![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/nepali-women2021-11-11-07-35-10.jpeg)
नेपाली महिला क्रिकेट टोलीले बंगलादेशमा मैत्रीपूर्ण सिरिज २–१ ले जितेको छ । बंगलादेशमा बुधबार सम्पन्न तेस्रो तथा अन्तिम टी–२० खेलमा नेपालले आयोजकलाई सात विकेटले हराउँदै सिरिज हात पारेको हो । नेपाल दोस्रो खेलमा मात्र पराजित भएको थियो । आइसिसी महिला टी–२० एसियन छनोटको पूर्वसन्ध्या नेपाली महिला टोली अभ्यासका लागि बंगलादेश गएको हो । नेपाली टोलीले बंगलादेश क्रिरा शिक्षा प्रतिष्ठान (बिकेएसपी) सँग मैत्रीपूर्ण खेल खेलेको हो । तेस्रो खेलमा पहिलो ब्याटिङ गरेको बिकेएसपी १६.५ ओभरमा केवल ५३ रनमै अलआउट भयो । नेपालले १४ ओभरमा तीन विकेट गुमाएर ५४ रन जोड्यो । नेपालको जितमा ओपनर काजल श्रेष्ठले १० रनको योगदान दिइन् । सरिता मगर १३ रन र कविता जोशीले १४ रनमा अविजित इनिङ्स खेलेपछि नेपालको सहज जित भयो । नेपालले सानदार जितमा रुविना क्षेत्रीको घातक बलिङ महत्वपूर्ण रह्यो ।
उनले तीन ओभरमा केवल ६ रन मात्र खर्चेर चार विकेट हात पारिन् । बिकेएसपीकी काब्या खातुनले दुई तथा रब्याले एक विकेट लिए । सिरिजमा उनी म्यान अफ दी सिरिज घोषित भइन् । यसैगरी नेपालकी करुण भण्डारीले चार ओभरमा १३ रन दिँदै दुई विकेट लिइन् । कविता कुँवर तथा सीता मगरले समान एक–एक विकेट लिए । बिकेएसपीको ब्याटिङमा बोयनाले १८ बलमा दुई चौकाको सहयोगमा सर्वाधिक १७ रनको योगदान दिइन् । उनीबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् । नेपालले पहिलो खेलमा बिकेएसपीलाई २४ रनले पराजित गरेको थियो । बिकेएसपीले दोस्रो खेलमा नेपाली महिला टोलीलाई पाँच विकेटले हराएको थियो ।
बंगलादेशको अभ्यास खेलपछि नेपाली महिला टोली कतार जानेछ । जहाँ कतारसँग तीनवटा टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्नेछ । कतारमा नेपालले ३० कात्तिक, १ र २ मंसिरमा प्रतिस्पर्धा गर्नेछ । यो मैत्रीपूर्ण खेलपछि नेपाल एसियन छनोटका लागि ३ मंसिरमै युएईतर्फ लाग्नेछ । युएईमा एसिया छनोट ६ देखि १२ मंसिरसम्म हुनेछ ।सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टी–२० विश्वकपको लागि नेपालसहित ६ राष्ट्रले ग्लोबल छनोटको लागि युएईमा एसिया छनोट खेल्न लागेका हुन् । नेपाल, भुटान, हङकङ, कुवेत, मलेसिया र युएईले प्रतिस्पर्धा गर्नेछन् । नेपालले ६ मंसिरमा हङकङ, ७ मंसिरमा भुटान र ९ मंसिरमा कुवेतको सामना गर्नेछ ।