्विन्टल लसुन लगाए पनि रोगले ७० प्रतिशत लसुनको उत्पादन घट्यो । तर, ३० प्रतिशत उत्पादनले पनि लगानी डुबेन । गाउँपालिकाले समेत क्षतिको सहजीकरण गरेपछि उनले हिम्मत हारेनन् । अहिले कुँवरले इस्मा गाउँपालिकाको सहयोगमा उज्यालो सहकारीमार्फत दुई लाख निब्र्याजी कर्जा पाएका छन् । सोही रकमबाट यस वर्ष १५ क्विन्टल लसुन रोप्न सुरु गरेका छन् भने दुई सय बाख्रापालनका लागि खोर निर्माण गरेका छन् । तत्काल खोरमा ४० बाख्रा पालिरहेका छन् । उनले आंशिक र पूर्ण गरेर १५–२० जनालाई रोजगारीसमेत दिएका छन् । कुँवरले दुई–तीन वर्षपहिलेबाटै करिब एक बिघा जग्गामा घाँस रोपेका छन् । 

गाउँपालिकाले गत वर्ष ३० युवा उद्यमीलाई निर्ब्याजी कर्जा प्रदान गरेको छ । प्रतिउद्यमी ५० हजारदेखि दुई लाखसम्म गरेर कुल ३० लाख कर्जा प्रदान गरिएको सहकारीका व्यवस्थापक प्रकाश चालिसेले जानकारी दिए ।

विष्ट र कुँवर प्रतिनिधि पात्र हुन् । पछिल्लो समय युवाहरूमा कृषिप्रतिको आकर्षण बढ्दै गएको छ । इस्मा गाउँपालिकाले व्यावसायिक कृषिमा आकर्षण बढाउन उत्पादनमा आधारित अनुदान, निर्ब्याजी कर्जा, अनुदानमा कृषि औजार र बिउ–मलको कार्यक्रम अगाडि बढाएको छ । उत्पादनमा आधारित अनुदानलाई अझै व्यवस्थित र दुरुपयोग रोक्न गाउँपालिकाले ल्याएको निर्ब्याजी कर्जामार्फत थुप्रै युवाहरूले उद्यम सुरु गरेका छन् । गाउँपालिकाले गत वर्ष ३० जना युवा उद्यमीहरूलाई निर्ब्याजी कर्जा प्रदान गरेको छ । प्रतिउद्यमी ५० हजारदेखि दुई लाखसम्म गरेर कुल ३० लाख कर्जा प्रदान गरिएको सहकारीका व्यवस्थापक प्रकाश चालिसेले जानकारी दिए । कृषि र पशुपालनअन्तर्गत बाख्रापालन, कुखुरापालन, बंगुरपालन, लसुनखेती, माछापालन गर्न कर्जा उपलब्ध गराइएको हो । त्यसबाहेक मोटरसाइकल मर्मत, मुढा तथा फेन्सी व्यवसाय सञ्चालन गर्ने युवा उद्यमीहरूलाई पनि कर्जा प्रदान गरिएको चालिसेले बताए ।

गत वर्षदेखि युवाहरूलाई उद्यमी बनाउन इस्मा गाउँपालिकाले ‘उद्यम विकास कोष सञ्चालन निर्देशिका २०७७’ निर्माण गरेर कार्यान्वयनमा ल्याएको छ । कोषको रकम परिचालन गर्न गाउँपालिकाले १० माघ ०७७ मा वित्तीय सेवाप्रदायक संस्थाका रूपमा छनोट गर्न सूचना जारी गरेको थियो । १३ फागुनमा गाउँपालिकाले नै उद्यम विकास कोषमार्फत सहुलियत कर्जा लिन चाहने युवा उद्यमीहरू छनोटका लागि प्रस्ताव आह्वान गर्‍यो ।  आवेदन दिएकामध्ये प्रत्येक वडाबाट पाँच–पाँचजना छनोट गरिएको सहकारीका अध्यक्ष राजेन्द्रविक्रम कुँवरले जानकारी दिए ।