अमेरिका र टर्की युद्ध र शान्तिबीचको अवस्थामा काम गरिरहेका छन् । यी दुईबीचको साझेदारी निश्चय नै कमजोर भएको छ, तर यो टुटिसक्यो भन्नु हतारो हुन्छ ।
हप्तौँदेखि भेटवार्ता हुँदैन भन्ने अनुमानलाई तोड्दै यही ३१ अक्टोबरका दिन रोममा भइरहेको जी–२० बैठकका वेला अमेरिकी राष्ट्रपति जो बाइडेन र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानको भेटघाट भएको छ । अक्टोबरको सुरुवातमा भएको छोटो अवधिको कूटनीतिक संकटले दुई देशबीचको सम्बन्ध तनावपूर्ण छ भनेर देखाएको थियो । जेलमा रहेका टर्कीका परोपकारी अभियन्ता ओस्मान कवालालाई रिहा गर्न आग्रह गरेपछि टर्कीले अमेरिकी राजदूत र अन्य नौजना पश्चिमा कूटनीतिज्ञलाई देशनिकाला गर्ने चेतावनी दिएको थियो । यस मागलाई टर्की सरकारले आन्तरिक मामिलामा हस्तक्षेपका रूपमा लिएको थियो ।
बाइडेन र एर्दोगानको यो वर्षको दोस्रो भेटवार्ताले संवादका सम्भावना अझै खुला रहेको देखाउँछ । यद्यपि, अमेरिका–टर्की सम्बन्ध हालसम्मकै खराब अवस्थामा रहेको तथ्यलाई नकार्न मिल्दैन । टर्कीमा अमेरिका विश्वास गर्नलायक साझेदार होइन र अंकारामा प्रभुत्व जमाउन खोज्दै छ भन्ने अमेरिकाविरोधी भाष्य दिनानुदिन बढ्दै गइरहेको छ । सन् २०१५ मा टर्की र टर्कीका पश्चिमा साझेदारहरूले ‘आतंककारी’ मान्ने सिरिया सम्बद्ध कुर्दिस समूह कुर्दिस्तान वर्कर्स पार्टी (पिकेके)लाई वासिङ्टनले सैन्य सहयोग गर्ने निर्णय गरेपछि र सन् २०१६ मा एर्दोगान सरकारविरुद्ध भएको कु प्रयासमा अमेरिका संलग्न भएको आरोपले अमेरिकाविरोधी भावना बढेको देखिन्छ ।
अमेरिकी दृष्टिकोणबाट टर्कीले रुससँग सम्बन्ध निकट बनाउने निर्णयले चासो उब्जाएको छ । सन् २०१७ मा टर्कीले एस–४०० रक्षा प्रणाली खरिद गरेपछि रुसको पुनरागमन हुनेमा चिन्ता गरिरहेको वासिङ्टन तरंगित भएको थियो । त्यसैगरी, सन् २०१९ मा टर्कीमा अत्याधुनिक हतियारको आपूर्ति भएपछि एक वर्षपछि टर्कीका अधिकारीलाई ‘काउन्टरिङ अमेरिकाज एड्भर्सरिज थ्रु स्याङ्सन एक्ट (सिएएटिएसए) ऐनअनुसार प्रतिबन्ध लगाइयो । अझ महत्वपूर्ण, यो आपूर्तिले अत्याधुनिक लडाकु विमान एफ–३५ विकासका लागि बनेको अन्तर्राष्ट्रिय समूहबाट टर्कीलाई निष्कासन गरेको थियो । हालैका दिनमा एर्दोगानले अतिरिक्त एस–४०० मिसाइल खरिद गर्ने योजना खुलाउँदा अमेरिका थप क्रुद्ध भएको छ ।
के त्यसो भए यी तनावका कारण टर्की र अमेरिकाबीच सम्बन्धविच्छेद हुन लागेकै हो ? सम्भवतः त्यसो हुँदैन । बाइडेन र एर्दोगान सम्बन्धविच्छेद चाहन्नन् । वास्तवमा टर्की सरकारले ४० एफ–१६ लडाकु विमान र पुराना लडाकु विमान मर्मत गर्ने ८० आधुनिक औजार–संयन्त्र खरिदका लागि बाइडेन प्रशासनसँग सम्झौता गर्ने आशा गरिरहेको छ । एफ–३५ परियोजनाका लागि गरेको १४ करोड डलर अग्रिम भुक्तानी फिर्ता गर्न पनि इच्छुक छ ।
