नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले नेपाल बारको आन्दोलनमा ब्याक गियर नभएको बताएका छन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामाको माग गर्दै सर्वोच्च अदालत परिसरमा आइतबार भएको विरोध प्रदर्शनमा सहभागी अध्यक्ष श्रेष्ठले राजीनामाको मागबाट नेपाल बार पछि नहट्ने बताएका हुन्।
उनले आफूहरूले प्रधानन्यायाधीश जबरा योग्य नभएको बताइसकेको भन्दै आन्दोलनलाई बेवास्ता गरेर प्रधानन्यायाधीश अदालत प्रवेश गर्न रोक्दारोक्दै चोरबाटोबाट पसेजस्तो भएको बताए। उनले भने, ‘योग्य हुनुहुन्न भनिसकेका छौँ।आन्दोलन बेवास्ता गरेर अदालत प्रवेश गर्न रोक्दारोक्दै चोरबाटोबाट पसेजस्तो हो। हाम्रो ब्याक गेयर नभएको आन्दोलन हो।’
प्रधानन्यायाधीशलाई महाभियोग लगाएसरह बहिष्कार गरिसकेको उनको भनाइ छ। व्यावहारिक रूपमा प्रधानन्यायाधीशले न्यायापालिकाको संरक्षकको भूमिका निर्वाह गर्न नसकेको बताउँदै उनले भने, ‘उहाँलाई पेसी तोक्ने अधिकार पनि छैन। उहाँको नेतृत्वमा फुलकोर्ट पनि बस्नुहुँदैन। आन्दोलनको रूप फेरिँदै जान्छ। सर्वोच्च अदालतजस्तो पवित्र मन्दिरमा जबरालाई प्रवेश निषेध गर्छौँ।’