ग्रिस, रुसदेखि इरानसम्मका छिमेकीले सैन्य क्षमता बढाइरहँदा टर्की पछि पर्न चाहन्न । आफ्नो रणनीतिक स्वायत्तता दाबी गर्नका लागि अंकारा अझै पनि पश्चिमी सैन्य प्रविधिमा निर्भर छ । त्यसैगरी, टर्की अनिश्चितताको समयमा नेटोसँग प्रतिबद्ध छ भने राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण कृष्णसागरको विपरीत किनारामा सैन्य सामथ्र्य बढाउन रुससँग प्रतिबद्ध रहेको छ ।
टर्कीको कमजोर घरेलु अर्थतन्त्र र द्रुत रूपमा घटिरहेको लिराको मूल्य अर्थात् विगत एक दशकमा लिराको मूल्य ८० प्रतिशतले गुमाउनुले पनि अन्तर्राष्ट्रिय वित्तीय बजारमा टर्कीको निर्भरतालाई झल्काउँछ । यस अवस्थामा अमेरिकासँग गरिने सम्बन्धविच्छेदले असन्तुलित अर्थतन्त्रलाई कुनै फाइदा हुनेछैन । यदि केही गरी पश्चिमा राजदूत एवं कूटनीतिज्ञलाई निष्कासन गरेको भए विदेशी लगानीकर्ताहरू सम्भवतः सामूहिक रूपमा लिराबाट निर्धारित सम्पत्तिको निकासा गर्थे । नतिजा, मुद्रा पूर्ण गिरावटमा जान्थ्यो ।
अमेरिकालाई पनि विदेशमन्त्रीको भाषामा ‘तथाकथित रणनीतिक साझेदारको’ अझै पनि आवश्यकता रहेको छ । टर्कीका सेना नेटोका लागि पूर्वी भेगमा महत्वपूर्ण छ, जहाँ रुसले ठूलो चुनौती खडा गरेको छ । टर्कीले युक्रेनलाई ‘टिबी २’ ड्रोनहरू बिक्री गरेको छ र अहिले ती ड्रोन डोनबासको युद्धमा रुस समर्थक पृथकतावादीविरुद्ध तैनाथ गरिएको छ । यसले अमेरिकाका लागि टर्कीको रणनीतिक महत्व दर्साउँछ ।
अंकाराले कृष्णसागरमा सहयोगीलाई आश्वस्त पार्ने उद्देश्यका सबै नेटो पहललाई पनि समर्थन गरेको छ, जसमा अमेरिका र सम्झौताका अन्य सदस्य राष्ट्रहरूबाट नियमित अभ्यास र नौसेना जहाजहरूको परिक्रमा पनि समावेश छन् । मध्यपूर्व र उत्तर अफ्रिकामा टर्कीको भूमिका विशेष गरी लिबिया छ । जहाँ टर्कीले रुस र सिरियासँग प्रतिस्पर्धा गर्छ । त्यसकारण अंकारालाई शत्रु बनाउनु अमेरिकाका लागि हितकर छैन । त्यसैगरी, अंकाराले अफगानिस्तान छोड्दा काबुल एयरपोर्टलाई सुरक्षित बनाउने जिम्मेवारी पनि कुशलतापूर्वक निभाएको थियो ।
अमेरिका र टर्की युद्ध र शान्तिबीचको अवस्थामा काम गरिरहेका छन् । यी दुईबीचको साझेदारी निश्चय नै कमजोर भएको छ, तर यो टुटिसक्यो भन्नु हतारो हुन्छ । यो समय लेनदेनवादको र सम्भवतः यी दुवै पक्ष दिनानुदिनका मुद्दा हेरेर सम्बन्ध बनाउनेछन् । सम्भवतः बाइडेन र एर्दोगान नेटोमा सीमित तरिकाले मात्रै साझेदारी गर्नेछन् । अमेरिकी कंग्रेसमा विरोध भए पनि एफ–१६ मा सम्झौता सम्भव छैन । दुई सेनाबीचको अन्तरविरोध देखिए पनि सिरियामा टर्कीले गरेको नयाँ कारबाहीबाट अमेरिका विचलित हुनेछैन ।
यद्यपि, अमेरिकाले रुस र बढ्दो रूपमा चीनसँग टर्कीको संलग्नतालाई सावधानीपूर्वक हेर्न जारी राख्नेछ । ट्रम्पको विपरीत बाइडेन टर्कीको घरेलु राजनीतिमा पनि बढी मुखर हुनेछन् । आगामी दिनमा थप द्वन्द्व बढ्ने देखिन्छ । अल जजिराबाट